काठमाडौं । बुधबार विभिन्न प्रयोगशालामा ११ हजार ५२२ वटा पिसिआर परीक्षण गर्दा थप ६८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आजसम्म ५ लाख ५३ हजार ३८८ जनाको पिसिआर परीक्षण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । यो सहित संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंका १३४, ललितपुरका १७ र भक्तपुरका ८ जनासहित १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १३ हजार ५७१ जना रहेका छन् । त्यसैगरी संक्रमित सक्रिय सख्ंया ११ हजार ११८ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ३ हजार १३१ रहेको छ ।
संक्रमितमध्ये ६ जना भेन्टिलेटर र १३१ जनाको आईसियूमा उपचार भैरहेको छ । मन्त्रालयका अनुसार पाँच सय बढी संक्रमित भएका जिल्लामा मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौं हुन् ।
संक्रमण शून्यमा झरेका पाँच जिल्ला छन् । प्रवक्ता गौतमका अनुसार मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा संक्रमण शून्यमा झरेको हो ।
गत २४ घण्टाभित्र १२० जना निको भई घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या १७ हजार ७०० पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म १२० जना सङ्क्रमणबाट मृत्यु भएका छन् ।