काठमाडौं । शुक्रबार विभिन्न प्रयोगशालामा १३ हजार ५८९ वटा पिसिआर परीक्षण गर्दा थप ८३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आजसम्म ५ लाख ७९ हजार ८९९ जनाको पिसिआर परीक्षण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । शुक्रबार कोरोना संक्रमण पुष्टि भएकामध्ये २९२ महिला र ५३८ पुरुष रहेका छन्। योसहित संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ।
शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंका १४२, ललितपुरका २५ र भक्तपुरका १५ जनासहित १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १२ हजार २३४ जना रहेका छन् । त्यसैगरी संक्रमित सक्रिय सख्ंया १२ हजार १३४ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ३ हजार ५८६ रहेको छ ।
संक्रमितमध्ये १५ जना भेन्टिलेटर र १३३ जनाको आईसियूमा उपचार भैरहेको छ ।
मन्त्रालयका अनुसार पाँच सय बढी संक्रमित भएका जिल्लाहरुमा मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौं हुन् ।
संक्रमण शून्यमा झरेका ४ जिल्ला छन् । प्रवक्ता गौतमका अनुसार भोजपुर, म्याग्दी, मुस्ताङ, र हुम्लामा संक्रमण शून्यमा झरेको हो ।
पछिल्लो २४ घण्टामा २५० जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड-१९) का कारण ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३७ पुगेको छ।