काठमाडौं । शुक्रबार विभिन्न प्रयोगशालामा १० हजार २२९ जनामा पिसिआर परीक्षण गर्दा थप ९२७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ, जसमा पुरुष ५९३ र महिला ३३४ रहेका छन् । आजसम्म ६ लाख ५८ हजार १९० जनाको पिसिआर परीक्षण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ जना पुगेको छ ।
शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंका ३५०, ललितपुरका ११ र भक्तपुरका ५४ जनासहित ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ८ हजार ९३९ जना रहेका छन् । त्यसैगरी संक्रमित सक्रिय सख्ंया १६ हजार १९ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ६ हजार ४४६ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा १६९ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या २० हजार २४२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ९ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेका छन् । मोरङ, धनुषा, पर्सा, बारा सर्लाही, रौतहट, महोत्तरी, काठमाडौं र ललितपुर मा ५ सय बढी संक्रमित छन् । प्रवक्ता गौतमका अनुसार मुस्ताङ र हुम्ला संक्रमणमुक्त रहेका छन् ।
१६४ जना आईसियू र १७ जनाको भेन्टिलेटरमा उपचार भैरहेका छन । २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १२ जनाको ज्यान गएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या १९५ पुगेको मन्त्रालयले जनाएको छ ।