काठमाडौं । सोमबार विभिन्न प्रयोगशालामा ११ हजार १२९ जनामा पिसिआर परीक्षण गर्दा थप ८९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ, जसमा पुरुष ५९६ र महिला ३०३ रहेका छन् । आजसम्म ६ लाख ९३ हजार ४७२ जनाको पिसिआर परीक्षण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० जना पुगेको छ ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंका १९०, ललितपुरका ६७ र भक्तपुरका ४१ जनासहित २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ३३७ जना रहेका छन् । त्यसैगरी संक्रमित सक्रिय सख्ंया १७ हजार ८२२ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार १२१ जना रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १२ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेका छन् । मोरङ, धनुषा, पर्सा, बारा सर्लाही, रौतहट, महोत्तरी, काठमाडौं, ललितपुर, रुपन्देही र चितवनमा ५ सय बढी संक्रमित छन् । प्रवक्ता गौतमका अनुसार मुस्ताङ र हुम्ला संक्रमणमुक्त रहेका छन् ।
१३२ जना आईसियू र १६ जनाको भेन्टिलेटरमा उपचार भैरहेका छन । २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ७ जनाको ज्यान गएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या २२८ पुगेको मन्त्रालयले जनाएको छ ।