काठमाडौं । शुक्रबार विभिन्न प्रयोगशालामा १३ हजार ६३८ जनाको पिसिआर परीक्षण गर्दा थप १३ सय ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ, जसमा पुरुष ८९५ र महिला ४६४ रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २३६ जना पुगेको छ ।
शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंका ३८६, ललितपुरका ३२ र भक्तपुरका ३६ जनासहित ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ५६१ जना रहेका छन् । त्यसैगरी संक्रमित सक्रिय सख्ंया १८ हजार ४०४ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार ४६२ जना रहेको छ ।
१५१ जना आईसियू र २७ जनाको भेन्टिलेटरमा उपचार भैरहेका छन । कोरोना भाइरस संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । योसहित ज्यान गुमाउनेको संख्या २७१ पुगेको हो ।