काठमाडौं । शुक्रबार विभिन्न प्रयोगशालामा ११ हजार ४५८ जनाको पिसिआर परीक्षण गर्दा थप २०२० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आजसम्म ८ लाख ९४ हजार ३७३ जनाको पिसिआर परिक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २०२० जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै कोरोना भाइरसबाट कुल संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं, भक्तपुर र ललितपुरमा ८५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ६९८, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जनामा कोरोना पुष्टि भएको हो ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ७३६ जना रहेका छन् । त्यसैगरी संक्रमित सक्रिय संख्या १७ हजार ३८३ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ८ हजार ८८ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ८७१ रहको छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ४३ हजार ८२० छ ।
आइसीयूमा रहने कोरोना संक्रमित देशभर १७३ जना र भेन्टिलेटरमा रहने संक्रमित बिरामीको संख्या ३६ रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
२४ घण्टामा कोरोनाले ७ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३९० पुगेको छ ।