काठमाडौं । शुक्रबार विभिन्न प्रयोगशालामा १४ हजार ७३९ जनाको पिसिआर परीक्षण गर्दा थप २७ सय २२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । शुक्रबारसम्म १० लाख ४८ हजार ६८६ जनाको पिसिआर परिक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै कोरोना भाइरसबाट कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामामा १६६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमका अनुसार उपत्यकाका काठमाडौँमा १२८०, भक्तपुरमा १९६ र ललितपुरमा १६२ जनामा कोरोना पुष्टि भएको हो ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ८८५ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या २१ हजार २३४ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ११ हजार ७६० जना रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ३३०७ रहको छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ८२ हजार ४५० छ ।
मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा अहिले पाँच सयमाथि सक्रिय संक्रमित रहेका छन् भने मनाङ, मुस्ताङ, डोल्पा र मुगुमा संक्रमितको संख्या शून्य छ।
आइसीयूमा रहने कोरोना संक्रमित देशभर २१० जना र भेन्टिलेटरमा रहने संक्रमित बिरामीको संख्या २९ रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
२४ घण्टामा कोरोनाले ११ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।