सुर्खेत । मुख्यमन्त्री महेन्द्रबाहार शाहीमाथि ल्याइएको अविश्वासको प्रस्तावले कर्णाली प्रदेशमा तनावको अवस्था निम्त्याउने खतरा बढेको छ । कर्णाली प्रदेश सभामा नेकपा संसदीय दलका सचेतक गुलावजंग शाहलाई सोमबार निष्काशित गरी उनको ठाउँमा नयाँ सचेतक नियुक्त गरिएको छ। नेकपाको प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहीले शाहलाई प्रमुख सचेतकबाट हटाएको पत्र नै दिइएको छ । पत्रमा भनिएको छ, ‘तपाईंले गरेको कामकारवाही सन्तोषजनक नभएकोले आजसम्म गरेको कामको लागि धन्यवाद दिँदै तपाईंलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सभा दलको प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गरेको छु।’ साथै, शाहीले दलको सचेतकको रुपमा प्रदेशसभा सदस्य सिताकुमारी नेपालीलाई नियुक्त गरिसकेका छन्। उनी यस अघि सचेतक थिइन । आइतबार १८ जना सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गराएका थिए ।