काठमाडौं । नेपालमा फेरि कोरोना संक्रमितको सङ्ख्या बढेको छ । परीक्षण बढाएपछि संक्रमित पनि बढ्न थालेका छन् । पछिल्लो २४ घन्टामा ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार नयाँ थपिएका सहित नेपालमा संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १४ सय ७३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७७ हजार २ सय ७७ जना पुगेको छ । योसँगै देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ३३ हजार ८८० पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ ।