कर्णाली प्रदेश नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउन गरिएको हस्ताक्षरलाई वरिष्ठ नेता माधव नेपाल समूहले फिर्ता लिने भएको छ । नेपालसमूहका सातजना सांसदहरूले मुख्यमन्त्री शाही हटाउन अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । ती सबैलाई हस्ताक्षर फिर्ता लिन सहमत गराइसकिएको नेपालनिकट एक नेताले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट सांसदहरूसँग मिलेर मुख्यमन्त्री शाही हटाउन लागेपछी कार्यकारी अध्यक्ष प्रचण्डले कडा आपत्ति जनाएका थिए । अरू प्रदेशमा पनि कर्णालीकै जस्तो हुने प्रचण्डले नेपाललाई चेतावनी दिएका थिए । त्यसपछि नेता नेपालले जाजरकोटबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य नीरज आचार्यलाई सोमबार सुर्खेत पठाएर समस्या समाधान गर्न र शाही विरुद्धको हस्ताक्षर फिर्ता लिने वातावरण बनाउन निर्देशन दिएका थिए । मंगलबार प्रचण्ड पक्ष र नेपाल पक्षका नेताहरूको छलफलले फिर्ता लिने सहमति गरेको एक सांसदले बताए । त्यसअघि सो प्रस्ताव फिर्ता लिने विषयमा विभाजित भएको थियो । अविश्वास प्रस्तावमाथी छलफल गर्न १ बजे बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन ।