काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार ९४६ जनाको स्वाब परीक्षण गराउँदा ७१ महिला र १०० पुरुषमा संक्रमण देखिएको हो। काठमाडौं उपत्यकाका ६५ जनासहित १७१ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ भने २५९ जना डिस्चार्ज भएका छन्।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७१ हजार २८९ पुगेको छ । जसमध्ये २ लाख ६६ हजार ८५९ जनाले कोरोना जितेका छन् । अहिले नेपालमा २ हजार ४०० जना संक्रिय संक्रमित रहेका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ३० पुगेको छ ।
देशभर क्वारेन्टाइनमा भने ९५ जना मात्र रहेका छन् भने आइसोलेसनमा ८६४ जना रहेका छन्। मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा २० लाख ७८ हजार ९८ जनाको पीसीआर परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार कोरोनाका २१ जनाको भेन्टिलेटरमा र १२८ जनाको आइसीयूमा उपचार भइरहेको छ।