सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । एमाले संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गर्दै तीन मन्त्रीलाई तत्काल राजीनामा दिन समेत निर्देशन दिएको छ । एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका प्रकाश ज्वाला आर्थिक मामिला, दल रावल सामाजिक विकास र नन्दसिंह बुढा वन तथा वातावरणमन्त्री छन् । केपी शर्मा ओली पक्षीय सांसदहरु मात्र सहभागी ४ चैतको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नुका साथै मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो । तर नेपाल समूहले सरकारलाई दिएको समर्थन कायमै रहेको बताएको थियो भने मन्त्रीहरु पनि सरकारमै थिए । आइतबार संसदीय दलको बैठकमा सहभागी नेपाल पक्षका मन्त्रीहरुले केही दिनमै राजीनामा दिने प्रतिवद्धता जनाएका छन् । एमालेको नयाँ निर्णयसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार अल्पमतमा परेको छ । एमाले संसदीय दलको बैठकले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न मुख्यमन्त्री शाहीलाई आग्रह पनि गरेको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए । ४० सदस्यीय प्रदेशसभामा शाहीको दल माओवादी केन्द्रको १२ सांसद (१३ मध्ये एमाले प्रवेश गरेका धर्मराज केसीलाई कारबाही गर्ने निर्णय भइसेको छ) छन् । सबभन्दा ठूलो दल एमालेका २० सांसद छन्, जसमध्ये राजबहादुर शाही सभामुख छन् । नेपाली कांग्रेसका ६ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् ।