Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कहिले घट्ला संक्रमण ?

कहिले घट्ला संक्रमण ?

दैनिकी न्यूज

२, जेठ २०७८
कहिले घट्ला संक्रमण ?
images

काठमाडौं । छिमेकी भारतमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेर केही मत्थर हुन थालेसँगै नेपालमा पनि त्यस्तै हुने विज्ञहरूले अनुमान गरेका छन् । संक्रमण करिब एक सातासम्म यथावत् रहने वा बढ्ने, त्यसपछि केही समय स्थिर रहेर ओरालो झर्न थाल्ने उनीहरूको अनुमान छ ।

विज्ञहरूका अनुसार गत वर्ष भारतमा संक्रमण घटेको केही सातामै नेपालमा पनि घट्न थालेको थियो । ‘कोभिड–१९ को सन्दर्भमा भारत र नेपालको टाइमलाइनमा दुईदेखि चार सातासम्मको फरक देखिएको छ,’ काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सकी महामारीविद् डा. अर्चना श्रेष्ठले भनिन्, ‘भारतका विभिन्न ठाउँमा संक्रमण तल जाने क्रम सुरु भइसकेकाले नेपालमा पनि दुईदेखि चार सातामा घट्ने देखिन्छ ।’ उनले भारतमा यसै साता कोभिडको संक्रमण बिस्तारै कम हुनेतर्फ लागेको बताइन् ।

‘भारतमा संक्रमण विस्तार भएको केही सातामै हामीकहाँ पनि त्यस्तै भयो । दुई साताअघि भारतमा अक्सिजनको हाहाकार, अस्पतालमा मृत्युलगायतका खबर आएका थिए, त्यस्तै दृश्य यहाँ अहिले देखिएको छ,’ उनले भनिन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा। जीडी ठाकुरले पनि न्यूनतम एक सातासम्म कोभिडको केस बढ्दै जाने त्यसपछि स्थिर भएर पुनः कम हुन थाल्ने आकलन गरे । भारतमा कोभिडको दोसो लहर मन्द हुन थालेको संकेत देखिएको ईडीसीडीका निर्देशक डा। कृष्णप्रसाद पौडेलले बताए । ‘हामीले पनि जेठ पहिलो सातादेखि संक्रमण घट्न थाल्ने अपेक्षा राखेका छौं । जेठ पहिलो साताको अवस्थाले मुलुक कता जाने हो निर्धारण गर्छ ।’

नेपालमा कोभिड–१९ संक्रमण पछिल्ला तीन सातामा अत्यधिक फैलिएको हो । संक्रमितको तथ्यांक उकालो लाग्न थालेको भने चैत अन्तिमबाट हो । गत चैत २९ मा ३ हजार १ सय २५ नमुनाको पीसीआर गर्दा ९.६९ प्रतिशत अर्थात् ३ सय ३ जनामा संक्रमण देखिएको थियो । चैत २९ देखि एक साता अर्थात् वैशाख ४ गतेसम्ममा ३ हजार ९ सय ६६ नयाँ संक्रमित थपिएका थिए ।

वैशाख ५ देखि ११ गतेसम्ममा १३ हजार ४ सय २९ नयाँ संक्रमित भेटिएका थिए । चैत २९ देखि जेठ १ गतेसम्म १ लाख ६८ हजार ५ सय ८० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार ९ सय ७१ नमुनाको पीसीआर परीक्षण गर्दा ४४.७७ प्रतिशत अर्थात् ८ हजार ४६ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

शुक्रबारको संक्रमण दर ४०.४१ प्रतिशत थियो । वैशाखयता कोभिडले करिब १ हजार ६ सय जनाको मृत्यु भएको ईडीसीडीले जनाएको छ । यो समाचार कान्तिपुर दैनिक छ ।

images
प्रकाशित मिति :जेठ २, २०७८ आइतवार - ०७:४४:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology