काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४१ सय ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीर अधिकारीले पीसीआर परीक्षणबाट २९ सय ७५ जना र एन्टिजेन परीक्षणबाट ११ सय ३२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
पीसीआर परीक्षण गरिएकामध्ये २६.२ प्रतिशतलाई संक्रमण पुष्टि भएको र यो दर निकै माथि रहेको अधिकारीले सचेत गराए । २४ घण्टामा १६ हजार २९८ नमुना परीक्षण भएको छ । जसमा पीसीआर परीक्षण ११ हजार ३५४ र एन्टिजेन परीक्षण ४ हजार ९४४ भएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा १५ सय ३५ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट ३५ जनाको मृत्यु भएको छ । हालसम्म पिसिआर विधिबाट ७ लाख ५ हजार ७२ जना र एन्टिजेन ६४ हजार ८८५ विधि गरी ७ लाख ६९ हजार ९२२ जनामा कोरोना पुष्टि भएको छ ।
कोरोनामुक्त हुनेको संख्या ६ लाख ६६ हजार ६५१ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९५७ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ पुगेको छ ।