Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

साउन २५ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो मात्रा लगाइने

साउन २५ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो मात्रा लगाइने

दैनिकी न्यूज

२२, श्रावण २०७८
साउन २५ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो मात्रा लगाइने
images

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत कोभिशिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकहरुलाई साउन २५ गतेबाट खोपको दोस्रो मात्रा लगाइने भएको छ । स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले भुटान र जापानबाट ल्याइएको खोप कोभिशिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई दिइने बताए ।

भूटानले दिएको ३ लाख डोज खोप शुक्रबार बिहान काठमाडौं आइसकेको छ भने जापानले दिने १६ लाख डोज खोप शनिबार र आइतबार दुई लट गरेर ल्याइने उनले बताए । जापानबाट आउने १६ लाख डोज खोप सुनिश्चित भएकाले यही साउन २५ गतेदेखि दोस्रो डोज अष्ट्रेजेनेकाको खोप अभियान शुरु गर्न लागेको डा. गौतमले बताए ।

उनका अनुसार साउन २५ गतेदेखि कोभिशिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई लगाइनेछ । साथै प्रदेश १ र २ मा भने खोप अभियान केही ढिला शुरु हुने उनले बताए ।

गौतमले कोभिशिल्डको पहिलो मात्रा लगाएको खोप कार्ड लिएर आउने सबैलाई दोस्रो मात्रा दिइने बताए । उनले बाँकी रहेको खोप वैदेशिक रोजगारीमा जाने, अध्ययन अन्य प्रयोजनका लागि विदेश जाने व्यक्तिहरु, डाइलाइसिस गर्नुपर्ने र गरिरहेको बिरामी, अंग प्रत्यारोपण गरिएका व्यक्ति र क्यान्सर बिरामीलाई दोस्रो मात्राको सुनिश्चित गरेर पहिलो मात्रा दिइने बताए ।

गत वर्षको फागुन तेस्रो साता ६५ वर्षमाथिका १३ लाख ३८ हजारभन्दा बढी ज्येष्ठ नागरिकले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका थिए । कोभिशिल्ड भारतको सेरम इन्स्टिच्यस्टले विकास गरेको खोप हो ।

images
प्रकाशित मिति :श्रावण २२, २०७८ शुक्रवार - २०:०७:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology