काठमाडौं । पछिल्लो २४ घण्टामा ३९ सय १५ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ हजार ७०८ पीसीआर र ६८ सय ७४ जनाको एन्टीजेन गरि १८ हजार ५८२ जनाको कोरोना परीक्षण भएको जनाएको छ ।
यस्तै सोही अवधिमा २१ सय १८ जना संक्रमणमुक्त हुनुका साथै २७ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित ३८ हजार ७९८ रहेका छन् । जसमध्ये ७३६ जना आइसियु र १८६ जना भेन्टिलेटरमा उपचाररत छन् । हिजो ३२ सय ६० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
आज संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकामा १ हजार ८९ जनालाई पोजेटिभ देखिएको छ । काठमाडौंमा ७९९, भक्तपुरमा १६२ र ललितपुरमा १२८ जनालाई संक्रमण पुष्टि भएको छ ।
हालसम्म नेपालमा पीसीआरबाट ७ लाख २८ हजार ५३२ र एन्टीजेनबाट ७४ हजार ३४ गरि ८ लाख २ हजार ५६६ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ६ लाख ७९ हजार ४९५ जना संक्रमणमुक्त भएका छन् भने १० हजार २३९ जनाको मृत्यु भएको छ ।