Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोनाले माओवादीको केन्द्रीय कार्यालय बन्द

कोरोनाले माओवादीको केन्द्रीय कार्यालय बन्द

दैनिकी न्यूज

२३, पौष २०७८
कोरोनाले माओवादीको केन्द्रीय कार्यालय बन्द
images

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय कार्यालय बन्द गरिएको छ । कार्यालयका अधिकांश कर्मचारीलाई कोरोना भएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि भेटघाट बन्द गरेर घरमै आइसोलेसनमा बस्नुभएको छ ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बिहीबारबाटै प्रचण्डले अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेको बताए । राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौंलगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिनयता भौतिक रूपमा भेटेरै भइरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई पनि स्थगित गरिएको सचिवालयले जनाएको छ ।

पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामार्फत व्यवस्थित गर्न कोसिस भइरहेको जानकारी दिँदै स्वकीय सचिव मल्लले भने– ‘कतिपय संवाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजीकरण गर्नेछौं ।’ केन्द्रीय कार्यालयका कतिपय नेतालाई समेत कोभिड संक्रमण पुष्टि भएकाले कार्यालयमा हुने भीडभाडमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गरिएको सचिवालयले बताएको छ ।

कार्यालयका मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक केन्द्रीय कार्यालयका सबैलाई कोरोना संक्रमण भएको छ । मुख्यसचिव ढकालले केन्द्रीय कार्यालयका अधिकांश साथीलाई कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको बताए ।

केही दिनभित्र पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोको टुंगो लगाउने गृहकार्यमा रहेका अध्यक्ष प्रचण्डले भेटघाट बन्द गरेसँगै माओवादीको पदाधिकारी चयनको प्रक्रिया पनि लम्बिने भएको छ । केही दिनअघि माओवादीको आठौं अधिवेशन सम्पन्न भएको थियो । उक्त अधिवेशनमा झन्डै १८ सयभन्दा बढी प्रतिनिधि सहभागी थिए । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

images
प्रकाशित मिति :पौष २३, २०७८ शुक्रवार - ०८:२७:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology