Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोना संक्रमण फैलने दर एक सातामै तेब्बर

कोरोना संक्रमण फैलने दर एक सातामै तेब्बर

दैनिकी न्यूज

२७, पौष २०७८
कोरोना संक्रमण फैलने दर एक सातामै तेब्बर
images

काठमाडौं । पछिल्लो एक सातामा कोरोना संक्रमण फैलने दर तेब्बर बढेको छ । एक सातामा १ हजार ९ सय ८७ जना संक्रमित थपिएका छन् । २३ पुसदेखि हालसम्मको आँकडा हेर्दा संक्रमित दर तेब्बरले बढेको छ । २३ पुसमा १४ हजार ९ सय ७१ जनाको नमुना परीक्षण गर्दा एकै दिन ९ सय ३८ जना संक्रमित थपिएका थिए । २४ पुसमा ९ सय ४४ जना संक्रमित थपिए ।

साथै २५ पुसमा १२ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण हुँदा ९।५ प्रतिशतले बढेको देखिएको थियो । जुन संक्रमण दर सोमबार ११ हजार ४ सय २९ जनाको परीक्षण गर्दा १ हजार ४ सय ४६ जना संक्रमित थपिए । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन आएसँगै संक्रमण हुने दर उच्च बिन्दुमा बढिरहेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि पछिल्लो एक सातादेखि संक्रमित हुने दर बढेको पाइएको छ । कोरोना भाइरसको औसत ‘आर–भ्यालु’ १।०४ को दरमा बढिरहेको छ । आर–भ्यालु एकभन्दा बढी भए संक्रमण उकालो लागिरहेको बुझिन्छ । आर–भ्यालुले कोभिड संक्रमित एक जनाले कति जनालाई भाइरस सारिरहेको छ भन्ने देखाउँछ । आर–भ्यालुसँगै संक्रमितको संख्या पनि उकालो लाग्नुलाई कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसँग पनि जोडेर हेरिएको छ ।

संक्रमण दरको यो गतिलाई स्वास्थ्य विज्ञले कोरोना महामारीलाई तेस्रो लहर भनेका छन् । यसअघि कोरोनाको दोस्रो लहरमा नेपालमा ठूलो धनजनको क्षति हुन पुगेको थियो । अहिलेकै संक्रमण दर बढिरहे र संक्रमण रोक्ने उपाय’दयगत नसोचे संक्रमण दर झनै बढ्न सक्ने विज्ञको भनाइ छ । संक्रमण दर बढेसँगै ठूला अस्पतालमा कोरोनाका बिरामीको संख्या पनि बढ्न थालेको छ ।

वीर अस्पतालको कोभिड–१९ युनिफाइड सेन्ट्रल हस्पिटलका उपनिर्देशक एवं छातीरोग विशेषज्ञ डा। प्रज्वल श्रेष्ठका अनुसार खोकी, ज्वरो, टाउको दुख्ने समस्या भएका कोरोनाको नयाँ संक्रमित थपिने क्रम बढिरहेको छ ।

हाल सरकारले संक्रमण दर बढेपछि विद्यालय तहको पठनपाठन १५ माघसम्म बन्द गर्न निर्देशन दिइसकेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले सोमबार एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ को संक्रमण तीव्र रूपमा फैलिनका साथै ओमिक्रोन भेरियन्टको संक्रमणको समेत पुष्टि भएका कारण विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा वचावटको विषयलाई विशेष ध्यान दिँदै देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयमा वार्षिक बिदामा मिलान हुने गरी यही २०७८ पुस २७ गतेदेखि २०७८ माघ १५ गतेसम्म बिदा दिने निर्णय भएको जानकारी दिएका छन् । बिदाको सो अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई देशभरका सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकीमार्फत खोप लगाउने कार्यक्रम रहेको जनाएको छ ।

यो खबर आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।

images
प्रकाशित मिति :पौष २७, २०७८ मंगलवार - ०६:४२:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology