काठमाडौँ । काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली भोलिबाट हट्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
‘सोमबारदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय भएको छ,’ बैठकपछि भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनिन् ।
कोभिड–१९ को सक्रमण बढेपछि जोरबिजोर लगाइएकोमा माघ १४ गतेबाट खुकुलो बनाइएको थियो । तर, ट्याक्सी र निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो ।
यस्तै फागुन १ गतेदेखि विद्यालयलगायतका शैक्षिक संस्था खोल्न पाउने, एक पटकमा ५० जनासम्म प्रवेश गर्ने गरी शपिङ मल खोल्न पाउने, डान्स बार, दोहोरी लगायतका व्यवसाय राति १० बजेसम्म सञ्चालन गर्न पाइने लगायतका व्यवस्था गरिएको छ । जुलुस, सभा, मेला महोत्सव, हाटबजारको प्रतिबन्ध भने कायमै छ ।