Logo

आइतवार, श्रावण २४ गते २०८३

images

के हो महानवमी ? कसरी गरिन्छ पुजा ?

के हो महानवमी ? कसरी गरिन्छ पुजा ?

देवीदत्त पौडेल

६, कार्तिक २०८०
के हो महानवमी ? कसरी गरिन्छ पुजा ?
images

दशैंको उत्सव शक्ति र शक्तिको समन्वय गराउने उत्सव हो। नवरात्रिका नौ दिन जगदम्बाको उपासना गरेर शक्तिशाली बनेको मनुष्य विजय प्राप्तिको लागि तत्पर रहन्छ। नवरात्रिको नवौँ दिन नवमी वा महानवमी हो ।

आजकै दिन सिद्धिदात्री भगवतीको पूजाअर्चना गरिन्छ । सिद्धिदात्री भगवतीलाई कल्याणकारी र मङ्गलकारी रूप मानिन्छ । मानव जीवन सफल, सबल, कुशल, दक्ष र सुखी बनाउनका लागि मानसिक, शारीरिक र वैचारिक शक्तिको सन्तुलन आवश्यक छ । यो मनोकामना पूरा गर्न भक्ति गर्नुपर्ने मान्यता हिन्दु संस्कारभित्र रहँदै आएको छ ।

महाकाली, महालक्ष्मी र महासरस्वतीको ध्यान र मन्त्र उच्चारणबाट धन, यश, रूप, स्वास्थ्यसहित सबै मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

सिद्धिदात्री मन्त्र – रूपं देहि जयं देहि यशो देहि भगवति देहि मे। पुत्रान् देहि धनं देहि सर्वकामाश्चं देहि मे। यसैगरी यस दिन महालक्ष्मी देवीको पूजाआजा गरिन्छ ।

आजैका दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बली दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ ।

देवीको पूजाअर्चनाका लागि देवी मन्त्र – या देवी सर्वभूतेषु मां सिद्धिदात्री रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमस्।। यस दिन देवीको पूजाका अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ ।

कन्या पूजाका बारेमा यस्तो धारणा रहिआएको छ – “दस वर्षभन्दा बढी उमेर भएकी कन्या रजस्वला हुने हुँदा पुज्नु हुँदैन । चढाएको फल आदि खान र चन्दन आदि बास्नाको स्वाद लिन नजान्ने, एक वर्षकी कन्या पनि पुज्नु हुँदैन ।” देवीका शक्ति पिठहरूमा भक्तजनहरूको घुइँचो यस दिन पनि रहन्छ । काठमाडौंको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणको लागि खुल्ला गरिन्छ ।

images
प्रकाशित मिति :कार्तिक ६, २०८० सोमवार - ०६:१९:४५ बजे

 

देवीदत्त पौडेल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology