Logo

बुधवार, श्रावण २७ गते २०८३

images

१६औँ योजनाका लागि सुझाव लिन कर्णाली पुग्यो आयोगको टोली

१६औँ योजनाका लागि सुझाव लिन कर्णाली पुग्यो आयोगको टोली

दैनिकी न्यूज

२७, मंसिर २०८०
१६औँ योजनाका लागि सुझाव लिन कर्णाली पुग्यो आयोगको टोली
images

काठमाडौं । १६औँ योजनाका लागि सुझाव लिन राष्ट्रिय योजना आयोगको टोली कर्णाली प्रदेश पुगेको छ । कर्णाली प्रदेश सरकार साथै कर्णाली प्रदेश भित्रका जिल्ला समन्वय समिति, स्थानीय तहहरू र निजी क्षेत्र समेतको सुझाव लिने गरी आयोगको टोली कर्णाली पुगेको हो ।
सुझाव लिनका लागि आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सदस्य सचिव डा. तोयनारायण ज्ञवालीसहितको टोली मंगलबार नै सुर्खेत पुगेको छ । सुझावका लागि बुधबार सुर्खेतको वीरेन्द्रनगरमा छलफल कार्यक्रम आयोजना गरिएको छ । बुधबारको कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मासहित सबै प्रदेश मन्त्रीहरू सहभागी हुँदैछन् ।
बुधबारकै कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरू साथै कर्णाली प्रदेशका १० जिल्लाका जिल्ला समन्वय समिति संयोजक तथा समन्वय अधिकारी र निजी क्षेत्रका अगुवाहरू लगायत सहभागी हुँदैछन् । बिहीबार भने आयोगले कर्णाली प्रदेश भरीका सबै स्थानीत तहका प्रमुख वा उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरू सहभागी हुने आयोगका सहसचिव महेश भट्टराईले जानकारी दिए ।
आयोगले यसअघि कोशी प्रदेशमा आयोग सदस्य डा. आरपी विच्छा, मधेश प्रदेशमा डा. जयकान्त राउत, वागतमी प्रदेशमा डा. प्रभु बुढाथोकी, गण्डकी प्रदेशमा डा.रामकुमार फुयाँल, लुम्बिनीमा डा. रमेशचन्द्र पौडेल र सुदुरपश्चिममा डा.अनिता शाह ढुंगानाको नेतृत्वमा टोली पठाएर सुझाव लिएको थियो ।

images
प्रकाशित मिति :मंसिर २७, २०८० बुधवार - ०८:०४:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology