काठमाडौं । नेपालले वेस्ट इन्डिजविरुद्ध लगातार दोस्रो जित हात पार्दै ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज आफ्नो पक्षमा पारेको छ ।
दुबईस्थित शारजाह क्रिकेट रंगशालामा भएको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनले पराजित गर्दै तीन खेलको सिरिजमा २–० को अग्रता लिएको हो ।
एक सय ७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७ ओभर १ बलमै ८३ रनमा अलआउट भयो । नेपालको जितमा पुनरागमन गरेका आदिल आलम नायक बने । उनले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । यस्तै, कुशल भुर्तेलले ३ विकेट झारे भने करण केसी, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक–एक विकेट हात पारे । वेस्ट इन्डिजका जेसोन होल्डरले सर्वाधिक २१ रन जोडे भने अन्य तीन खेलाडी मात्रै दोहोरो अंकमा पुगे ।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर एक सय ७३ रनको योगफल तयार पारेको थियो । ओपनर आसिफ शेख ४७ बलमा अविजित ६८ रनसहित शीर्ष स्कोरर बने भने सन्दीप जोराले ३९ बलमा ६३ रनको योगदान दिए । अन्य ब्याटरहरू सस्तैमा पवेलियन फर्किएका थिए । वेस्ट इन्डिजका काइल मेयर्स र अकिल होसेनले २–२ विकेट लिएका थिए ।
नेपालले यसअघि शनिबार पहिलो खेलमा १९ रनले जित निकाल्दै वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक विजयी सुरुवात गरेको थियो । अब नेपाल र वेस्ट इन्डिजबीचको तेस्रो तथा अन्तिम खेल आज (मंगलबार) हुनेछ ।