काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले बुधबार पद तथा गोपनियताको शपथ लिएका छन् । युवा तथा खेलकुद मन्त्रालयमा भएको कार्यक्रमा सचिव सिलवाल र उपाध्यक्ष कोइलालाई युवा तथा खेलकुद मन्त्री तथा तथा राखेपका अध्यक्ष जगत बहादुर विश्वकर्माले शपथ गराएका हुन् । राखेपको १९ औं सदस्य सचिव पदमा नियुक्त सदस्य सचिव सिलवालले आफ्नो अघिल्लो कार्यकालमा बाँकी रहेका कामलाई निरन्तरता दिँदै खेल र खेलाडीको हितमा काम गर्ने बताए । नेपालको खेलकुद जगतलाई विश्वले हेर्नेगरी आकर्षित रुपमा अगाडी बढाउने उनले बताए । खेलकुदलाई खेलकुदका रुपमा मात्रै सिमित नगरी यसलाई जीवनको अनुभव बनाउनका लागि काम गर्ने उनले बताए । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले सिलवाललाई सदस्य सचिव नियुक्त गरेको थियो । शपद लगत्तै पदाबहालीका लागि सिलवाल बुधबार नै त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कार्यालयमा पुगेका थिए । नयाँ राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसंगै सदस्य सचिवको पदावधि चार वर्षका लागि हुँनेछ ।