Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कोरोनापछि कसरी हाँसिल गर्न सकिन्छ दीगो विकास लक्ष्य ?

कोरोनापछि कसरी हाँसिल गर्न सकिन्छ दीगो विकास लक्ष्य ?

दैनिकी न्यूज

१४, आश्विन २०७७
कोरोनापछि कसरी हाँसिल गर्न सकिन्छ दीगो विकास लक्ष्य ?
images

लिला चेम्जोङ

संयुक्त राष्ट्र संघ २०२० को प्रतिवेदनले विश्व आर्थिकस्तर विस्तारै खस्कदैँ गएको उल्लेख गरेको छ । प्रतिवेदनअनुसार अमेरिकाको व्यापार नीति कमजोर हुँदै गएकोले व्यापार लगानी घट्न गई त्यहाँ बेरोजगारी दर बढ्नुका साथै मानिसहरुको बस्तु तथा सेवाको उपभोग दर घट्दै गएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय व्यापार तनावले युरोपेली मुलुकहरुको निर्माण क्षेत्रमा नकारात्मक प्रभाव पारेको, युरोपियन देशहरुको अर्थतन्त्र बिस्तारै खस्कदैँ गएको सोही प्रतिवेदनले देखाएको छ ।
यस्तै ल्याटिन अमेरिकी र क्यारेवियन विकाससील राष्ट्रहरुको अर्थतन्त्रपनि विश्व अर्थतन्त्रको गति विपरीत रहँदै आएको थियो ।
पछिल्लो समय चीनको आर्थिक वृद्धिपनि कछुवाको तालमा बढिरहेको र अफ्रिकन मुलुकहरुको आर्थिक वृद्धिपनि स्थिर रहेको संयुत राष्ट्रसंघको प्रतिवेदन २०२० ले उल्लेख गरेको छ ।
माथि उल्लेखित तथ्यबाट के प्रमाणित गर्न सकिन्छ भने,  कोभिड १९ (कोरोना संक्रमण) विश्वमा फैलिनु अगाडि नै विश्व अर्थतन्त्र धरासायी हुँदै गएको थियो ।
यसलाई दिगो बनाउन विश्वका सबै राष्ट्रहरुले दिगो विकास उद्देश्य निर्धारण गरेर अगाडि बढेको देखिछ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको जुन २०२० को प्रतिवेदन अनुसार यस वर्षको अन्तसम्म खस्कदैँ गएको विश्व अर्थतन्त्रलाई उकास्न दिगो विकास लक्ष्य मार्फत विश्व आर्थिक वृद्धिदर ४.९ प्रतिशत हासिल गर्ने र २०२१ सम्ममा ५.४ प्रतिशतले वृद्धि गर्ने लक्ष्य अनुरुप विश्वका सबै राष्ट्रहरु जुटिरहेका थिए ।
तर, कोभिडलेे  सो लक्ष्यमा ठुलो धक्का दिएको छ । यो संक्रमणले पारेको प्रभावबाट उन्मुक्ति पाउन धेरै ठुलो सघर्ष, लगानी गर्दा पनि गाह्रो देखिन्छ ।
एसिया प्यासिफिक राष्ट्रहरुले १९ औ शिखर सम्मेलनबाट दिगो विकास लक्ष्य प्राप्तिका लागि छ वटा परिवर्तनको प्रवेश विन्दु निर्धारण गरेका थिए । मानवीय कल्याण र क्षमतालाई सबल बनाउने, अर्थन्त्रलाई दिगो बनाउने, खाद्यप्रणाली व्यवस्थित बनाउने, सार्वभौमिक शक्तिमा पहुँच पुर्याउने, शहर र वरिपरिका क्षेत्रहरुको स्तर उन्नति गर्ने र विश्व साझा वातावरणलाई संरक्षण गर्ने लगायतका दिगो विकासको लक्ष्यलाई भेट्टाउन साझा सहमति नै बनाएर सहकार्य पनि गरेका थिए ।
एसिया प्यासिफिक राष्ट्रहरुले त्यस्तो लक्ष्य लिएपनि एशियाका आर्थिक रुपले सम्पन्न राष्ट्रहरु दक्षिण कोरियामा धितो ऋण, थाइल्याण्डमा प्रति घरधुरी ऋण र चीनमा कर्पोरेट ऋण दिने गरेका छन् ।
आर्थिक र सामाजिक एशियन प्यासिफिक सर्वेक्षण २०२० मा सो कुरा उल्लेख भएबाट के स्पस्ट हुन्छ भने, विश्वमा नवउदारवादी अर्थतन्त्र नीति विस्तारै विस्तारै असफल हुँदै गयो ।
कोभिड १९ को समयमा विश्वका अधिकांस देशका अर्थतन्त्रका क्षेत्रहरु लकडाउन, बजार बन्दले गर्दा ऋण माग गर्ने  अवस्थामा पुगेका  छन् । सबै देशले त्यस्ता ऋणको प्याकेज ल्याउन नसकेपनि ल्याउनैपर्ने र आफ्ना नागरिकको जीवन बचाउनुपर्ने चुनौति देखापरेको छ ।
त्यसैले अहिले एसियन प्यासिफिक रास्ट्रहरुको अर्थतन्त्र मात्र नभएर विश्व अर्थतन्त्र नै कमजोर अवस्थामा पुगेको छ ।
एसियाली डेभलपमेन्ट बैंक (एडिबी) को मे २०२० को प्रतिवेदन अनुसार विश्वभर डेढ करोड मानिसले रोजगारी गुमाई सकेका छन्, जुन विश्वको जम्मा रोजगारीको ७० प्रतिशत पर्न आउँछ । एशियाका ३१ करोड मानिसहरु प्रतिदिन ३.२ अमेरिकन डलर कमाउन नसक्ने अवस्थामा पुगेका छन् । यस्तै १८ करोड ५० लाख मानिसहरु १.९ अमेरिकन डलर पनि कमाउन नसक्ने अवस्थामा छन् । यसबाट सापेक्ष र निरपेक्ष गरिबी दिनदिनै बढ्दै नाजुक अवस्था आउने देखिन्छ । युएनडिपीले पनि २०२० मा मानव विकास सूचकांक घट्ने उल्लेख गरेको छ ।
यति मात्र होइन संयुक्त राष्ट्रसंघ दीगो विकास प्रतिवेदन २०२० ले खाद्य उत्पादनमा कमी आउनु, महिला हिंसाको बढ्नु, वातावरणीय क्रियाकलापहरु घटनु, द्वन्द्व ग्रस्त क्षेत्रमा झन् द्वन्द्व बढनु, स्वास्थ्य क्षेत्रको उपलब्धि हासिल सबै देशहरुले गर्न नसक्नु, स्कुल कलेजहरु बन्द हुँदा शिक्षाको स्तरमा ह्रास आउनु र कतिपय विधार्थीहरु शिक्षा लिनबाट बन्चित हुनपर्ने अबस्था आउने देखाएको छ ।
संयुक्त राष्ट्रसंघले दीगो विकास लक्ष्य प्राप्तिका लागि विश्वका सबै राष्ट्रहरुले एक युगान्तकारी निर्णय गरेर पाँच खम्बे नीति लिनुपर्ने सुझाब दिएका छन् । जसअनुसार स्वास्थ्य सुरक्षा, जनताको संरक्षण, आर्थिकस्तर उन्नति, बृहत आर्थिक सुधारका लागि बृहत सहकार्य, सामाजिक एकता र सममुदायिक लचकताको कार्यान्वयनमा जोड छ ।
यति मात्र होइन समावेशी अवसर, सामजिक आविस्कार र सामुहिक उतरदायित्वको पालना पहिलो प्राथमिकता हुनुपर्ने उल्लेख छ ।
नेपाल जस्ता विकास उन्मुख राष्ट्रहरुका लागि संयुक्त राष्ट्रसंघले तोकेको कार्यहरुबाट मात्र दीगो विकास सम्भव छैन, सहकार्य, सामाजिक एकता र सामुहिक उत्तरदायित्व बहन गर्ने क्षमता विकास गर्न आवश्यक छ ।
नेपालमा मुख्य समस्या भनेको लगानीको हो । बैदेशिक अनुदान वा ऋण भएपनि लिएर लगानी गर्नु अपरिहार्य भइसकेको छ ।
अर्कोतर्फ कृषीको विकास, कृषि, बन, र खनिजसँग सम्बन्धित व्यापार र ब्यवसाय र उद्योगमा जोड दिनसके दिगो विकासले लिएको लक्ष्य पूर्ण रुपमा प्राप्त नभएपनि लक्ष्य नजिक पुग्ने देखिन्छ । 
लिला चेम्जोङ त्रिभुवन विश्वविद्यालयको ग्रामिण विकास विषयका उप प्राध्यापक हुन् । उनी त्रिविबाटै विद्यावारिधि गर्दैछन् ।

images
प्रकाशित मिति :आश्विन १४, २०७७ बुधवार - १७:०९:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology