ललितपुर । भुकम्पमा लडेको ललितपुर स्वठमा रहेको राधाकृष्ण मन्दिरको पुर्ननिर्माण कार्य ३ वर्ष अघि नै तय भयो । समयमै काम शुरु भएको भए मन्दिर पुनर्निर्माण भैसक्थ्यो । करिब ४ करोड लगानीमा बन्ने उक्त मन्दिरको पुनर्निर्माणबारे योजना त बन्यो, काम भने भएन । २०७४ चैतमा दरबार हेरचाह कार्यालय ललितपुरलाई पुननिर्माणको जिम्मा दिइएको थियो । तर हालसम्म पनि उक्त मन्दिरको पुननिर्माण कार्य अधुरै छ ।
मन्दिर पुननिर्माण गर्ने भनेर ठेकेदार कम्पनीले २०७४ सालमै ४० लाख रुपैयाँ भुक्तानी लगेको थियो । मन्दिर पुनर्निर्माण गर्ने बजेट समेत लगेको ठेकेदार कम्पनीले पुननिर्माण कार्य अलपत्र पार्यो । हाल ठेकेदार कम्पनी सम्पर्क बिहिन छ । दरवार हेरचाह कार्यालय ललितपुरले ठेकेदार कै बदमासीले मन्दिर पुनर्निर्माण कार्य रोकिएको बतायो । दरवार हेरचाह कार्यालयका प्रमुख सरस्वती सिंहले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको बाहाना बनाउँदै ठेकेदार कम्पनीले काम नगरेको बताइन । ‘यतिबेला काठको चौकोस, पीलर बनाउने तथा कार्भिंग गर्ने काम धमाधम भइरहेको छ,’ सिंहले भनिन् ‘२०७६÷०७७ भित्र निर्माण सम्पन्न गराउनुपर्ने थियो ।’ उनका अनुसार काठैकाठको उक्त मन्दिर बनाउने जिम्मा लिएको ठेकेदारलाई पूरा बजेटको १० प्रतिशत जरिवाना भराउने सहमती भएको छ ।
हो त एउटा उदाहरण मात्र हो । भूकम्पमा क्षति पुगेका ललितपुरका धेरै सम्पदा अझै उठ्न सकेका छैनन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंको रानीपोखरी र ललितपुरको बुङ्मतीबाट पुननिर्माणको महाअभियान सुरु गरेको थियो । रानीपोखरीबाट राष्ट्रपति विद्या भण्डारी र बुङ्मतीबाट प्रधानमन्त्री के पी शर्मा ओलीले पुनर्निर्माणको महाअभियानको सुरु गरेका थिए । तर प्रधानमन्त्रीले नै शुरु गरेको बुंगमती अझै उठ्न सकेको छैन । विश्वसम्पदा स्थल तथा संरक्षित स्मारक क्षेत्रका मन्दिरहरुको अवस्था बिजोग छ । बुङ्गमतीको रातो मच्छिन्द्रनाथ, शंखमुलको जगतनारायण मन्दिर, स्वठको राधाकृष्ण मन्दिर र पाटन सुन्धाराको उमामहेश्वर, पाटन दरवारको देगु तलेजु लगायत सम्पदा पुननिर्माण हुन सकेको छैन ।
भूकम्पमा लडेको बुङ्गमतीको रातो मच्छिन्द्रनाथको मन्दिर अर्को महत्वपूर्ण सम्पदा मानिन्छ । करिब ४ करोड लागतमा बन्ने भनिएको उक्त मन्दिरमा पुर्ण क्षति भएको थियो । श्रीलंकन सरकारको सहयोगमा बन्न लागेको यस मन्दिरको काम अगाडि बढ्न सकेको छैन । पुरानो ठेकेदारबाट नयाँलाई काम दिँदा उसले मन्दिरको सामान हस्तान्तरण गर्न मानेन । जिल्ला प्रशासन कार्यालय ललितपुरका तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीको संयोजकत्वमा ठेकेदार र सम्बन्धित निकायका मानिसहरुसँग बैठक भएको थियो । त्यसपछि मात्र नयाँ ठेकेदारलाई मन्दिरको सामान दिएको सिंहले बताइन । काममा लगाएर पैसा नदिएको भन्दै स्थानीयले पनि केही समय अवरोध पुर्याएका थिए । यस मन्दिरको निर्माण गतवर्ष नै सम्पन्न भइसक्नुपर्ने उनको भनाइ छ ।
पाटन सुन्धाराको उमा महेश्वर मन्दिर निर्माण गर्नलाई टेण्डर खुलाइएको थियो । तुल्सी डीआर जेभी र पचली भैरव निर्माण सेवाले ५० लाख लागतमा निर्माण सक्ने योजना बनाएको थियो । तर हालसम्म पनि काम सुरु भइसकेको छैन ।
शंखमुलको जगतनारायण मन्दिरको हालत पनि उस्तै छ । आकारको हिसाबले दक्षिण एशियाको ठूलो र महत्वपूर्ण पनि मानिएको देगु तलेजु मन्दिर निर्माणको काम अहिलेसम्म थालनी भएको छैन । अनुमानित बजेट १० करोडमा बन्ने भनिएको उक्त मन्दिर जापान सरकारको सहयोगमा बन्ने भएको हो । आवश्यक रकम जापान सरकारले उपलब्ध गराइसकेको छ । तर मन्दिरको पुनर्निर्माण शैलीमा अलमल छ । स्थानीय उपभोक्ता समितिसँग मिलेर काम गर्ने कुरा भएकाले उपभोक्ता समिती गठन गरेर पुननिर्माण प्राधिकरणमा पठाइएको छ ।
१ वर्ष पहिला देगु तलेजु निर्माणका लागि टेण्डर खुलाएको थियो । तर महानगरपालिका लगायत स्थानीय उपभोतmा मिलेर टेण्डर रद्ध गराएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन जानकारी दिए । उनका अनुसार यस विषयमा राष्ट्रिय पुननिर्माण प्राधिकरणसँग छलफल भईरहेको छ । महत्वपूर्ण सम्पदाहरु नबन्नुमा सार्वजनिक खरीद ऐन बाधक भएको सार्वजनिक कार्यक्रममा समेत बारम्बार महर्जनले बताउँदै आएका छन् । सरकारको बनाएको सार्वजनिक खरिद ऐन, २०६३ का कारण ठुलाठुला आयोजनाहरु वर्षौंसम्म अलपत्र परेको उनको भनाइ छ । महर्जनका अनुसार यस ऐन अन्तर्गत ठेकेदारले टेण्डर पारीसकेपछि काम गर्नका लागि भन्दै पेश्की लिन्छन् । खरीद ऐनको दफा १३ ले अग्रिम खर्चका लागि पूरा बजेटको २० देखि ३० प्रतिशत पैसा बुझाउनुपर्ने व्यवस्था गरेको छ । यही प्रावधानका कारण ठेकेदारहरुले पैसा लिएर पनि काम नगर्ने प्रवृत्तिको हाबी भएको महर्जनको ठम्याई छ । ‘ठेक्का लिएर त्यो पैसा अन्य ठाउँमा लगानी गर्न जान्छन्,’ महर्जनले भने, ‘पुरातत्व ऐनले पुरातात्विक सम्पदाहरु भत्किएमा माटो पनि नफाल्नु भन्छ, तर टेण्डर लगाउँदा यस्ता कुरामा ध्यान दिएको छैन ।’
पुनर्निर्माणसम्बन्धि विवाद भएपछि पाटन दरवारको भीमसेन मन्दिर स्थानीय आफैले बनाउने जिम्मा लिइसकेका छन् । ४ करोड लगानीमा सम्पन्न हुने भिमसेन मन्दिरको पुनर्निर्माण कार्य भइरहेको छ ।
पाटनकै कुम्भेश्वर मन्दिरको निर्माण पनि २०७४ चैत्रमा सुरु गरिएको थियो । दुई करोड लागतमा सम्पन्न भइसकेको छ ।
पुरातत्व विभागका अनुसार २०७२ को भुकम्पले ललितपुरका १ सय ४४ वटा सम्पदाहरुमा क्षति पुगेका थिए । त्यसमध्ये ३१ सम्पदामा पुर्णक्षति भएको थियो । ६८ वटा आंशिक क्षति र ४५ सम्पदामा सामान्य क्षति पुगेको थियो । त्यसमध्ये ३० वटा सम्पदा विश्व सम्पदा सुचीभित्र पर्छन् ।