काठमाडौं । कोभिड–१९ संक्रमितले जथाभावी औषधिको सेवन गर्न नहुने चिकित्सकले बताएका छन् । आफूखुसी औषधिको सेवन गर्दा त्यसले बेफाइदा गर्ने चिकित्सकको चेतावनी छ । संक्रामक रोग विशेषज्ञ प्रा. डा. जनक कोइराला टाउको दुखे, ज्वरो आए प्यारासिटामोल खान सुझाव दिन्छन् । “त्यसले ज्वरो, जिउ दुख्ने, टाउको दुख्नेलाई निको पार्न सकिन्छ,” उनले भने, “त्योबाहेक कसैलाई धेरै नै खोकी लागेको छ भने खोकीको औषधिहरु खाने खानुपर्दछ । तर, खोकीको औषधिहरुबाहेक अर्कोचाहिँ बाफ लियो भने पनि फाइदा गर्न सक्दछ ।” उनले त्योबाहेक कोरोना संक्रमितले अरु धेरै भिटामिन, एन्टिबायोटिकहरु खान नहुने बताए । चिकित्सकको सल्लाहबिना स्टेरोयड पनि खान नहुने उनको भनाइ छ । “स्टेरोयड खानुपर्छ भनेर कतिजनाले भन्छन्, स्टेरोयडले कोभिड–१९ धेरै नै साह्रो पारेको बिरामीहरुलाई निको पार्छ । तर, त्यस्तो औषधिहरुचाहिँ चिकित्सकले लेखेर अथवा अस्पतालमा गएर मात्रै खानु ठिक हुन्छ । किनभने, स्टेरोयडको फाइदाभन्दा बेफाइदाहरु धेरै नै छन्,” डा. कोइरालाले भने । श्वासप्रश्वासमा गाह्रो भएलगायत समस्याहरु देखिए चिकित्सक वा अस्पतालहरुमा सम्पर्क गर्न उनको सुझाव छ ।