Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यसरी भयो सशस्त्र जनयुद्धको सुरुवात

यसरी भयो सशस्त्र जनयुद्धको सुरुवात

दैनिकी न्यूज

१, फाल्गुण २०७७
यसरी भयो सशस्त्र जनयुद्धको सुरुवात
images

काठमाडौं । जनयुद्ध सुरु गरेको दिनका सम्झनामा तत्कालीन माओवादीहरुले आज २६ औं जनयुद्ध दिवस मनाउँदैछन् । दिवसको अवसरमा प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले कोटेश्वर, पेरिसडाँडा मोहन बैद्य, नेत्रविक्रम चन्द, डाक्टर बाबुराम भट्टराई लगायतले देशभर बिभिन्न कार्यक्रम राखेका छन् । गणतन्त्र र नयाँ जनवादीसत्ता स्थापनाको लक्ष्यसहित प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । 

रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैंक कब्जा गरी माओवादीले औपचारिक रुपमा फौजी आक्रमण सहित सशस्त्र युद्ध सुरु गरेको थियो ।   

नेकपा माओवादीका तत्कालीन महामन्त्री प्रचण्डले प्रेस वक्तव्यमार्फत् जनयुद्ध सुरु भएको घोषणासहित गरिएका फौजी कारबाहीहरूको जिम्मेवारी लिएका थिए । जनयुद्धलाई सघाएको आरोपमा प्रहरीले गोरखाका १४ वर्षीय दिलबहादुर रम्तेललाई गोली हानी हत्या गरेको थियो । उनै रम्तेललाई जनयुद्धको पहिलो सहिदको सम्मान दिने गरिएको छ । त्यसपछि फागुन १५ गते प्रहरीले रुकुमको पिपलमा ६ जना खत्री बन्धुहरुको सामूहिक हत्या गरेको थियो । बदला र प्रतिशोधका कारण सरकार र विद्रोही माओवादीबीच हत्याका श्रृंखला चलेका थिए । तत्कालीन राजा ज्ञानेन्द्र शाहले मुलुकमा जारी द्वन्द्वलाई देखाएर सत्ता हातमा लिएपछि माओवादी र प्रमुख सात राजनीतिक दलहरुबीच १२ बुँदे सहमति भएको थियो । सोही सहमतिअनुसार २०६२ चैत २४ गतेदेखि २०६३ वैशाख ११ सम्म चलेको १९ दिने जनआन्दोलनले संसद पुनःस्थापना गरेको थियो । यहीबीचमा २०६३ मंसिर ५ गते माओवादी युद्ध अन्त्य गर्दै शान्ति प्रक्रियामा आएको थियो । विस्तृत शान्ति सम्झौतामा राष्ट्राध्यक्षको समेत कार्यभार सम्हालेका तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए । पुनःस्थापित संसदले २०६५ जेठ १५ गते नेपालमा राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गरेको थियो । जनयुद्ध लडेका तत्कालीन माओवादीमा विभाजन आएको छ । मोहन वैद्य, बाबुराम भट्टराई छुट्टै पार्टीमा छन् । विप्लव सशस्त्र युद्धको अभ्यास गर्ने कोसिसमा छन् ।

images
प्रकाशित मिति :फाल्गुण १, २०७७ शनिवार - १२:४०:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology