Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

१७ हजार बढी शिक्षकको विज्ञापन खोल्ने तयारी, निमावि र प्राविको दुई साताभित्र खुल्दै

१७ हजार बढी शिक्षकको विज्ञापन खोल्ने तयारी, निमावि र प्राविको दुई साताभित्र खुल्दै

दैनिकी न्यूज

५, पौष २०७८
१७ हजार बढी शिक्षकको विज्ञापन खोल्ने तयारी, निमावि र प्राविको दुई साताभित्र खुल्दै
images

काठमाडौं । शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ। करिब एक साताअघि १ हजार ५ सय ४७ जना मावि शिक्षकको विज्ञापन खुला गरेलगत्तै बाँकी शिक्षकको विज्ञापन गर्न लागेको हो ।

आयोगले यो साता निमावि र अर्को साता प्रावि तहको विज्ञापन गर्ने तयारी गरेको छ। आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले दुई साताभित्र सबै तहको विज्ञापन खुला भइसक्ने जानकारी दिनुभयो।

उहाँका अनुसार निमावि तहमा २ हजार ५ सय ९६ र प्रावि तहमा लागि १३ हजार ८९ शिक्षकको विज्ञापन खुला गर्ने तयारी छ। ‘सबै गरी १७ हजार ३ सय ३२ शिक्षकका लागि विज्ञापन खुला गर्न लागेका हौं’ –सूचना अधिकारी मरहठ्ठाले भन्नुभयो। निमावि तहमा १० विषयको शिक्षकको विज्ञापन खुला हुन्छ। आयोगले यसपटकबाट परीक्षणका रूपमा अनलाइन ध्यमबाट मावि तहको आवेदन लिएको छ।

आवेदकको संख्या एकैपटक बढ्न सक्ने र सर्भरले काम गर्न नसक्ने भयले चरणबद्ध रूपमा विज्ञापन गर्न लागिएको सूचना अधिकारी मरहठ्ठाको भनाइ थियो। पछिल्लो तथ्यांकअनुसार मावि तहमा करिब ५ सयले अनलाइनबाट आवेदन फारम भरिसकेका छन्। तीमध्ये ९७ जनाले भौचर लिएको सूचना अधिकारी मरहठ्ठाको भनाइ छ। आयोग मावि तहको परीक्षा चैत १५ मा गर्ने तय गरिसकेको छ।

माध्यमिक र निम्न माध्यमिक तहभन्दा बढी प्राथमिक तहका आवेदक बढी हुन सक्ने आयोगको तथ्यांक छ। मावि र निमावि तहको फारम भर्ने प्रक्रिया सकिएपछि मात्रै प्राविको विज्ञापन खोल्ने आयोगको तयारी छ । मावि तहमा पुस २९ गतेसम्ममा आवेदन दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर आगामी माघ ६ गतेसम्म आवेदन भर्न सकिन्छ।

राज्यले हाल माध्यमिक र आधारभूत तह गरी दुई तहको शिक्षा निर्धारण गरिसके पनि आयोग अझै पुरानै तीन तहमा विज्ञापन आह्वान गर्दै छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तीन तहका शिक्षकको संख्या तोकेर पठाएपछि सोही आधारमा विज्ञापन गरेको आयोगको भनाइ छ। आयोगले स्थायीबाहेक २०३८ साल पुस २९ गतेभन्दा यता जन्मिएकाले मात्र आवेदन दिन पाउने व्यवस्था उल्लेख गरेको छ।

आयोगले परीक्षामा बढी शिक्षक उत्तीर्ण गर्ने अभिप्रायले मावि तहका नमुना प्रश्नपत्र सार्वजनिक गरेको छ। ‘आयोगले लोकसेवा आयोगको जस्तै शिक्षक सेवा आयोगको नमुना प्रश्न तयार गरेको हो। मावि पछि निमावि र प्रावि तहको समेत प्रश्नपत्र तयार गर्नेछौं’ –सूचना अधिकारी मरहठ्ठाले भन्नुभयो।

यसैबीच गएको मन्त्रिपरिषद्को बैठककले शिक्षक सेवा आयोग नियमावलीको ११औं संशोधन गरेको छ। ११औं संशोधनले शिक्षक छनोटका लागि नयाँ प्रावधान गरेको छ।

सूचना अधिकारी मरहठ्ठाका अनुसार नियम १८ मा आयोगमा लिइने परीक्षा र ३८ मा भएको प्रावधानलाई संशोधन गरी आन्तरिक प्रतियोगितामा विषयगत परीक्षाको प्रावधानलाई संशोधन गरी १०० पूर्णाङ्कको लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा गरी जम्मा १२५ पूर्णाङ्कको परीक्षाको व्यवस्था गर्ने गरी नियमावली संशोधन भएको हो ।

यो खबर आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

images
प्रकाशित मिति :पौष ५, २०७८ सोमवार - ०७:१४:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology