Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शैक्षिकसत्र सर्ने सम्भावना, परीक्षा तालिका भद्रगोल हुने

शैक्षिकसत्र सर्ने सम्भावना, परीक्षा तालिका भद्रगोल हुने

दैनिकी न्यूज

२७, पौष २०७८
शैक्षिकसत्र सर्ने सम्भावना, परीक्षा तालिका भद्रगोल हुने
images

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेसँगै आगामी वर्षको शैक्षिक क्षेत्र भद्रगोल हुने देखिएको छ । अधिकांश विद्यालयले फागुन र चैतमा अन्तिम परीक्षा लिएर वैशाखबाट नयाँ शैक्षिकसत्र शुरू गर्ने तयारी गरिरहेकोमा फागुन अन्तिमदेखि विद्यालय स्तरमा हुने परीक्षा पूर्ण प्रभावित हुने देखिएको छ ।

स्थानीय तहले सञ्चालन गर्ने कक्षा ८, राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने कक्षा १० को एसईई, ११ र १२ को परीक्षा तालिकामा समेत असर पर्ने सम्भावना देखिएको छ । मुलुकभर कोभिड संक्रमण बढ्दै गएपछि सोमबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

सीसीएमसीको निर्णय कार्यान्वयन गर्दै मन्त्रालयले आज मंगलबारबाट माघ १५ सम्म विद्यालयको आधारभूतदेखि माध्यमिक विद्यालय तह ९कक्षा १२० सम्मको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयको निर्णयले आजबाट देशभरका २९ हजार सामुदायिक र ७ हजार निजी गरी करिब ३६ हजार विद्यालयको पठनपाठन बन्द हुने भएको छ ।

कोरोना संक्रमणको कारण देखाउँदै सरकारले अन्य बिदामा मिलान गर्ने गरी विद्यालय बन्द गर्न निर्देशन दिएसँगै शैक्षिकसत्र धकेलिने भएको छ । शिक्षा तथा मावन स्रोत विकास केन्द्रले शैक्षिकसत्र सार्ने वा वैशाखमै गर्ने भन्ने विषयमा छलफल चलाइरहेको अवस्थामा विद्यालय बन्द भएपछि आगामी शैक्षिकसत्र केही महिना पछि सर्ने निश्चित प्रायः छ । चालु शैक्षिकसत्र जेठदेखि शुरु भएको थियो ।

केही विद्यालयले कक्षा ११ र १२ को परीक्षा सञ्चालन गरिरहेका छन् । ती परीक्षा स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न समस्या नपर्ने मन्त्रालयले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई, कक्षा ११ र १२ को परीक्षा कहिले गर्ने भन्ने विषयमा छलफल शुरू गरिएको जानकारी दिँदै भन्नुभयो– ‘परीक्षा नहुने होइन, कहिले र कुन मोडलमा गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’

उहाँले विद्यालयहरू १५ दिन बन्द हुँदैमा परीक्षा नसर्ने तर त्यसपछि फेरि बन्द भयो भने के गर्ने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो । परीक्षालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषय महत्वपूर्ण रहेको अध्यक्ष शर्माको भनाइ छ । कोभिड संक्रमणका कारण गत वर्षको एसईई परीक्षा विद्यालयलबाटै भएको थियो । सोही आधारमा विद्यालयले आन्तरिक मूल्यांकनको नम्बर बोर्डमा पठाएका थिए र त्यसैलाई आधार मानी बोर्डले लब्धाङ्कपत्र प्रदान गरेको थियो ।

बोर्डले एसईई परीक्षा तालिका र समय सार्वजनिक गर्नै लाग्दा विद्यालयहरू बन्द भएपछि अब कहिलेबाट परीक्षा गर्ने भन्ने विषयमा पुनः छलफल गर्नुपर्ने भएको छ । संसद्को शिक्षा समितिले शिक्षा ऐनमा उल्लेख भएको विषयलाई नबुझेर एसईई परीक्षा खारेज गर्न मन्त्री देवेन्द्र पौडेललाई निर्देशन दिएको थियो । ऐनमा भएको व्यवस्थाका कारण एसईई खारेज गर्न नसकिने भएपछि बोर्डले केन्द्रबाट गर्ने गरी तयारी गरेको थियो ।

यो खबर आजको नेपाल समाचार पत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

images
प्रकाशित मिति :पौष २७, २०७८ मंगलवार - ०६:४७:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology