Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

विद्यालय शिक्षा सुधार्न साढे नौ खर्बको योजना

विद्यालय शिक्षा सुधार्न साढे नौ खर्बको योजना

दैनिकी न्यूज

६, माघ २०७८
विद्यालय शिक्षा सुधार्न साढे नौ खर्बको योजना
images

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा सुधारका लागि १० वर्षे योजना ल्याएको छ । उक्त योजनाअनुसार पाँच वर्षभित्र नौ खर्ब ५३ अर्ब ४३ करोड रुपियाँ लगानी रहने मन्त्रालयले जनाएको छ । बाँकी पाँच वर्षमा खर्च हुने रकम भने पछि तय गरिने मन्त्रालयका योजना महाशाखाका सहसचिव डा। तुलसी थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार यो कार्यक्रमलाई विद्यालय शिक्षा क्षेत्रगत योजना ९एसईएसपी० नाम दिइएको छ । अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबाट स्वीकृत भएर आएको यो योजना सञ्चालनका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सैद्धान्तिक स्वीकृति प्रदान गर्नुभएको छ ।

विद्यालय तहमै यसअघि सञ्चालनमा रहेको विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी) को निरन्तरताका रूपमा नयाँ योजना सञ्चालन गर्न लागिएको हो । सन् २०१६ मा सुरु भएको एसएसडीपी सन् २०२१ डिसेम्बरबाट सकिएको छ । एसएसडीपी कार्यान्वयनमा ल्याउनुअघि मन्त्रालयले विद्यालय क्षेत्र सुधार योजना (एसएसआरपी) सञ्चालनमा ल्याएको थियो ।

मन्त्रालयका अनुसार यो योजनामा पहिलो पाँच वर्ष लगानीसम्बन्धी योजना हुनेछ । पाँच वर्षपछि मुद्रास्फीति, बजारको अवस्था आदिलाई आधार मानेर थप बजेट तर्जुमा गरिनेछ । विद्यालय शिक्षा क्षेत्रगत योजना आगामी आर्थिक वर्ष २०७९÷८० बाट सुरु हुने जानकारी थपलियाले दिनुभयो । आगामी वर्षको बजेट निर्माणमा यही योजनाका आधारमा नीति तथा कार्यक्रम तय गरिने उहाँले बताउनुभयो ।

योजनाको पाँच वर्षभित्र खर्च गरिने कुल बजेटमध्ये विकास साझेदार निकायबाट साढे सात मिलियन अमेरिकी डलर जुट्ने अपेक्षा मन्त्रालयले गरेको छ । यो रकम नेपाली मुद्रामा रूपान्तरण गर्दा करिब ८८ करोड रुपियाँ हुन आउँछ तर साझेदार निकायले विगतका कार्यक्रमको समीक्षा गरेर मात्रै रकम कबुल्ने बताएका छन् । विगतका कार्यक्रममा विश्व बैङ्क, एसियाली विकास बैङ्क, युरोपियन युनियन, ग्लोबल पार्टनर अफ एजुकेसन, फिनल्यान्ड, नर्वेलगायतका विकास साझेदार निकायले विगतका कार्यक्रममा सहयोग गरेका थिए ।

विगतमा सञ्चालन गरिएका कार्यक्रममध्ये एसएसडीपीको कार्यान्वयनमा केही समस्या आएको थियो । योजना कार्यान्वयनका समयमा खर्च भएको रकम र प्राप्त उपलब्धिका बारेमा स्थानीय तहले नियमित रूपमा सङ्घीय मन्त्रालयलाई जानकारी गराउनुपर्ने हुन्छ तर शिक्षाको अधिकार स्थानीय तहमा गइसकेकाले यो काम निकै झन्झटिलो भएको थियो । सङ्घीय शिक्षा ऐनको अभावमा समस्या सिर्जना भएको थियो । ऐन नहुनु र विद्यालय क्षेत्रको जिम्मेवारी स्थानीय सरकारलाई दिइसकेको अवस्थामा नयाँ योजना कार्यान्वयनमा पनि समस्या आउनसक्ने विज्ञले बताएका छन् ।

पहिलेको कार्यक्रमबारे विभिन्न समयको मूल्याङ्कन बैठकमा साझेदार निकायका प्रतिनिधिले यो विषयलाई प्रमुखताका साथ उठाउँदै आएका थिए । संविधानमा शिक्षाका बारेमा साझा सूचीका विषयलाई स्पष्ट पार्न नसक्दा एसएसडीपीको कार्यान्वयन फितलो हुन पुगेको मन्त्रालयको भनाइ छ ।
यस पटकको रणनीति निर्माणका क्रममा स्थानीय तह पनि सहभागी भएका थिए । सहसचिव थपलियाले भन्नुभयो, “योजना बनाउने क्रममा प्रादेशिक तहमा छलफल गरेका थियौँ । सोहीअनुसार प्रत्येक प्रदेशबाट तीनवटा पालिका छानेर उहाँहरूको पनि अनुभव समेटेका हौँ ।”

यो खबर आजको गोरखापत्र दैनिकमा सूर्यप्रसाद पाण्डेले लेखेका छन्।

images
प्रकाशित मिति :माघ ६, २०७८ बिहिवार - ०८:१२:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology