काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको बुधबार तथ्यांक विभागले जानकारी दिएको हो ।
बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको हो
यसपटक जनसंख्या वृद्धिदर भने घटेको विभागले जनाएको छ । अघिल्लो जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०.९३ प्रतिशत पुगेको छ । दस वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ अर्थात १०.१८ प्रतिशतले बढेको विभागले जनाएको छ ।
यसपटकको जनगणनामा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।
सार्वजनिक तथ्यांक अनुसार प्रदेश १ मा ४९ लाख ७२ हजार ०२१, मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८, बागमतीमा ६० लाख ८४ हजार ०४२, गण्डकीमा २४ लाख ७९ हजार ७४५, लुम्बिनीमा ५१ लाख २४ हजार २२५, कर्णालीमा १६ लाख ९४ हजार ८८९ र सुदूरपश्चिममा २७ लाख ११ हजार २७० जनसंख्या रहेको छ।
यस्तै हिमाली क्षेत्रको जनसंख्या १७ लाख ६८ हजार १०८ (६.९ प्रतिशत), पहाडमा १ करोड १७ लाख ४८ हजार ४४८ (४०.२५ प्रतिशत) र तराईमा १ करोड ५६ लाख ६५ हजार ८२८ (५३.६६ प्रतिशत) रहेको छ।
जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत भदौ ३० देखि असोज १८ गते सम्म गरिएको थियो भने कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरिएको थियो।