Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एसईई परीक्षा तालिका बिहीबारभित्रै सार्वजनिक हुने

एसईई परीक्षा तालिका बिहीबारभित्रै सार्वजनिक हुने

दैनिकी न्यूज

२६, माघ २०७८
एसईई परीक्षा तालिका बिहीबारभित्रै सार्वजनिक हुने
images

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका एक दुई दिनमै प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षा तालिका सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिँदै आज बुधबार वा भोलि बिहीबारभित्र तालिका सार्वजनिक हुने बताउनुभयो ।

रापबोर्डले स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै परीक्षा तालिका सार्वजनिक गर्ने जनाएको थियो । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम शुरू गरिसकेको छ । परीक्षा नियन्त्रक रायमाझीले भन्नुभयो– ‘रापबोर्डले वैशाख २० गतेभित्र परीक्षा सक्ने गरी तयारी थालेको छ ।’

बोर्डको अधिकारीका अनुसार निर्वाचन गराउन कर्मचारी खटिनुपर्ने भएकाले १० दिनअघि नै परीक्षा सक्ने गरी तालिका निकाल्ने तयारी भएको छ । उहाँका अनुसार वैशाखको ११ गतेभित्र परीक्षा शुरू गर्नेगरी तालिका तयारी भइरहेको छ । निर्वाचन आयोगले सबै सरकारी कर्मचारीलाई निर्वाचन अधिकृत वा अन्य कामका लागि खटाउने गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले प्रश्नपत्र अनलाइनबाट पठाउने हो वा छापिएको प्रश्नपत्र तयार गर्ने हो भन्ने विषयमा छलफल शुरू गरेको छ । बोर्डले गत वर्ष कक्षा १२ को प्रश्नपत्र अनलाइनमार्फत पठाएको थियो । इन्टरनेटको सुविधा नभएका केही हिमाली जिल्लाका लागि मात्रै प्रश्नपत्र छपाइ गरिएको थियो ।

तर, पनिकाले गोप्यता कायम गर्न छापिएको प्रश्नपत्र पठाउनुपर्ने तर्क राखेको भए तापनि छपाइ गर्ने कि अनलाइनबाट पठाउने भन्ने विषय छलफलकै क्रममा रहेको परीक्षा नियन्त्रक रायमाझीले बताउनुभयो । बोर्डले यो वर्ष उत्तरपुस्तिका छपाइ र ढुवानी गर्ने जिम्मा प्रदेश सरकारलाई जिम्मा दिएको छ । सोही अनुसार उत्तरपुस्तिका छपाइ भइरहेको बोर्डको भनाइ छ ।

परीक्षा नियन्त्रणक रायमाझीका अनुसार जिल्ला शिक्षा समन्वय इकाइले हालसम्म करिब ७० जिल्लाबाट केन्द्र छनौट गरी पनिकामा पठाइसकेको छ । करिब ७ वटा इकाइले केन्द्र कायम गरी पठाउने तयारी गरिरहेको छ । यो वर्ष करिब ५ लाख ८ हजार परीक्षार्थी रहने अनुमान गरिएको छ ।विद्यालय सञ्चालक र बोर्डका केही सदस्यले कम्तीमा पनि दुई महिना भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्नुपर्ने राय दिएपछि बोर्डले फागुन १ गतेदेखि दुई महिना कक्षा सञ्चालन गरी परीक्षा लिने निर्णय गरेको हो ।

परीक्षाको विषयमा पनिकाले प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, बोर्डअन्तर्गतको सातवटै प्रदेश कार्यालय, प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका सचिव, जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख लगायतसँग छलफल गरिसकेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वर्ष शिक्षा नियमावली संशोधन गरी कोभिड–१९ संक्रमणको जोखिम नघटेको कारण जनाउँदै आन्तरिक मूल्यांकनबाट परीक्षा लिने निर्णय गरेको थियो । गत वर्ष जेठ १३ बाट एसईई परीक्षा शुरू भएको थियो ।

यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

images
प्रकाशित मिति :माघ २६, २०७८ बुधवार - ०७:१९:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology