Logo

सोमवार, श्रावण २५ गते २०८३

images

महिला शिक्षक समाजले यसरी मनायो महिला दिवस

महिला शिक्षक समाजले यसरी मनायो महिला दिवस

दैनिकी न्यूज

२४, फाल्गुण २०७८
महिला शिक्षक समाजले यसरी मनायो महिला दिवस
images

काठमाडौं । नेपाल महिला शिक्षक समाजले आज एक कार्यक्रमकासाथ ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । ‘सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चिता’ भन्ने नारासहित दिवस मनाएको हो।

काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी प्रमुख अतिथि रहेको कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यपक र शिक्षकहरु उपस्थित थिए । कार्यक्रम बोल्दै प्रमुख अतिथि उपमेयर खड्गीले नेतृत्व तहमा महिलाको सन्तोषजनक उपस्थिति नरहेको बताइन् । उनले स्थानीय सरकारको नेतृत्वमा पनि महिलाहरूको उपस्थिति निकै कम रहेको वताउदै यसलाई बढाउनुपर्ने बताइन् । उपमेयर खड्गीले १८ जना महिलाले स्थानीय तहको नेतृत्व गरेको जानकारी दिइन्। ‘महिलालाई अझै पनि नेतृत्व तहमा पुग्न नदिने विभिन्न बाधाहरू छन्, त्यसलाई हटाउनुपर्छ,’ उनले भनिन्।

कार्यक्रममा पद्मकन्या मावीकी प्रधानाध्यापक रिता तिवारीले स्वागत मन्तव्य राखेकी थिइन् । स्वागत मन्तव्यका क्रममा उनले महिलाको सहभागीताबारे तथ्यांक प्रस्तुत गरिन् । त्यसक्रममा दलीय पार्टी र राजनीतिक तह तप्कामा महिलाको उपस्थिति कम रहेको बताइन् ।

कार्यक्रममा बोल्दै समाजकी अध्यक्ष जानुका नेपालले महिला अधिकार नारामा मात्रै सीमित रहेको भन्दै राज्यले महिलालाई पुरुषसरह अधिकार दिनुपर्ने धारणा राखिन्। महिलालाई नेतृत्व तहमा पुग्न पुरुषले पनि सहयोग गर्नुपर्ने उनको भनाई थियो। समाजकी उपाध्यक्ष तथा जनकल्याण माध्यमिक विद्यालयकी प्रधानाध्यापक कुमारीकमला राईले महिलाको क्षमता, स्वभाव र दायित्व बोधका आधारमा उनीहरूलाई जिम्मेवारी दिनुपर्ने बताइन्। नेतृत्व गर्न सक्षम महिला चाहिने भएकाले महिलाहरूले पनि सक्षम बन्नेतर्फ ध्यान दिनुपर्ने उनले औँल्याइन्। विद्यालय व्यवस्थापन समिति र कर्मचारीले सहयोग गरेका कारण आफूले विद्यालयमा सहजै नेतृत्व गर्न सकेको अनुभव उनले सुनाइन्।

कार्यक्रममा बोल्दै सामुदायिक विद्यालय सुधार समाजका अध्यक्ष भीम पोखरेलले महिलाले घरभित्रको मात्रै नभएर बाहिरको भुमिका पनि निभाएको चर्चा गरे । उनले महिलाहरु आफ्नै हिम्मत र अग्रसरताले सफल भएको बताए । कार्यक्रममा महिला समाज काभ्रेकी अध्यक्ष सरस्वती कँडेल, भक्तपुर अध्यक्ष उर्मिला श्रेष्ठ, काठमाडौं अध्यक्ष निता पोखरेललगायत महिला शिक्षकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले महिला अधिकार नारामा मात्रै सीमित रहेको र यसको कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखेका थिए।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७८ मंगलवार - २०:२४:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology