काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ शुक्रबारबाट सुरु हुँदैछ। यो वर्ष एसईईमा पाँच लाख १४ हजार ९७७ विद्यार्थी सहभागी हुँदैछन् ।
कुल परीक्षार्थीमध्ये छात्राको संख्या दुई लाख ५७ हजार ९२४ छ भने छात्र दुई लाख ५७ हजार ५३ रहेका छन्। परीक्षा वैशाख २० गते सकिने छ।
नियमित तालिकाअनुसार चैतमा एसईई हुनुपर्ने थियो। कोरोना संक्रमणका कारण पठनपाठनमा असर पुगेपछि चैतमा कक्षा सञ्चालन गरेर वैशाखमा परीक्षा गरिएको हो।
एसइई दुई वर्षपछि आजबाट भौतिक रूपमा सञ्चालन हुन लागेको हो । लगातार दुई वर्ष कोभिड– १९ का कारण भौतिक रूपमा एसइई परीक्षा नहुँदा विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट जारी गरेकोमा यस वर्ष राष्ट्रियस्तरमै परीक्षा हुन लागेको हो ।
यस वर्ष मूल्यांकनको आधारसमेत परिवर्तन भएको छ । विद्यार्थीको ग्रेडिङमा मूल्यांकनका लागि न्यूनतम ३५ अंक ल्याउनुपर्नेछ । यसअघि ३० अंक ल्याउनेको ग्रेड डी प्लस हुने र माथिल्लो कक्षामा अध्ययनका लागि अधिकांश विषयमा अवसर हुन्थ्यो । तर, यो वर्षदेखि ३५ अंकभन्दा कम आउनेको ग्रेडिङ नै नहुने व्यवस्था गरिएको छ । नयाँ व्यवस्थाअनुसार ३५ अंकलाई डी ग्रेड मानिएको छ ।
विद्यालयले आन्तरिक मूल्यांकन गर्दा अधिकांशले विद्यार्थीको सही मूल्यांकन नगरी क्षमताभन्दा बढी अंक दिएकोसमेत आरोप लागेको थियो ।