Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आकाश मुनीः टुहुरेको जुनी

आकाश मुनीः टुहुरेको जुनी

भवानी बराल

२१, जेठ २०७९
आकाश मुनीः टुहुरेको जुनी
images

आकाश मुनी एक बारको जुनी, त्यो फेरी पाईदैन
मरन पछि पाइने स्वर्ग, हामीलाइ चाहिँदैन ।

1.jpg

कवि विक्रम सुब्बा (डिल्ली विक्रम इङ्बाबा) दाजुले लेखेको प्रसिद्ध गीतको मुखडा हो । जल्दोबल्दो अघोरी माक्र्सवादी हुँदा हामीले यो गीत खुब घन्कायौं । यसै अनुरुप कथित पुनर्जन्म, स्वर्ग, नर्कजस्ता अन्धविश्वासको भूमरीबाट बाहिर निस्कन यो गीतको माध्यमबाट जनसमुदायमा चेतना छर्ने कोशीस ग¥यौं । तर आजभोली हामी वैज्ञानिक सांस्कृतिक चेत गुमाउँदै गएका छौं । र भेट्रान कम्युनिष्टको मृत्युपछि उनको नामको अगाडि स्वर्गीय (स्व.) लेख्छौं । यो गीत घन्काउने मध्येकै एकजना दाजु जेवी टुहुरे पनि थिए । उनको निधन गत २०७८ भदौ १० गते काठमाडौंमा भयो । अब पनि उनको नाम अगाडि स्व. लेख्यौं भने उनको विश्वासमाथि घात हुनेछ । उनको प्रथम वार्षिकीमा यो गल्ती दोहो-याउनु हुन्न ।

स्वर्ग नर्क हुन्नः
माक्र्सवादीहरु भौतिकवादी हुन । अध्यात्मवादमा जस्तो स्वर्ग र नर्कको कल्पना गर्दैनन् । पुनर्जन्ममा विश्वास गर्दैनन् । यसर्थ माक्र्सवादीहरुको मृत्युपछि उनको नाम अगाडि स्वर्गीय (स्व.) लेख्नु अर्थ छैन । गैर माक्र्सवादीको नाम अगाडि मात्र स्वर्गीय (स्व.) लेख्छन । गैर माक्र्सवादीले पुनर्जन्म, स्वर्ग र नर्कमा विश्वास गर्छन । यसर्थ अर्को जुनी पाइने आशामा अन्धविश्वासमा भड्किन्छन । तर रमाइलो कुरा चैं आजसम्म कसैले नामको अगाडि ‘नर्कीय’ भनेर लेखेका छैनन् । मरेपछि सबै स्वर्गवासी, बैकुण्ठवासी हुन्छन ।

जेवी यो आकाश मुनी एक वारको जुनी लिएर आएका उनै जनगायक हुन । मरन पछिको स्वर्ग उनको विश्वास हैन । जेवी दाई जनसञ्चारका क्षेत्रका यस्ते एक नक्षत्र हुन ।

वृत्त चित्र र स्मृतिः

2.jpg

यो कुरा किन उठान गरिएको हो भने प्रसिद्ध जनगायक जेवी टुहुरेको प्रथम वार्षिकी आउँदैछ । यो अवसरमा जेवी टुहुरेको जिवनसंग सम्बन्धित वृत्त चित्र र एउटा स्मृति संग्रह प्रकाशित हुँदै रहेछ । केहि महिनादेखि जेवी टुहुरेसंग सम्बन्धित, राजनयिक, गायक, संगीतकारहरुको खोजीमा मेरो नाम पनि परेको मैले छोरी निर्भिका टुहुरे (जेवी टुहुरे स्मृति प्रतिष्ठान की अध्यक्ष एवम् जेवी दाईको छोरी)मार्फत दूरभाष सम्पर्कबाट थाहा पाएको थिएँ । तर, उनीहरुले खोज्दा म ठीक विपरित दिशामा हुन्थे । धरानमा मलाई खोज्दा म काठमाण्डौमा आइसकेको हुन्थे । काठमाण्डौमा खोज्दा धरान पुगिसकेको हुन्थे । यो लुकामारीले वृत्त चित्र बनाउने काममा सम्भवतः मेरै कारणले पनि अलमल भएको थियो होला सायद । तर, गएको जेठ २० गते अचानक छोरी निर्भिकाको फोन मेरो कानमा गुन्जियो । र, मैले ललितपुर सातदोवाटोको एउटा स्टुडियोमा गएर टुहुरेसंगको सांगीतीक जिवनको सहयात्रा सम्बन्धि संस्मरण वृत्त चित्रका लागि सुनाएँ ।

3.jpg

टुहुरेको संस्मरणमा लेखेको लेखमा मैले सम्झेका हरफहरु नै अलिक आधिकारिक होलान । कतिपय बेहोसीको कारण मिति मौखिक बोल्दा वृत्त चित्रमा तलमाथि भएको हुनसक्छ । यसर्थ तमसुक गर्दा अक्षेरेपीलाई मान्यता दिए जस्तै लिखतलाइ आधिकारिक मान्नु पर्ने हुन्छ । धरानको नयाँ लहर सांगीतिक समूहबाट गायन यात्रा सुरु गरेका टुहुरेले ०३३ सालमा धरानको नेपाल भूतपूर्व सैनिक विश्राम भवन (सैनिक भवन)को सभाहलमा ‘आमा दिदी बैनी हो, कति बस्छौ दासी भै, सुखको सँधै प्यासी बनेर’ बोलको गीत गाएपछि नै उनको गीती यात्राको कोशे ढुंगो बन्यो । संकल्प परिवारको उदय

यहिँबाट भयो । नत्रता उनी पनि सोल्टेनी कान्छीलाइ फकाउने, भगाउने गीतमै अल्मलिरहेका हुन्थे सायद ।

यसपछि उनले कहिल्यै पछाडि फर्केनन् । एक बारको जुनी भन्दै गीत गाई रहे । पुनर्जनमलाई साँचेनन् । त्यसकै फलस्वरुप पनि हो आजको परिवर्तन । मञ्जुल, रामेस, अरिम, श्याम तमोट, रामकृष्ण दुवाल, शम्भु राईलगायत संकल्प परिवारको माध्यमबाट असंख्य गीत गायनमा सहभागिता जनाए ।

निर्भिकाको सक्रियताः
छोरी निर्भिकाको बाबु प्रतिको श्रद्धा, माया देखेर म जेठ २० गते नै चकित परेँ । यो वित्तचित्र र संस्मरण संग्रहमा उनको सक्रियता प्रशसनीय थियो । छोटो भेटमा नै मलाई उनले धेरै गर्न खोजेको लागेको छ । मैले वित्त चित्रमा बोलीरहँदा उनलेसंगै बसेर मेरो कुरा ध्यानपूर्वक सुनिरहिन । उनको अनुहार पनि मैले पढिरहेको थिएँ । बढो भावुक मुद्रामा मैले बोलेको कुरामा ध्यान दिइ रहेका थिइन । जाँदा जाँदै धरान (विसं २००१)मा जन्मेका टुहुरेको जन्म स्थल हालको धरान वडा न. ३ लाई जेवी टुहुरे मार्ग नामाकरण गर्न, त्यसै स्थानमा शालिक निर्माण गर्न पहल गरिदिन मलाइ अनुरोध गरिन । म यो सार्वजनिक लेखोटमार्फत के अपील गर्न चाहान्छु भने धरान काखमा जन्मेको जनगायकको नाममा सडकको नामाकरण गर्नु र टुहुरेको योगदानको कदर गर्दै शालिक निर्माणमामात्रै होइन जेवी टुहुरे प्रतिष्ठान निर्माणमा योगदान गर्नु उप–महानगरपालिकाले गौरव गर्नु पर्दछ । यसै दिशातर्फ आउँदो भदौ १० गते जेवीको प्रथम स्मृति दिवस पारेर सडक नामाकरण, प्रतिष्ठान तथा शालिक निर्माण गर्न धरान उप–महानगरपालिका समक्ष जोडादार माग पनि गर्दछु ।

images
प्रकाशित मिति :जेठ २१, २०७९ शनिवार - १३:३१:५६ बजे

 

भवानी बराल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology