Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रदेश नं. एक नामाकरणको आधार

प्रदेश नं. एक नामाकरणको आधार

भवानी बराल

३०, आषाढ २०७९
प्रदेश नं. एक नामाकरणको आधार
images

गत वर्ष प्रदेश नं. २ प्रदेशसभाले मधेस प्रदेश नामाकरण गरेपछि सबैभन्दा ठूलो दबाब प्रदेश नं. १ लाई परेको छ । पहिलोपल्ट मधेस प्रदेशले यो मधेस नाम प्राप्त गरेको छ । यसअघिका प्रयासहरु विफल भए । तर यो प्रयास सफल भयो । यसका पनि विविध कारणहरु छन । र, यसको दबाब पनि अन्य प्रदेशहरुमा पर्दै जानेछ । यो पनि स्वभाविकै हो । तर अहिलेसम्म नामाकरण नभैसकेको प्रदेश नं. १ मा विशेष किसिमको दबाब परेको हो । यो दबाबलाई निकास दिनको लागि प्रदेश नं. १ ले पहिचानमा आधारित त्यो बहुपहिचान पनि हुन सक्छ, त्यो एकल पहिचान पनि हुन सक्छ या संयुक्त पहिचान पनि हुनसक्छ । यसरी प्रदेशको नामाकरण ग¥यो भने नामाकरणको सम्भावना छ । यसरी प्रदेशको नामाकरण गरे यसैपटक नाम प्राप्त हुन पनि सक्छ । अन्यथा यसपटक नाम प्राप्त हुने सम्भावना धेरै कम छ मात्र हैन सम्भावना छैन ।

जनादेश र मतादेशः
तर सबैभन्दा महत्वपूर्ण कुरा के हो भने राजनैतिक आन्दोलनले के अनुमोदन गरेको थियो वा जनादेश के थियो ? त्यो महत्वपूर्ण कुरा हुन्छ । जनादेश बाहेक जाने हो भने त्यो राजनैतिक आन्दोलनको विचार र जनादेशलाई खारेज गरे सरह हुनेछ । त्यसले गर्दा राजनैतिक आन्दोलनको जनादेशलाई कुनै पनि मतादेशले खारेज गर्नु हुँदैन भन्ने हो ।

प्रदेश एकको चरित्रः
प्रदेश एकको एउटा विशिष्ट किसिमको चरित्र पनि छ । यसको राजनैतिक चरित्र पनि छ । त्यो विशिष्ठ प्रकारको राजनैतिक चरित्र भनेको के हो भने अहिले जुन १४ जिल्लालाइ एक नं प्रदेश भनेर बनाइयो । यसका विविधकारणहरु छन । पहिलो कुरा त हामीहरु बह्रबुँदे समझदारीमा जानु पर्छ । बाह्रबुँदे समझ्दारीमा ‘वर्गीय, क्षेत्रीय, जातीय, लिंगीय समस्याको समाधान गर्न राज्यको अग्रगामी पुनर्संरचना गर्नु अपरिहार्य आवश्यकता छ’ भनेर भनिएको छ । यो बाह्रबुँदे समझदारीको मात्र कुरा हैन । त्यसको प्रस्तावनामा गरिएको कुरा हो । त्यसले गर्दा यसलाइ राष्ट्रिय सहमति भन्न मिल्छ । राजनैतिक आन्दोलनको राष्ट्रिय सहमतिको यो विशेष प्रकारको मुद्धा हो । त्यतिबेला सात दल माओवादीले अनुमोदन गरेको विषय हो । र, अर्को कुरा यो जनयुद्ध र जनान्दोलनको पनि जनादेश हो । जनयुद्धको त विशेष प्रकारको जनादेश हुँदै हो । तर जनान्दोलनले पनि यसलाई बाह्रबुँदेको प्रस्तावनामार्फत पनि लिपिबद्ध ग¥यो, अभिलेखीकरण ग¥यो । त्यसपछि दोस्रो जनान्दोलनले यसलाई मान्यता दिएको विषय हो । र, प्रदेश एकमा धेरैवटा राजनैतिक आन्दोलनहरु भए । त्यसमा माओवादीले पनि त्यो राजनैतिक आन्दोलनलाई समर्थन गरेको थियो । यहाँसम्म की किरात जनसरकार बनाएको थियो ।

पछि बालाजु बैठकमा आएर लिम्बुवान फरक र किरात फरक भनेर बनाएको थियो । र, त्यसपछि आएर सबैभन्दा महत्वपूर्ण कुरा के हो भने जनान्दोलनको जनादेशबाट प्राप्त पहिलो संविधानसभाको विषयगत विशेष समिति ‘राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड समिति’ले दुईटै, लिम्बुवान आन्दोलन र किरात आन्दोलनलाइ राज्य प्रदेशको दर्जा प्रस्ताव ग¥यो । र स्वायत्तताका अरु सानातिना आन्दोलनलाई राष्ट्रिय आन्दोलनलाई समाविष्ट गरेर विशेष संरचना एवम् अतिरिक्त संरचनामार्फत त्यसलाई व्यवस्थित गर्नेगरी प्रस्तावित गरेको थियो । ०६५ को राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले अनुमोदन गरेको विषय थियो । र, त्यसपछाडि आयोग बन्यो । राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड सुझाव आयोगले पनि ११ प्रदेशमा दुईटै आन्दोलनलाई अनुमोदन ग¥यो । र, संरचनागत ढंगले लिम्बुवान र किरात भनेर निर्माण ग¥यो । जुन कुरो अहिले प्रदेश नं १ मा खुलेको छ ।

समीकरण भताभुङ्गः
तर दोस्रो संविधानसभाको निर्वाचनमा पहिलो संविधानसभाको जस्तो समीकरण भत्कियो । र, दोस्रो संविधानसभाको निर्माण पछि पहिलो संविधानसभाको कतिपय कुरालाई त्यसले आत्मसाथ गरेन । अनुमोदन गरेन । र, अंकको आधारमा ७ वटा प्रदेश निर्माण ग¥यो । र, पूर्वको एक नं प्रदेशको निर्माण पनि अंककै आधारमा निर्माण भयो । र, त्यहाँ दुईवटा आन्दोलनलाइ संरचनागत ढंगले एक ठाउँमा ल्यायो जसको नाम प्रदेश नं एक हो ।

आन्दोलनको अनुमोदनः
अब यो प्रदेश नं एकमा भएका आन्दोलनको अनुमोदन गर्ने की नगर्ने विषय महत्वपूर्ण कुरा हो । अब एउटा अप्ठेरो के छ भने लिम्बुवानको आन्दोलन र किरात खम्बुवानको आन्दोलनले गर्दाखेरी एक नं. प्रदेश १४ जिल्लाको बनाइएको छ । सिमाकंन गरिएको छ । त्यसैले यसलाई कसरी सम्बोधन गर्ने विषय पेचिलो छ ।

संविधान संशोधनको गुन्जाइसः
हुनतः लिम्बुवानको आन्दोलन नेपालको यो स्वरुप बनेदेखिकै आन्दोलन हो । यो स्वरुप जतिबेला बन्यो त्यतिबेला पनि लिम्बुवानको आन्दोलन थियो । विसं १८३१ लाई निकट विगत मान्ने हो भने त्यसपछि पनि लिम्बुवानको आन्दोलन बारम्बार हुँदै आएको हो । त्यहाँ शसस्त्र आन्दोलन पनि भए, निशस्त्र आन्दोलन पनि भए । पञ्चायतकालमा पनि त्यो आन्दोलन जिवित थियो । र, पछिल्लोकालमा माओवादी जनयुद्धकाल पछि लिम्बुवानको आन्दोलन किरातको आन्दोलन घनीभूत भएर गयो । र, यसले गर्दा त्यो आन्दोलनको जनादेश, आन्दोलनको आदेशलाइ शिरोधार्य गर्नुपर्छ भन्ने कुरा महत्वपूर्ण कुरा हो भन्ने लाग्दछ । जसरी मधेसले ग¥यो । मधेसको आन्दोलन मधेस प्रदेशको निम्ति भएको थियो । त्यसले नामाकरण पनि प्राकृतिक छ । र, अब सिमांकनको कारणले गर्दा प्रदेश नं. एकको आन्दोलनको जनादेशलाई कसरी व्यवस्थित गर्ने त्यसको पहिचानको आधार के हुने भन्ने कुरा छ । त्यसमा मलाइ के लाग्छ भने अहिले नै आठौं प्रदेश बन्ने भए त लिम्बुवान र किरात अलगअलग हुने थियो होला । तर त्यस्तो सिमांकन विभाजनको सम्भावना अहिले छैन । संविधान संशोधन गर्ने संभावनाको दुई तिहाइ गणित छैन । त्यसले गर्दाखेरी अहिले संयुक्त पहिचानको नामबाट किरात लिम्बुवान वा लिम्बुवान किरात कोच अथवा त्यस्तै कुनै नामबाट सम्बोधन भयो भने वास्तविकरुपले आन्दोलनको सम्बोधन हुन्छ ।

आंशिक मान्यताः
लिम्बुवानको आन्दोलन, किरातको आन्दोलन आंशिक संवैधानिक रुपले पनि अनुमोदन भएको हो । आंशिक कानुनी मान्यता पनि पाइसकेको हो । लिम्बुवानको आन्दोलनको सन्दर्भमा राष्ट्रिय सहमतिअनुसार ०६४ फागुन १८ गते र ०६४ चैत्र ६ गते दुईवटा सहमति भएको छ । नेपाल सरकारको राष्ट्रिय सरकारसंग सहमति भएकोले यसले आंशिक कानुनी मान्यता पाएको भनिएको हो । सिमांकनको अप्ठेरो जहाँसम्म छ, एक नं. प्रदेशको दुईटै आन्दोलनलाइ सिमांकन मिलाएर गरियो । मिसाएर बनाइयो एक नं प्रदेश । त्यसले गर्दा संयुक्त नाम नै लिएर जाँदा त्यो प्रस्थान बिन्दू होला जस्तो लाग्छ । यसले गर्दा किरात लिम्बुवान वा लिम्बुवान किरात कोच वा केही यस्ता पहिचानजन्य संयुक्त नामहरु खोजी गरेर जानु नै उपयुक्त हुन्छ ।

विजयपुर र चोमोलुङ्माः
हुनतः किरात आन्दोलन र लिम्बुवान आन्दोलन बाहेकबाट पनि पहिचानको नाम खोज्ने प्रयास नभएको होइन । तर, त्यो त्यति उपयुक्त हुन्छ जस्तो लाग्दैन । जस्तो की प्रदेश एकलाइ चोमोलुङ्मा नामाकरण गर्ने कुरा आएको छ । यसले एउटा भाषिक वास्ना त देला । तर, अन्ततः यसले पनि भूगोल कै प्रतिनिधित्व गर्छ । एउटा निर्जिव पहाडको प्रतिनिधित्व गर्छ । त्यस्तै गरिकन ऐतिहासिक महत्वको नाम दिने हो की भनेर विजयपुरको पनि नाम आएको छ । विजयपुर ऐतिहासिक तहसिल राजधानी हो । विजयनारायण रायले त्यहाँ आफ्नै नाममा शहर बसाए । लिम्बुवान (किरात)को राजधानी बनाए । यसरी विजयपुरको नाम आयो । विजयपुर ऐतिहासिक तहसिल राजधानी नै हो । तर, यो नामले पनि पहिचानको सम्बोधन गर्छ भन्ने मलाइ लाग्दैन ।

लिम्बुवान–किरात (किरात–लिम्बुवान), लिम्बुवान–किरात–शेर्पालुङ–मधेस, किरात–सगरमाथा, सप्तकोशी र कोशी:
तर यतिखेर नेकपा माओवादी केन्द्र, र लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले ‘किरात–लिम्बुवान वा लिम्बुवान–किरात’ नामाकरण सुझाएको छ । जसपाले ‘लिम्बुवान–किरात–शेर्पालुङ–मधेस’, नेकपा एकीकृत समाजवादीले ‘किरात–सगरमाथा’ नाम अगाडि सारेको छ । तर, नेपाली कांग्रेसले ‘सप्तकोशी’ र नेकपा एमालेले ‘कोशी’ नाम प्रस्तावित गरेको छ । यसअर्थमा यो पटक पनि नामाकरणको दुई तिहाइ मत पुग्ने सम्भावना छैन र यसपटक पनि नामाकरण यी हरफ लेखिरहँदासम्म हुने सम्भावना देखिन्न ।

पश्चगमन र अग्रगमनः
पहिलो कुरा के हेर्न प¥यो भने पश्चगमन तिर जाने की अग्रगमन तिर जाने महत्वपूर्ण कुरा हो । जस्तो की मधेस पश्चगमनमा गएन, अग्रगमनमा गयो । अब मधेसमा टेकेर त्यहाँ भाषिक स्वायत्तताका कुराहरु जस्तो मिथिला, भोजपुरा, अवधका कुराहरु उठ्नेछन् । उतिबेला त माओवादीले मिथिला, भोजपुरा र अवधलाई राज्यकै दर्जा प्रस्ताव गरेको थियो । ति आन्दोलनहरु प्नि उठेका थिए मधेसमा । मिथिला आन्दोलनमा त शहादत पनि प्राप्त गरेका थिए । ४÷५ जना मिथिला आन्दोलनकारीको मृत्यु पनि भयो ।

यसरी प्रदेश नं एकले अग्रगमन तिर जाने बाटोको नाम खोजी गर्नु प¥यो । त्यो कहाँ टेकेर हुन्छ, लिम्बुवान किरातमा टेकेर हुन्छ की किरात लिम्बुवानमा टेकेर हुन्छ की ? वा किरातमा मात्रै टेकेर हुन्छ ? त्यो भन्दा अन्य तिर टेकेर जाने प्रदेश नं एकको नामाकरणको बाटो मैले देखेको छैन । अन्य नामबाट जाँदा पश्चगमन हुन्छ । त्यो चाहे विजयपुरको नामबाट राखियोस, त्यो पनि पश्चगमन नै हुन्छ, भौगोलिक नाम नै हो । चाहे त्यो चोमोलुङ्माको नाम राखियोस या सगरमाथा त्यो पनि पश्चगमन नै हुन्छ । कोशी र सप्तकोशी त घोर पश्चगमन हो । यसर्थ अग्रगमन भनेको पहिचानमा आधारित जुन राजनैतिक आन्दोलनले, जनजाति आन्दोलनले नेपालको आंशिक संवैधानिक वैधानिकता प्राप्त गरेकोे हिसावले, जनादेशको हिसावले र जनादेशलाई मतादेशले नकाट्नेगरी राज्यको संरचना हुनुपर्छ ।

मतादेश के हो ?
मतादेश भनेको प्राविधिक कुरा हो । धेरै मान्छे कसरी नियुक्त भएर आउँछन, कसरी प्रतिनिधि भएर आउँछन ? त्यो कुरा सामान्य हो । त्यो प्राविधिक कुरामात्रै हो । हाम्रो निर्वाचन प्रणालीको कारणले गर्दा, विभिन्न प्रकारका गठबन्धनले गर्दा अनेक तौर तरिकाबाट मानिसहरु निर्वाचित भएर आउँछन् । त्यो निर्वाचित भएको आधारबाट जनताको जनादेशलाई कुल्चनु हुँदैन । त्यसले गर्दा पहिचानको आधारबाट गयो भनेमात्र अगाडि जाने बाटो भेटिन्छ ।

प्रदेश एकको विशेषताः
प्रदेश नं एक आफैमा विविधतापूर्ण क्षेत्र हो । संसारकै सबैभन्दा अग्लो चोमोलुङमा (सगरमाथा) तेस्रो अग्लो कञ्चनजंगा र नेपालकै होचो केचना समथर जमिन छ । हिमाल, पहाड, भित्रीमधेस (भावर) र तराई छ । यहाँ भौगोलिक विविधतामात्र छैन । नश्लको आधारले चार नश्लका असंख्य जात, जातिहरु, भाषाका आधारले चार भाषा परिवारका अनेक भाषा, भाषिकाहरु छन् । त्यो समग्रमा एउटा देश जस्तै छ । त्यहाँ विविध प्रकारका जाति जनजातिहरु, विविध प्रकारका आदिवासी जनजातिहरु, थातथलो खुलेका आदिवासी, जनजातिहरु, थातथलो अन्यत्र खुलेका जनजातिहरु मुलुकमा थातथलो खुलेका त्यहाँ नखुलेका जातजातिहरु बसोबास गर्ने क्षेत्र हो । विशेष जातीय संरचनाहरु अल्पसंख्यकहरु, सिमान्तकृत समुदायहरु छन् । पहाडमा याक्खा, लोहरुङ, याम्फु, आठाप्रे, शेर्पा, लाप्चा, वालुङ मधेसमा थारु, मुस्लीम, धिमाल, राजवंशी, कोच, मेच, सन्थाल, ताजपुरिया, किसान, गनगाँई लगायतका समुदायहरु छन् । ति सबै समुदायहरुको हित गर्ने स्वायत्त क्षेत्र, विशेष संरचनाहरु निर्माण गरेर जानु पर्ने हुन्छ । त्यसको पूर्णता दिनु पर्ने काम त छँदैछ । तर आज कम से कम त्यसतर्फ अग्रगमनतर्फ जाने अहिलेको सिमाङ्कनको आधारबाट खोज्नु पर्छ । र, अहिलेको सिमाङ्कनको आधारबाट खोज्दा दुइवटा ठूला जनजाति मुलका आन्दोलनबाट भए लिम्बुवान र किरात आन्दोलनको बीचबाटै एउटा संयुक्त नाम निकालेर जाने हो भने उचित हुन्छ जस्तो मलाइ लाग्छ । तर, अहिलेको प्रदेशसभाको समीकरणले त्यहाँ जान दिँदैन । अघिनै मतादेशको जुन कुरा भनेको थिएँ अहिलेको प्रदेशसभाको समीकरणले त्यहाँ जान दिँदैन । अहिलेको मतादेश त्यो खालको छैन । त्यहाँ अहिले अग्रगमन पक्षधर गठबन्धन पक्षधर भनौं त्यहाँको सांसद संख्या भनेको ५० को हाराहारीमा मात्रै छ । नेकाको त्यहाँ २१ सदस्य, माकेको १५, एसको १०, जसपाको ३ र लिम्बुवानको १ सदस्य संख्या छ । प्रदेशको नामाकरण गर्न दुई तिहाइ चाहिन्छ दुइ तिहाइ पुग्दैन । ५० को हाराहारीमा मात्र पुग्छ । उता एमालेको ४० सदस्य छन् । र त्यो ‘बा’माले (‘बा’कृत माले) ‘ओ’माले (ओलीकृत माले) त्यो गुटमा कोशी प्रदेश वा कौशीकी प्रदेश राख्ने भगिरथ प्रयत्न हुनेछ । उनीहरुको सहयोग नलिइकन प्रदेशको नामाकरण गर्न नसकिने, उनीहरु प्हिचानको नामै सुन्न नचाहने छन् । हिजै ०७६ सालमा प्रदेशको राजधानी तोक्ने र नामाकरण गर्ने प्रस्ताव आयो । तर प्रदेशको नामाकरणमा विवाद आयो । केही क्षेत्रीय दलहरु सामुदायिक संस्थाहरुले पहिचानको आधारबाट हुनुपर्ने कुरा अगाडि ल्याए । विरोधकै बाबजुत प्रस्ताव फिर्ता भयो । होइन भने त्यतिबेलै केपी ओलीले कोशी प्रदेश राख्न व्हिप नै जारी गरेका थिए । यसैले गर्दा ०७६ सालमा भएन । त्यसैले अहिले पनि नामाकरण पेचिलो भएको छ । प्रदेश नं एक अहिले प्रदेशसभाको समीकरणले नाम राख्ने सम्भावना विल्कुलै छैन । त्यो पनि पहिचानको आधारमा त छँदैछैन भन्दा हुन्छ । हिजो नेकपा विभाजन हुँदा मधेस नामाकरण गर्न सहज भयो । यहाँ सहज भएन ।

हतार गर्नु बेकारः
यसले गर्दा नामाकरण प्रस्ताव ल्याइराख्नु जरुरी छैन । केही समय पछाडि नै प्रदेशसभाको निर्वाचन हुन गैराखेको छ । त्यो नयाँ प्रदेशसभा अग्रगमनकारी प्रदेशसभाको रुपमा आउनेछ । त्यो अग्रगमनकारी प्रदेशसभाले अग्रगामि कार्यसूची अवश्य ल्याउनेछ भन्ने विश्वास लिन सकिन्छ । अहिले नै त्यहाँ पहिचानको आधारमा प्रदेशको नामाकरण हुने विल्कुलै सम्भावना छैन । र, त्यो प्रस्ताव ल्याइराख्नु पर्ने जरुरी पनि छैन । जसरी हिजो प्रदेश नं. २ मा पनि मधेसकै प्रस्ताव आएको थियो । तर, त्यहाँ नेकपा विभाजन नभएको हुनाले प्रस्ताव पारित भएन । अहिले नेकपा विभाजन भएर माओवादी केन्द्र पुनर्जिवित भएकोले मात्र उनीहरुको सहयोगमा मधेस नामाकरण सम्भव हुन गयो । तर, त्यस्तै स्थिति अहिले प्रदेश एकमा छैन । तर अब आउने प्रदेशसभा सदस्यले सम्भवतः अग्रगामी कदम चाल्ने छन् । र, जनताको आन्दोलन, जनादेश बाह्रबुँदे समझदारी र नेपालको यो स्वरुप बन्दादेखिको अन्तर विरोधको हल गर्नेछन भन्ने मलाई लाग्दछ ।

images
प्रकाशित मिति :आषाढ ३०, २०७९ बिहिवार - ०६:४८:५० बजे

 

भवानी बराल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology