काठमाडौँ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले सामुदायिक विद्यालयका शिक्षकसरह सेवा सुविधा पाउनुपर्ने माग गरेको छ । चितवनमा भदौ ३ र ४ गते सम्पन्न निजी विद्यालयमा कार्यरत शिक्षकहरूको पेशागत संगठन इस्टुको छैटौँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो पूर्णबैठकले चितवन घोषणा पत्र २०७९ जारी गर्दै उक्त माग गरेको हो।
नेपाल सरकारले वृद्धि गरेको १५ प्रतिशत तलब संस्थागत विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरूलाई २०७९ श्रावणदेखि नै लागू गर्नुपर्ने एस्टुको माग छ।
इस्टुले संस्थागत विद्यालयहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यक्रममा दर्ता गराई शिक्षक कर्मचारीहरूको योगदान रकम र संस्थाले उनीहरूलाई प्रदान गर्ने योगदान रकम अनिवार्य कट्टा गर्न माग गरेको छ।
नेपाल सरकार, प्याब्सन, एन प्याब्सन तथा विद्यालयसञ्चालकहरूको ध्यानाकर्षण गराउँदै इस्टुले संस्थागत विद्यालयहरूमा कार्यरत शिक्षक कर्मचारीहरूलाई सरकारले तोकेको तलब, सबै खालका बिदा, सबै खालका सुविधा अनिवार्य प्रदान गर्न माग गरेको छ।
इस्टुले जारी गरेको घोषणा पत्रमा शिक्षा ऐन नियमावलीमा व्यवस्था भएबमोजिम संस्थागत विद्यालयमा व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ बनाउन र ऐनमा नबाझिने गरी विद्यालय सञ्चालन विनियमावली अनिवार्य बनाउन माग गरेको छ।
यसका साथै इस्टुले घोषणा पत्रमा कोभिड लकडाउनको समयमा रोकिएको शिक्षक कर्मचारीहरूको पारिश्रमिक तुरुन्त प्रदान गर्न, संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरूको पेसागत वृत्तिविकासको निम्ति तालिमको व्यवस्था गर्न, शिक्षकलाई करारमा राख्ने चलन बन्द गर्न माग गरेको छ।
नेपाल शिक्षक महासंघ र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच २०७७ फाल्गुन ९ भएको सम्झौता अक्षरशः कार्यान्वयन गर्न, संघिय शिक्षा ऐन नियमावलीमा संस्थागत विद्यालयमा कार्यरत शिक्षक÷कर्मचारीका पेसागत अधिकार सुनिश्चित हुने गरी स्पष्ट रूपमा व्यवस्था गर्न,अस्वस्थ निजीकरण र व्यापारीकरणलाई न्यूनीकरण गर्न, कम्पनी ऐनमा दर्ता भएका संस्थागत विद्यालयहरूलाई तत्काल सार्वजनिक शैक्षिक गुठी वा सहकारीमा दर्ता गराउन माग गरेको छ।
इस्टुले संघीय, प्रादेशिक तथा स्थानीय सरकारले जारी गर्ने शिक्षा ऐन नियमावलीमा संस्थागत विद्यालयसँग जोडिएका विषयमा छलफल, अनुगमन, नियमन गर्ने क्रममा इस्टुको प्रतिनिधित्वलाई अनिवार्य व्यवस्था गर्न तीनै तहको सरकारलाई ध्यानाकर्षण गराएको छ।
संस्थागत तथा सामुदायिक विद्यालयमा कार्यरत सबैखाले शिक्षक कर्मचारीहरूका पेसागत माग पूरा गराउन नेपाल शिक्षक महासंघले आहवान गर्ने हरेक आन्दोलनमा सक्रिय सहभागी हुने प्रतिबद्धता व्यक्त गर्दै इस्टुले अन्य समान प्रकृतिका संघ(संस्थासंग सहकार्य गरेर अघि बढ्ने, आफ्ना माग सम्बोधन गराउन आन्दोलनलाई सशक्त रूपमा अघि बढाउने, आगामी माघ मसान्तसम्म हरेक जिल्ला, प्रदेश र स्थानिय तहको अधिवेशन सम्पन्न गर्ने जारी घोषणा पत्रमा उल्लेख गरेको छ।
यसका साथै इस्टुले आफ्नामाग पुरा गर्न दवावमुलक आन्दोलका कार्यक्रम सञ्चालन गर्नेसमेत जनाएको छ।