Logo

आइतवार, श्रावण २४ गते २०८३

images

तलेजु भवानीका अनेक किवदन्ती

तलेजु भवानीका अनेक किवदन्ती

दैनिकी न्यूज

२३, मंसिर २०७९
तलेजु भवानीका अनेक किवदन्ती
images

राजीव श्रेष्ठ/नेपालमा शक्तिलाई नारी स्वरुपाको रुपमा पुज्ने चलन अत्यन्त प्राचीन हो । हिन्दुहरुको सबैभन्दा पुरानो वेद ऋगवेदमा उषा र शचीको उल्लेख भएको पाईन्छ । यस वेदको एउटा सूक्तमा वाग्देवीलाई एकादश रुद्र, वसु, चन्द्रसुर्य, विश्वदेव, पृथ्वी र अन्तरिक्षलाई समेत धारण गर्नसक्ने शक्ति भएको एवं उनको उपासना गर्नेहरुलाई चाहेजति शक्ति प्रदान गर्छिन् भन्ने उल्लेख छ । लिच्छवीकालमा शाक्त समुदायको उदय भएको इतिहासकारहरुको भनाई छ । कतिपय लिच्छवीकालीन शक्तिपीठहरु त्यसको प्रमाणस्वरुप भक्तपुरमा भेट्टिएका पनि छन् । मध्यकालमा शक्तिलाई देवीको रुपमा आराधना गर्ने प्रचलनको व्यापक विस्तार भएको पाईन्छ । मल्ल राजाहरु शक्तिस्वरुपा देवीलाई अत्यन्त सहभावले पूजा गर्दथे भने आफ्नो राज्यसत्ता चलाउन पनि इष्टदेवी तलेजुसंग सरसल्लाह लिने गर्दथे । त्यसबेलाका मानिस सत्यमा चल्ने भएकाले देवीदेवताले पनि प्रत्यक्ष रुपमा दर्शन दिन्थे भन्ने जनविश्वास रहिआएको छ । हिन्दु समाजमा शक्तिलाई प्रकृतिको रुपमा पनि उपासना गर्ने चलन विद्यमान छ । यस मान्यता अनुरुप बिना प्रकृतिको शक्ति पुरुष अर्थात शिवको पनि कुनै सार्मथ छैन । जेहोस्, शक्तिलाई प्रकृति र देवीको रुपमा आदरका साथ पुज्ने चलन यद्यपि कायमै छ । वर्तमानमा पनि नवनियुक्त प्रधानमन्त्रीले शपथ लिएपछि गृहप्रवेश अघि कालो बोकाको बलि दिने प्रथालाई यसै प्रसङ्गमा जोडेर हेर्न सकिन्छ । नेपालीहरुको राष्ट्रिय पर्वका रुपमा लिईएको दशैंमा पनि कार्त्तिक प्रतिपदाको दिनदेखि नौदिनसम्म देवीका नौवटा रुपलाई नवदुर्गाका रुपमा पूजाआराधना गरिन्छ । तीमध्ये एक तलेजु भवानीका विभिन्न रोचक प्रसङ्गहरुको यहाँ उल्लेख गरिन्छ ।

नेपाली राजाहरुको इष्टदेवीका रुपमा वर्णन गरिएकी तलेजु भवानी वास्तवमा बाहिरबाट भित्र्याईएकी देवी थिईन । नेपालको सुरक्षार्थ देवीशक्तिको खाँचो भएपछि मल्लकालमा भक्तपुरका तान्त्रिक राजा, ललितपुरका तान्त्रिक गुभाजु तथा कान्तिपुरका ज्यापु त्यसको खोजमा हिंड्दा सिमरौनगढमा पुगेर महान देवी तलेजुलाई भेटेपछि अनेक स्तुति गरी उनलाई मनाएर तान्त्रिक विधिले पुजा गरी नेपाल ल्याएको प्रसङ्गलाई निकै रोचक पारामा विभिन्न प्राचीन ग्रन्थहरुमा वर्णन गरिएको छ । यद्यपि प्रामाणिक इतिहासलाई खोताल्दा तलेजु भावनी चामुण्डा देवीकै एक स्वरुप भएको र उनी दक्षिण भारतको मद्रास शहरबाट श्रीलंका लैजाने क्रममा नेपाल ल्याईएको प्रमाण फेला गरेको छ । चामुण्डालाई मद्रासका मान्छेहरु असाध्यै मान्दथे र कर्णाटवंशी राजा नान्यदेवले आफ्नो राज्यलाई अकण्टकबनाउन उनै देवीको स्थापना गर्ने उद्देश्यले भारतबाट नेपालको सिमरौ नगढमा ल्याएका थिए । नान्यदेव पछिका कर्णाटी राजा हरिसिंहदेवको पालामा मुश्लिमहरुले सिमरौनगढमा आक्रमण गरेपछि राजा आफ्नो परिवारसहित इष्टदेवी तलेजु पनि साथमै लिएर पहाडी ईलाकातिर भागेका थिए । यसै क्रममा दोलखा पुगेपछि उनको मृत्यु भयो । त्यसपछि उनकी पत्नी देवलदेवी र छोरा जगजित सिंहले आफ्नो ज्यान रक्षाका लागि कान्तिपुरका राजा रुद्र मल्लको दरबारमा शरण मागे । रुद्र मल्लले पनि उनीहरुको दयनीय अवस्थालाई ध्यानमा राखी आफ्नो दरबारमा शरण दिए । देवलदेवीले आफूसाथ ल्याएको तलेजुलाई मल्लहरुको दरबार भित्रै स्थापना गरिन । विस्तारै तलेजु भवानी मल्लहरुको पनि पूजनीय देवी बन्न पुगिन् । वि.सं. १६१७ तिर कान्तिपुरको राजगद्दी सम्हालेका महेन्द्र मल्ल तलेजु देवीका अनन्य भक्त थिए । वसन्तपुर दरबारस्थित तलेजु भवानीको अग्लो मन्दिर यिनैले बनाएका थिए । मल्लहरुको वंशावलीमा उल्लेख भएअनुसार यिनको पालामा तान्त्रिक विधिअनुरुप आराधना गरेपछि तलेजु देवी स्वयं कालो भँवराको रुपमा उडेर आई उक्त मन्दिरभित्र प्रवेश गरेको कुरा राजा र प्रजाले प्रत्यक्ष देखेका थिए । उक्त घटना भने नेपाल सम्बत् ६६९ को माघ महिनामा घटेको भन्ने उल्लेख गरिएको छ ।

भक्तपुरका राजा जगतज्योति मल्ल पनि तलेजु भवानीका भक्त थिए । उनले निमार्ण गरेको भक्तपुर दरबारको पश्चिम चोकमा प्रत्येक वर्षको दशैंको नवमीको रात कुमारीलाई देवीको रुपमा आव्हानगरी त्यहाँ अवस्थित ढुङ्गाको पलङ्गमा एक्लै छाडिन्छ । प्रचलित किंवदन्ती अनुसार त्यस रात साक्षात तलेजु देवी त्यहाँ आई जीवित देवी कुमारीसँग भलाकुसारी गर्छिन भनिन्छ । यदि कुमारी भएको बालिका डराएर रुनेकराउने गरेमा तुरुन्तै उनलाई निकालेर अर्कै कुमारी राख्ने गरिन्छ । यस्तो प्रथाको पछाडि एउटा कारण लुकेको छ । त्यो के भने राजा जगतज्योति मल्ल आफ्नो राजकाज चलाउने सन्दर्भमा कुनै सहयोग चाहिएको अवथामा भक्तपुर दरबारको सोही ठाँउमा आफ्नो तान्त्रिक विधिले पासा खेल्नुपर्‍यो भनेर तलेजुलाई बोलाउँथे र आवश्यक सल्लाह लिने गर्दथे । यसै सन्दर्भमा एकदिन तलेजुसँग सल्लाह गर्दै पासा खेल्दै गर्दा देवी हार्दै गईन् भने राजाले जितेको जित्यै भयो । त्यो देखेर तलेजु भवानी प्रसन्न भईन र राजालाई वरदान माग्न भनिन् । जगत्ज्योति मल्लले पनि उपयुक्त समयमा आफूलाई चाहिएको कुरा माग्छु भन्नै बताए । पछि आफ्नो तान्त्रिक सल्लाहकारसँग राजाले सो प्रसङ्ग उल्लेख गरेपछि सल्लाहकारले पनि देवीको दिव्य मूहारको दर्शन पाँऊ भनेर माग्नु भन्ने बताए । राजाले देवीसँग उक्त कुरा बताएपछि देवीले यो कुरा असम्भव भएकाले अरुथोक नै माग्न भनिन् । तर जगतज्योति मल्लले आफ्नो जिद्दी नछाडेपछि देवीले बाध्य भएर दर्शन दिईन् । तलेजु देवीको भव्य एवं सौन्दर्यमय रुप देखेर राजा मोहित भए । त्यसको साथै उनको मतिभ्रस्त भएर अनाहक देवीको हात समाउन पुगे । त्यसपछि तुरुन्तै गायब भईन् । र त्यसपछाडि कहिल्यै देवीले साक्षात दर्शन दिईनन् । राजा जगत्ज्योति मल्ल साह्रै चिन्तित भएर अथक साधना गरी पानीसम्म नपिई तलेजुको मूर्तिमा पूजा गरेपछि तलेजु भवानीले सपनामा दर्शन दिई अबदेखि मेरो आवश्यकता परे बाँडाको छोरीलाई ल्याई कुमारीको रुपमा पूजा गर्नु, म त्यसैमा प्रवेश गर्छु भनी पूजाको विधि पनि बताईन् । यस्तै प्रसङ्ग कान्तिपुरका राजा प्रताप मल्लको सन्दर्भमा पनि वंशावलीमा उल्लेख छ । जेहोस्, जीवित देवी कुमारी पनि तलेजु भवानीकै एक स्वरुप भएकोमा कुनै शंका छैन ।

images
प्रकाशित मिति :मंसिर २३, २०७९ शुक्रवार - १९:२४:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology