Logo

आइतवार, श्रावण २४ गते २०८३

images

होस्टेलमा एसईई तयारी गरिरहेका विद्यार्थी कुट्ने प्रधानाध्यापक पक्राउ

होस्टेलमा एसईई तयारी गरिरहेका विद्यार्थी कुट्ने प्रधानाध्यापक पक्राउ

दैनिकी न्यूज

१०, माघ २०७९
होस्टेलमा एसईई तयारी गरिरहेका विद्यार्थी कुट्ने प्रधानाध्यापक पक्राउ
images

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकास्थित चन्द्रज्योति माध्यमिक विद्यालय अध्ययनरत विद्यार्थीलाई कुट्ने प्रधानाध्यापक प्रेम थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

होस्टेलमा बसेर एसईई परीक्षाको पूर्वतयारी गरिरहेका ४२ विद्यार्थीले शर्त पालना नगरेको भन्दै प्रअ थापाले उनीहरुरूलाई कुटपिट गरेका हुन् ।

उक्त होस्टलमा बसेर पढ्दै आएकी भीमाद नगरपालिका–४ बरण्डाँडा निवासी लिलामाया आलेलाई सजाय दिने क्रममा कुटपिट गर्दा उनी घाइते भएकी थिइन् ।

लठ्ठीले हान्दा चोट लागेर घाइते भएकी छात्राको बेलचौतारास्थित जीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार केन्द्रमा उपचारपश्चात घर फर्किएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक यामप्रसाद अर्यालले जानकारी दिए ।

आफ्नै छोराछोरी सम्झेर राम्रोसँग पढ्नु भन्ने हेतुले सामान्य कुटपिट गरेको प्रअ थापाको भनाइलाई उद्धृत गर्दै निरीक्षक अर्यालले बताए । अन्य विद्यार्थीको अवस्था सामान्य रहेको पनि उनले स्पष्ट पारे ।

होस्टेलमा बसेर अध्ययन गरेका विद्यार्थीको लिएको ‘टेस्ट’ परीक्षामा अधिकांश विद्यार्थीले सही उत्तर नलेखेपछि सजायस्वरुप पिटेको स्वीकार प्रअ थापाले गरेका निरीक्षक अर्यालले जानकारी दिए ।

घाइते विद्यार्थीका अभिभावकले कुटपिट गर्ने शिक्षकलाई विद्यालयबाट निकाल्नुपर्ने माग गर्दै विद्यालय परिसरमा दबाब दिएका थिए । घटनाको जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीमाथि पनि अभिभावकले मदिरा सेवन गरी अराजकता मच्चाउन खोजेको र प्रहरीले संयमता अपनाएको उनले बताए ।

गणित विषयको परीक्षामा अधिकांश विद्यार्थीले राम्रो नतिजा नल्याएपछि एक हप्ता अघिको शर्त पूरा नगरेको भन्दै प्रअ थापाले पिटेको जानकारी पाएको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख बाबुराम गैह्रेले जानकारी दिए ।

कुटपिट गर्ने शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए । रासस

images
प्रकाशित मिति :माघ १०, २०७९ मंगलवार - ०७:४८:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology