Logo

आइतवार, श्रावण २४ गते २०८३

images

एसईई सुरु भएको भोलिपल्टदेखि शिक्षकको पनि परीक्षा, दुवैतिर दोधार

एसईई सुरु भएको भोलिपल्टदेखि शिक्षकको पनि परीक्षा, दुवैतिर दोधार

दैनिकी न्यूज

१४, फाल्गुण २०७९
एसईई सुरु भएको भोलिपल्टदेखि शिक्षकको पनि परीक्षा, दुवैतिर दोधार
images

काठमाडौं । दुई सरकारी निकायबीच समन्वय नहुँदा शिक्षक र विद्यार्थीका परीक्षा एकै समयमा पर्ने भएका छन् । त्यसले गर्दा विद्यार्थी र शिक्षक दुवैको परीक्षामा असहज अवस्था सिर्जना हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत १७ गतेदेखि कक्षा १० का विद्यार्थीका लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्दैछ । त्यसको भोलिपल्ट अर्थात् चैत १८ गते शनिबार शिक्षक सेवा आयोगले पनि माध्यमिक तहमा स्थायी शिक्षक नियुक्तिका लागि लिखित परीक्षा सञ्चालन गर्दैछ ।

दुईथरी परीक्षा एकै समयमा सञ्चालन हुने भएपछि शिक्षकहरू दोधारमा परेका छन् । विद्यार्थीको परीक्षा सञ्चालनमा जुट्ने कि आफ्नै परीक्षाको तयारीमा लाग्ने अन्योल उनीहरूमा छ । एसईई परीक्षा सञ्चालनको मुख्य जिम्मेवारी शिक्षककै हुन्छ । परीक्षाको केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, परीक्षा निरीक्षक, प्रश्नपत्र तथा उत्तरपुस्तिका वितरण र सङ्कलनको काम पनि शिक्षककै हुन्छ । त्यसका लागि परीक्षा हुनुभन्दा एक साताअघि नै शिक्षक तयारीमा लाग्नुपर्ने हुन्छ ।

“विद्यार्थीको भविष्यसँग जोडिएको एसईईलाई राम्रो वातावरणमा सञ्चालन गर्नेतर्फ लाग्ने कि आफ्नै भविष्यको गोरेटो निर्धारण गर्ने स्थायी शिक्षक नियुक्तिसम्बन्धी परीक्षामा लाग्ने रु” काठमाडौँका एक सामुदायिक विद्यालयका शिक्षकले गुनासो गर्दै भने । दुवै परीक्षा उत्तिकै महत्वपूर्ण भएकाले परीक्षा बोर्ड र आयोगले एकापसमा छलफल गरेर दुईमध्ये एउटा परीक्षा स्थगित गर्नुपर्छ ।”

तनावबीच सञ्चालन हुने भएकाले दुवै परीक्षा मर्यादित र स्वच्छ रूपमा सञ्चालन गर्न कठिन हुने शिक्षकहरूको भनाइ छ । शिक्षक सेवा आयोगले माध्यमिक तहतर्फ स्थायी शिक्षक नियुक्तिका लागि चैत १८ गतेका लागि परीक्षा बोर्डको निर्णय हुनुअघि नै परीक्षा तालिका सार्वजनिक गरेको जनाएको छ ।

आयोगका प्रशासकीय अधिकृत केशव दाहालले भने, “शिक्षकका परीक्षासँग नजुध्ने गरी परीक्षा तालिका निर्धारण गर्न हामीले बोर्डलाई पहिले नै अनुरोध गरेका थियौँ तर बोर्डले चैत १८ गतेबाट सुरु हुने गरी परीक्षा तोक्यो ।” शिक्षकका परीक्षा शनिबार सञ्चालन हुने भएका कारण खासै समस्या नहुने पनि उनले दाबी गरे । आजको गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :फाल्गुण १४, २०७९ आइतवार - ०८:२९:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology