काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई०को सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
‘परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत बैठक सम्पन्न भएको छ,’ उनले भने । सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ति, सुरक्षा व्यवस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तरपुस्तिका पु¥याउनेलगायतका सबै काम सकिएको शर्माले जानकारी दिए ।
एसईईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले प्रत्येक प्रदेशमा प्रदेश सचिवको अध्यक्षतामा गठन भएका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले बोर्डको निर्देशनको परिधिभित्र रहेर परीक्षा सञ्चालन, व्यवस्थापन र अनुगमन गर्ने जानकारी दिए । उपनियन्त्रक लोकनाथ आचार्यले प्रदेशअनुसार प्रश्नप्रत्र रहेको र प्रदेशले नै अनुगमन गर्ने र खर्च गर्ने व्यवस्था भएको बताए । ‘संघीय शिक्षा ऐन नआएका कारण नतिजा निकाल्नेलगायका काम भने केन्द्रले नै गर्नुपर्नेछ,’ उनले भने ।
त्यस्तै, प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी प्रमुख, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सदस्य सचिव, जिल्लाका सुरक्षा निकायका प्रमुखलगायत रहने गरी गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिले परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ति, सरोकारवालालाई प्रशिक्षण गर्ने, प्रश्नपत्र प्रहरी निकायसम्म पु¥याउने, उत्तरपुस्तिका परीक्षा केन्द्रसम्म पु¥याउने र आवश्यक समन्वय गर्ने कामसमेत पूरा भएको उनको भनाइ छ ।
उपनियन्त्रक आचार्यले अघिल्ला वर्षको तुलनामा यस वर्ष परीक्षार्थी घटेको बताए । अघिल्लो वर्ष करिब ४ लाख ९५ हजारले परीक्षा दिएका थिए । जनसंख्या घट्दो दरमा रहेकाले पनि परीक्षार्थीको संख्या घट्दै गएको हुन सक्ने आचार्यले बताए । २०७८ सालबाट जुनसुकै उमेर समूहकाले पनि एसईई दिन सक्ने उनले बताए ।
करिब ५ लाख परीक्षार्थी
एसईई परीक्षामा यस वर्ष ४ लाख ८४ हजार २ सय २७ जना सहभागी हुँदै छन् । परीक्षामा सबैभन्दा धेरै बाग्मती प्रदेशमा १ लाख ६ हजार ९ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार ३ सय २९ परीक्षार्थी सहभागी हुँदै छन् । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका २ हजार ९ सय ८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी हुँदै छन् ।
यस वर्ष ७ हजार २ सय सामुदायिक र ४ हजार ५ सय ६४ संस्थागत गरी ११ हजार ८ सय २९ विद्यालय एसईईमा सहभागी हुँदै छन् । परीक्षाका लागि देशका ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र र जापानमा १ गरी कुल २ हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए ।
त्यस्तै, बाग्मती प्रदेशमा सबैभन्दा बढी ४ सय ३४ परीक्षा केन्द्र र कर्णाली प्रदेशमा सबैभन्दा कम १ सय ७९ परीक्षा केन्द्र कायम गरिएको छ । कोसी प्रदेशमा ३ सय ७८, मधेस प्रदेशमा २ सय ७९, गण्डकी प्रदेशमा २ सय २३, लुम्बिनी प्रदेशमा ३ सय ३४ र सुदूरपश्चिम प्रदेशमा २ सय ९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । एसईईमा अघिल्लो वर्ष देशभरबाट ५ लाख १८ हजार १ सय ८५ विद्यार्थीले आवेदन दिए पनि परीक्षामा भने ४ लाख ९५ हजार ६ सय ४८ जना परीक्षामा सहभागी भएका थिए । यो खबर आजको राजधानी देनिकमा छापिएको छ ।