Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पत्रकारितामा अवसरः दुरुपयोग कि सदुपयोग ?

पत्रकारितामा अवसरः दुरुपयोग कि सदुपयोग ?

रामहरि कार्की

३१, जेठ २०८०
पत्रकारितामा अवसरः दुरुपयोग कि सदुपयोग ?
images

हामीले भन्दै, सुन्दै र पढ्दै आएका छौं– पत्रकारिता समाजको ऐन हो । अर्थात् यसले समाजलाई बाटो देखाउने काम गर्छ । समाज गलत वा सहि बाटोतर्फ जाँदै छ मार्गनिर्देश गर्छ । तर नेपाली पत्रकारिता समाजको ऐन बन्न कस्तो भूमिका खेलिरहेको छ, पत्रकारिता गरिरहेका मध्ये हामी धेरैलाई थाहा छ । के समाजको ऐना बन्न मिडिया अर्थात् पत्रकारिताले निभाएको व्यवसायिक धर्म सहि छ ? के समाजलाई आम सञ्चारले सहि सूचना र समाचार दिएका छन् ? यस पेशामा रहेका तपाई हामी आफ्नो पेशाप्रति नैतिक र सामाजिक रूपमा जिम्मेवार छौं ? यदी यी प्रश्न उठ्न दिइरहेका छैनौं भने तपाई हाम्रो पत्रकारिता सहि छ भन्न सकिएला । वर्तमान अवस्थामा नेपाली पत्रकारिता हेर्दा समाजप्रतिको दायित्वबोध भन्दा पनि आफ्नै व्यवसायिकतामा प्रश्न उठिरहेको पाइन्छ ।

समाजको ऐनाको रुपमा रहेको मिडियाकै कारण भ्रामित र मिथ्या सूचना समाचारबाट समाज विथोलिएको छ । समाजलाई बाटो देखाउन दिएका सूचनाले समाजलाई उल्टो बाटोबिहिन बनाइको छ ।

के हो व्यवसायिक पत्रकारिता ?
व्यवसायिक पत्रकारिता भन्नाले नैतिक रूपमा अभ्यास गरिएको पत्रकारितालाई बुझाउँछ । यसमा पत्रकारलाई पेशागत नैतिकताले नै बाधेको हुन्छ । यसका कानुन र आचारसंहिताले पनि पत्रकारलाई व्यवसायिक बन्न प्रेरित गरिरहेको पाइन्छ । तर पत्रकारितालाई व्यवसायिक बनाउन बनाइएको कानुनको कडा परिपालना भने छैन । यो त्यतिधेरै कडा गर्नुपर्ने विषय पनि होइन, किनभने यदी जुन मिडिया कानूनद्वारा निर्देशित हुन्छ, त्यहाँ व्यवसायिक र नागरिक पत्रकारितामा थप जटिलताहरू आउने बताइन्छ । तर स्वनियम वा सामाजिक नैतिकताका आधारमा पत्रकार व्यवसायिक बन्न जरुरी छ । यदी ऊ व्यवसायिक भएन भने पत्रकारितामा नैतिकताको खडेर आउँछ । वर्तमान परिप्रेक्ष्यमा नेपाली पत्रकारतामा देखिएको ज्यादै जटिल सवाल नैतिकता हो । पत्रकारले नैतिक धरातल नबुझ्दा नेपाली पत्रकारिताको उधोगती भइरहेको छ ।

केन्द्रिय पत्रकारिता विभागका विभागीय प्रमुख चिरञ्जीवी खनालको बुझाइमा वर्तमान पत्रकारितामा देखिएका धेरै जटिलतामध्ये नैतिक र व्यवसायिक मुख्य विषय हुन् । यहाँको शिक्षा, अभ्यास र पाठकको प्रतिक्रियामा आधारित भएर पत्रकारिता नभएको उनको धारणा छ । उनी भन्छन्– ‘मिडियाहरूले व्यवसायिकता फलो गरेका छैनन्, उनीहरू अझै खरो रूपमा ख्याल पत्रकारिता गर्न नसकेको अवस्था छ, सरोकारवालाले यसतर्फ ध्यान दिनुपर्छ, पत्रकार र पत्रकारिता समाजप्र्रति जिम्मेवार बन्नुपर्छ ।’
पछिल्लो सयम सामाजिक सञ्जालको प्रभाव सीधा मिडियामा परेको छ । सो कारणले पनि मिडियाको व्यवसायिकता सुधारका निम्ति नेपाल पत्रकार महासंघ र यसका नियामक निकायहरूले नेपाली पत्रकारिताको श्रीवृद्धि र व्यवसायिकतामा बढी ध्यान दिन आवश्यक देखिन्छ । त्यसोे त पत्रकारिता केवल समाचार कभर गर्नु भन्दा धेरै जटिल छ ।

पहिलो बन्ने हुटहुटिले विथोलेको समाज
हामीले धेरैपटक मिडियामा भ्रामक सूचना र समाचार प्रकाशन र प्रशारण भएको थाहा पाएका छौं । आफ्नो मिडियाबाट समाचार पठाउन हतारिँदा ठूल्ठूला घटनामा मिडिया चुक्नुपरेको छ । त्यसले नेपाली पत्रकारिताप्रति नै प्रश्न उठाइरहेको छ । समाचार प्रकाशित गर्ने पहिलो हुनु भनेको सबै राम्रो र राम्रो छ जबसम्म दर्शकहरूले थाहा पाउँदैनन् । तर जानकारी अविश्वसनीय र पाठक दर्शक स्रोताले थाहा पाएपछि मिडिया नराम्ररी चुक्नुपर्छ । तसर्थ पत्रकार र मिडियाले पहिलो हुने नाममा कुनै पनि समाचार वा सूचना भ्रामित हुनेगरी संम्प्रेषण गर्नुहुँदैन । यसले पत्रकारिता क्षेत्रलाई नै डामाडोल पार्छ । नेपालमा पहिलो हुने नाममा कैयौं मिडियाले आफ्नो व्यवसायिक धर्म विर्सेका छन् । अझ सामाजिक सञ्चालको भ्रम र मिथ्यो त डरलाग्दो छ । नेपालमा सामाजिक सञ्चालनमध्ये सबैभन्दा बढी भ्रम छर्ने मिडिया युट्युब, टिकटक र फेसबुक हुन् । बाह्रखरी डटकमका सम्पादक प्रतीक प्रधानको भनाइ अनुसार नेपाली पत्रकारिताको प्रतिष्ठा गिर्दै गएको छ । यसका गुरुहरू सबैसँगै बसेर इमान्दरीपूर्वक समीक्षा गर्नु पर्ने उहाँको धारणा छ । कान्तिपुर दैनिकका पूर्व प्रधान सम्पादक तथा पत्रकार नारायण वाग्लेले नेपालमा पत्रकारिताका कमीकमजोरी औंल्याएर समयमै सजग गराउन आवश्यक पर्ने प्राज्ञिक जर्नलको अभाव रहेको बताउनुभयो । पत्रकारलाई व्यवसायिक बनाउने र पत्रकारिताको विजिनेस मोडलका बारेमा पनि चिन्तन हुनुपर्ने उहाँको निष्कर्ष छ ।

सञ्चारविज्ञ तथा पत्रकारिताका अध्यापक पी खरेलको धारणा फरक छ । सञ्चारमाध्यममा आफ्ना सामग्रीको नियमित समीक्षा हुनुपर्ने र सञ्चार सामग्रीबारे अनुसन्धानमूलक जर्नल प्रकाशन हुनुपर्ने उहाँको धारणा छ । उहाँ भन्नुहुन्छ– ‘कुनै पनि पक्ष वा शक्तिको प्रभावका आधारमा लेखिएका समाचार प्रयोग नहोस् भन्नेतर्फ सम्पादक सचेत हुनुपर्छ, सञ्चार माध्यमले सार्वजनिक जनचासोका विषयलाई न्याय गरिरहेका छौँ कि छैनौँ भन्ने ख्याल गर्न आवश्यक छ ।’

यसरी बन्न सक्छ व्यवसायिक पत्रकारिता
एक पेशेवर पत्रकारको काम समाचार कथाहरू अनुसन्धान, लेखन र रिपोर्टिङ वरिपरि घुम्छ । पत्रकारको हैसियतमा तपाईलाई सामान्य समाचार विषय तोक्न सकिन्छ वा तपाईले राजनीति, सेलिब्रेटी समाचार वा खेलकुदजस्ता विभिन्न विशेष क्षेत्रहरूमा काम गर्न सक्नुहुन्छ । कथाको लागि जानकारी सङकलन गर्नको लागि तपाईंको धेरैजसो काम स्थानीय वा टाढाको गन्तव्यहरूमा यात्रा गर्न समावेश हुनेछ । तपाईंले तथ्यहरू सङ्कलन गर्न वा घटनाको प्रत्यक्ष खाताहरू प्राप्त गर्न मानिसहरूसँग अन्तर्वार्ता लिनुपर्ने हुन सक्छ । पत्रकारले टेलिभिजन, पत्रपत्रिका, रेडियो, पत्रिका र इन्टरनेट लगायतका विभिन्न सञ्चार माध्यमहरू मार्फत जनतासामु समाचारहरू तयार गर्ने, लेख्ने र प्रस्तुत गर्ने गर्दछ । समाचारलाई सफलतापूर्वक सिर्जना गर्न, पत्रकारले विभिन्न स्रोतहरूबाट डाटा सङ्कलन गर्न, विश्वसनीय व्यक्तिहरूको अन्तर्वार्ता, सबै जानकारीहरू प्रमाणित गर्न र सटीकता र स्पष्टताको लागि आफ्नो कामको समीक्षा गर्न आवश्यक देखिन्छ । अनलाइन खबरमा प्रधाान सम्पादक शिव गाउँलेका अनुसार पत्रकारिताले शक्ति र सत्तामाथि प्रश्न गर्न सक्नुपर्ने र आफूमाथि उठेका प्रश्नमा इमान्दार भई सामना गर्न आवश्यक छ । त्यस्तै सत्यतथ्यलाई इमान्दारिताका साथ पत्रकार र मिडियाले पस्कनुपर्छ । उहाँ भन्नुहुन्छ– ‘पत्रकारिता व्यवसायिक भयो भने पाठक, दर्शक र स्रोताको न्याय हुन सक्छ ।’

दक्ष पत्रकारको आवश्यकता
समाजलाई व्यवसायिक रूपमा सूचना र समाचार पु¥याउनको लागि पत्रकार पनि दक्ष र व्यवसायिक नै चाहिन्छ । एउटा दक्ष पत्रकारले मात्रै आफ्नो व्यवसायिक धर्म र जिम्मेवारी पूरा गर्न सक्छ । पछिल्लो समय पत्रकारितामा दक्ष जनशक्ति अभाव हुन थालेको अवस्था छ । पत्रकारिता गरिरहेका दक्ष पत्रकारहरू एक पछि अर्को गर्दै पेशाबाट विस्थापित भइरहेका छन् । कोही विदेश पलायन हुने क्रम पनि बढ्दो छ । पत्रकारिता क्षेत्र धमिलो हुनामा यस क्षेत्रका गुरु वा प्रशिक्षक पनि जिम्मेवार हुनुपर्ने राष्ट्रिय समाचार समिति (रासस) का पूर्व कार्यकारी अध्यक्ष श्यामल अधिकारीको भनाइ छ । उहाँका अनुसार हाल पत्रकारको संख्या बढेपनि पत्रकारिताको गुणस्तर भने घट्दो छ । मूलधारका कतिपय सञ्चारमाध्यमले समाजका सरल कथालाई जटिल बनाउँदै लगेका पाइन्छ । पत्रकारले पत्रकारिता भन्दा पनि व्यापारलाई सबैभन्दा ठूलो शक्ति ठानेर काम गरेका कारण पत्रकारिताले समाजलाई विथोलिरहेको श्यामलको धारणा छ ।

images
प्रकाशित मिति :जेठ ३१, २०८० बुधवार - ०७:१४:५८ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology