काठमाडौँ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का स्नातक तह दोस्रो वर्षका विद्यार्थीको पढाइ सकिएको छ महिना बितिसक्दा पनि परीक्षा तालिका सार्वजनिक भएको छैन । ती विद्यार्थीको २०७८ साल चैतदेखि पढाइ सुरु भएको थियो ।
शैक्षिक पात्रो (क्यालेन्डर) नियमित भइदिएको भए ती विद्यार्थीले अहिले तेस्रो वर्षको पनि करिब आधा पढाइसकेका हुन्थे । तर १५ महिना बित्दा पनि दोस्रो वर्षकै परीक्षा दिन नपाउँदा उनीहरू निकै तनावमा छन् । कलङ्कीस्थित एड्मार्क कलेजमा अध्ययनरत अविन महर्जनले भन्नुभयो, “पढेको जति सबै बिर्सिसक्यौँ । अब के पढ्ने, कसरी परीक्षा दिने भन्ने चिन्ताले सताएको छ ।” ती विद्यार्थीको ठाउँमा अहिले स्नातकमै दोस्रो वर्षकै नयाँ समूहका विद्यार्थी आइसकेका छन् । केही निजी क्याम्पसले पहिलो र दोस्रो दुवै समूहका विद्यार्थीलाई सँगसँगै राखेर पढाइरहेका छन् । त्रिविमा वार्षिक प्रणालीमा मात्रै होइन, सेमेस्टर प्रणालीमा सञ्चालन भइरहेका स्नातक तहकै तथा स्नातकोत्तर तहमा परीक्षा र पढाइ नियमित छैन । शैक्षिक पात्रो अनुसार पढाइ, परीक्षा र नतिजा सम्पन्न गर्न नसकेकै कारण मुलुकको उच्च शिक्षाको ८० प्रतिशत विद्यार्थी भार बोकिरहेको त्रिविले सार्वजनिक आलोचना खेप्दै आइरहेको छ ।
समयमै परीक्षा र नतिजा सार्वजनिक नहुँदा विद्यार्थीले थप अध्ययनको योजना बनाउन सकेका छैनन् । लोक सेवा आयोग वा अन्य सरकारी रोजगारीमा प्रतिस्पर्धा गर्नबाट वञ्चित छन् । विद्यार्थीले हरेक वर्ष खेप्नुपर्ने यो हैरानीबाट कसरी मुक्त गराउने भन्ने विषयमा त्रिविका जिम्मेवार पदाधिकारीसमेत चित्तबुझ्दो जवाफ दिन सक्दैनन् । एक त रोजगारी केन्द्रित पढाइको अभाव, त्यसैमाथि पढाइ, परीक्षा र नतिजाको समय भरपर्दो नभएपछि थप अध्ययनका नाममा बिदेसिने विद्यार्थीको सङ्ख्यामा बर्सेनि वृद्धि भइरहेको छ । पब्लिक युथ क्याम्पसका प्रमुख बलराम थापाले वार्षिक प्रणाली अनुसार पढाइ हुने तहका विद्यार्थीलाई शैक्षिक पात्रोको अनियमितताका कारण सबैभन्दा धेरै समस्या परेको बताउनुभयो । उहाँले भन्नुभयो, “चार वर्षे स्नातक तह उत्तीर्ण गर्नकै लागि पाँच, छ वर्ष लाग्ने भयो । यसले विद्यार्थीलाई निराश बनाएको छ ।”विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले पछिल्लो समय कोरोना महामाहारी कारण शैक्षिक पात्रो कार्यान्वयनमा समस्या भएको बताउनुभयो । उहाँले गत चैतदेखि परीक्षा सकिएको एक सय दिनभित्रमा नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको दाबी छ ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत चैतमा सञ्चालन गरिएको परीक्षाको नतिजा साउनभित्र सार्वजनिक गर्ने योजना बनाइए पनि पर्याप्त जनशक्ति नहुँदा जति मेहनत गरे पनि नतिजा प्रकाशन कार्यलाई छरितो बनाउन नसकिएको गुनासो गर्नुभयो । उहाँका अनुसार तथ्याङ्क प्रविष्ट गर्ने, रुजु गर्ने, सम्परीक्षण गर्नेलगायतका परीक्षासँग सम्बन्धित कार्य गर्ने कर्मचारी अहिले दुई जना मात्रै छन् । उहाँले यी कार्यका लागि कम्तीमा आठ जना जनशक्ति आवश्यक पर्ने बताउनुभयो ।
“कुनै बेला पनिकामा उपप्रशासक तहका १८ जना कर्मचारी कार्यरत थिए । अहिले चार जना मात्रै हुनुहुन्छ । विश्वविद्यालयका पदाधिकारीसँग कर्मचारी माग गरेको दुई वर्ष भइसक्यो तैपनि पाइएको छैन,” परीक्षा नियन्त्रक जोशीले भन्नुभयो, “सूचना प्रविधिमा पोख्त कर्मचारी विश्वविद्यालयसँग पनि छैन । नयाँ भर्ती गर्न त्रिवि सेवा आयोग एक वर्षदेखि अध्यक्षविहीन छ । यस्तो अवस्थामा कसरी काम गर्ने ?”
पनिकाले अहिले बल्खुमा रहेको केन्द्रीय कार्यालयसहित पोखरा, विराटनगर, नेपालगञ्ज, र धनगढीबाट परीक्षासम्बन्धी काम गरिरहेको छ । आउने आर्थिक वर्षदेखि मधेश प्रदेशको राजधानी जनकपुरबाट परीक्षा नियन्त्रण कार्यालयको क्षेत्रीय सम्पर्क कार्यालयलाई थप अधिकार सम्पन्न बनाउने योजना पनि त्रिविले बनाएको छ । उहाँले बल्खुमा रहेको केन्द्रीय कार्यालयबाट मात्रै भइरहेको काम क्षेत्रीय कार्यालयबाट सम्पादन गर्न सकिएमा परीक्षा सार्वजनिकको काम सहज हुने बताउनुभयो ।
यो खबर आजको गोरखापत्र दैनिकमा सूर्यप्रसाद पाण्डेले लेखेका छन् ।