Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बढ्दो सडक दुर्घटना

बढ्दो सडक दुर्घटना

रामहरि कार्की

४, कार्तिक २०८०
बढ्दो सडक दुर्घटना
images

नेपालमा सडक दुर्घटनाबाट हुने मानवीय क्षति डरलाग्दो छ । दैनिक औसत ८–१० जनासम्मको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ । अझ चाडबाडको बेला यो तथ्याङ्क उकालो लाग्छ । दशैंको बेला घर फकर्ने यात्रुहरूको चाप अत्याधिक भएपनि सडकमार्गको अवस्था भने नाजुक छ । पूर्वपश्चिम राजमार्गका सडकहरू अस्तव्यस्त हुँदा दशैंका घर फकर्नेलाई सकस भइरहेको छ भने सडक दुर्घटना पनि अत्याधिक बढ्ने गरेको छ ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार मृत्यु हुनेको तथ्याङ्क हेर्दा नेपालमा सबैभन्दा बढी दुर्घटना काठमाडौं र राजमार्ग अन्तर्गतका जिल्लाहरूमा हुने गरेको छ । तर सबैभन्दा बढी दुर्घटनाको दर हेर्दा काठमाडौं उपत्यकाभित्र छ । तथ्याङ्कअनुसार काठमाडौं उपत्यकाभन्दा तराई क्षेत्रमा सवारी दुर्घटना दर निकै कम हुने गरेको छ । तर, दुर्घटनामा ज्यान गुमाउने दर उच्च छ ।

राजधानीलगायत सहरी क्षेत्रमा सवारीको अत्याधिक चाप, चालकको लापरबाही, यात्रुहरूको जथाभावी सडक काट्ने प्रवृत्ति, सडकका पेटीहरूको अतिक्रमण, कमजोर ट्राफिक व्यवस्थापन, सहरी मापदण्डअनुसारको गुणस्तरीय सडकको अभाव, पुराना सवारीको बाहुल्यता, ट्राफिक सङ्केतको अभावलगायतका कारण सवारी दुर्घटना बढ्ने गरेको पाइन्छ ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार २०८०÷०८१ को भदौंसम्म चार हजार ५७ वटा सडक दुर्घटना भएका छन् । जसमा मृत्यु हुनेको सङ्ख्या ३१५ रहेको छ । सोहि अवधिमा घाइते हुनेको सङ्ख्या एक हजार १२ रहेको छ । चालू वर्ष सडक दुर्घटना हुनेमध्ये सबैभन्दा बढी दुर्घटना काठमाडौं उपत्यका परेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा बितेका दुई महिनामा एक हजार ९०५ वटा सडक दुर्घटनाका घटना भएका छन् । यहाँ सडक दुर्घटना हुने सङ्ख्या अत्याधिक भएपनि मृत्यु हुनेको सङ्ख्या भने कम देखिन्छ । पछिल्लो दुई महिनामा काठमाडौं उपत्यकामा सडक दुर्घटनाबाट २७ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् ।

कोशी प्रदेशको ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार त्यस प्रदेशमा साउनयता ४७६ वटा सडक दुर्घटना भएका छन् भने ५५ जनाको मृत्यु र १०८ जना घाइते भएका छन् । बागमती प्रदेशमा १९६ वटा सडक दुर्घटना हुँदा ४१ जनाको मृत्यु र ९४ जना घाइते भएका छन् । मधेश प्रदेशमा एक हजार ७४ वटा सडक दुर्घटना हुँदा ८२ जनाको मृत्यु र ४३० जना घाइते भएका छन् । गण्डकी प्रदेशमा ६८ वटा सडक दुर्घटना हुँदा २४ जनाको मृत्यु र ५३ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनी प्रदेशमा बितेका दुई महिनामा १३० वटा सडक दुर्घटना भएका छन् । यस प्रदेशमा सडक दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या ४४ र घाइते हुनेको सङ्ख्या १३४ रहेको छ । कर्णाली प्रदेशमा १५७ वटा सडक दुर्घटनासम्बन्धि घटना हुँदा २० जनाको मृत्यु र ९२ जना घाइते भएका छन् । त्यस्तै, सुदुरपश्चिम प्रदेशमा ५१ वटा सडक दुर्घटनाका घटना हुँदा २२ जनाले मृत्युवरण गरेका छन् भने ५४ जना घाइते भएका छन् ।

विगतका वर्षहरूमा पनि नेपालमा सडकसम्बन्धि दुर्घटनाको दर उच्च देखिन्छ । तर सडक दुर्घटनामा परेकालाई समयमै उपचार नगर्दा धेरैको ज्यान जाने गरेको छ । हाल सरकारले ठूला राजमार्गमा सुविधासम्पन्न ट्रमा सेन्टर खोल्ने योजना प्रत्येक वर्षको बजेटमा समेट्छ । तर ती योजना सुरु नै भएको पाइँदैन । त्यसो हुँदा राजमार्ग र राजमार्गआसपासका सडकमा भएका दुर्घटनामा घाइतेहरूले समयमै उपचार नपाएपछि मृत्यवरण गर्नेको दर उच्च छ ।

प्रहरीको तथ्याङ्कअनुसार आव २०७९/८० मा पनि सडक दुर्घटनाका घटना डरलाग्दो देखिन्छ । यस वर्ष २३ हजार ५९७ वटा सडक दुर्घटनासम्बधि घटना भएका छन् भने यस वर्ष मृत्युवरण गर्नेको सङ्ख्या दुई हजार ३६८ रहेको छ । सो आवमा सबैभन्दा बढी सडक दुर्घटना काठमाडौं उपत्यकामै भएको छ । तीन जिल्लामा दश हजार ६७५ वटा सडक दुर्घटना भएका छन् भने १७९ जनाको मृत्यु भएको प्रहरी तथ्याङ्कले देखाउँछ । सो वर्ष उपत्यकामा ट्राफिक दुर्घटनाबाट घाइत हुनेको सङ्ख्या २६१ रहेको छ ।

त्यस्तै बागमती प्रदेशमा एक हजार ३६१ वटा सडक दुर्घटना हुँदा २९९ जनाको ज्यान भएको छ भने ७२९ जना घाइते भएका छन् । यो वर्ष सडक दुर्घटना बढी हुने प्रदेश मधेश प्रदेश हो, जहाँ ५ हजार ९८८ वटा दुर्घटना भएका छन् । त्यस्तै कोशी प्रदेशमा ३ हजार ५१० वटा सडक दुर्घटना भएका छन् भने मृत्यु हुनेको सङ्ख्या ४१२ रहेको छ । यसवर्ष अन्य प्रदेशमा पनि सडक दुर्घटना बढी देखिएपनि सबैभन्दा बढी मृत्यु हुनेको सङ्ख्या मधेश प्रदेशमा पर्छ ।

आव २०७८/०७९ मा २४ हजार ५३७ वटा सडक दुर्घटना भएका छन् । यसवर्ष पनि सबैभन्दा बढी दुर्घटना काठमाडौं उपत्यकाभित्र रहेको देखिन्छ । तर मृत्यु हुनेको सङ्ख्या भने मधेश प्रदेशमा बढी छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा १० हजार ७३३ वटा सडक दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको छ भने २५७ जना घाइत भएका छन् । सो वर्ष मधेश प्रदेशमा सडक दुर्घटनामा परि मृत्युवरण गर्नेको सङ्ख्या ५८५ रहेको छ । यस प्रदेशमा सो वर्ष पाँच हजार ७११ वटा सडक दुर्घटनासम्बन्धि घटना भएका थिए । बागमती प्रदेशमा एक हजार ७९८ वटा सडक दुर्घटनाका घटना भएका छन् भने ४१३ जनाको मृत्यु भएको छ । त्यस्तै अन्य प्रदेश लुम्बिनीमा सो वर्ष ट्राफिक दुघर्टनाबाट मृत्यु हुनेको सङ्ख्या ५३८, गण्डकीमा २५४, कर्णालीमा १७८, सुदुरपश्चिममा १९६ जनाको ज्यान गएको छ ।

आव २०७७/०७८ मा सडक दुर्घटनाबाट मृत्यु हुनेको तथ्याङ्क पनि डरलाग्दो छ । यस वर्ष सडक दुघर्टनाबाट देशभर दुई हजार पाँच सय जनाको ज्यान गएको छ भने २० हजार ६४० वटा सडक दुघर्टनासम्बन्धि घटना भएका छन् । यसवर्ष लुम्बिनी र मधेश प्रदेशमा ज्यान जानेको सङ्ख्या बढी देखिन्छ । लुम्बिनी प्रदेश ५२६ र मधेश प्रदेशमा ५२३ जनाले सडक दुर्घटनाबाट ज्यान गुमाउनु परेको छ । यसवर्ष देशभर भएका सडक दुर्घटनामा परी घाइते हुनेको सङ्ख्या ६ हजार ४४८ रहेको छ । यसवर्ष काठमाडौं उपत्यकाका तीन जिल्लामा ९ हजार ५४५ वटा सडक दुर्घटना भएका थिए भने १६७ जनाको मृत्यु भएको थियो ।

२०७७ देखि थन्कियो अध्ययन प्रतिवेदन
यसअघि नेपालमा हुने सडक दुर्घटनासम्बन्धि सङ्घीय संसद्को विकास तथा प्रविधि समिति गठन गरेको ‘सवारी दुर्घटना न्यूनीकरण अध्ययन उपसमिति’ले २०७७ मा अध्ययनसमेत गरेको थियो । तर उक्त प्रतिवेदन हालसम्म पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा थन्किएको छ । प्रतिवेदनले सडक दुर्घटनाका कारण र रोकथामसम्बन्धि सुझावसहितको प्रतिवेदन पेस गरेको थियो । त्यतिबेलाको अध्ययनले सडक अनुशासनको अवहेलना, दक्ष र अनुभवी चालकको कमी, मापदण्डविपरीत बनेका सडक संरचना, सवारीसाधन प्रयोगकर्तामा सवारी नियमको ज्ञानको अभावलगायतका कारणले पनि दुर्घटना बढेको उल्लेख गरेको थियो ।

दुर्घटना कम गर्न के गर्ने ?
अझै पनि थोत्रा र २० वर्ष पुराना सवारीसाधन सडकमा गुड्ने गरेको पाइन्छ । दुर्घटना रोक्न यसलाई पूर्ण रूपले बन्देज लगाउनु पर्ने देखिन्छ । त्यस्तै, ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार चालकको अवस्था र गाडी चलाउने अवधि लागू गर्न प्रविधिको प्रयोग गर्दा दुर्घटना बढी हुने गरेकोले यसतर्फ चासो दिनुपर्ने देखिन्छ । सडकको अवस्था र भूगोलअनुरूपको सवारीसाधन सञ्चालनका लागि रुट अनुमति दिने, तीन हजार पाँच सय किमि यात्रापछि सबै सवारीसाधनलाई अनिवार्य प्रमाणित वर्कसप पठाउने, तोकिएको सडकबाहेक सवारी प्रवेश निषेध गर्ने, उच्च जोखिम क्षेत्र पहिचान गरी यातायात र सडक पूर्वाधार सुधार गर्ने, राजमार्गका विभिन्न स्थानमा अस्पताल बनाई सेवा प्रदान गर्ने, विद्यालय तहदेखि नै सडक सुरक्षासम्बन्धी पाठ्यपुस्तकमा समावेश गर्ने, हरेक प्रदेशमा एउटा ट्रमा सेन्टर निर्माण गर्नेलगायत सावधानी अपनाएका सडक दुर्घटना सम्बन्धि घटना कम हुन सक्छन् । यसको लागि सडक पूर्वाधारसँग सम्बन्धित सरकारी निकायले बढी जिम्मेवार देखिनु आवश्यक छ ।

images
प्रकाशित मिति :कार्तिक ४, २०८० शनिवार - ०७:१०:५५ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology