काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहमा ४३५ शिक्षक माग गरेको छ । । आइतबार सार्वजनिक सूचना जारी गर्दै आयोगले मावि तह तृतीय श्रेणी शिक्षक पदका लागि योग्यता पुगेका इच्छुकहरूबाट दरखास्त आह्वान गरेको हो।
उक्त पदमा दरखास्त दिन चाहनेका लागि आइतबार विहान १० बजेदेखि नै अनलाइन फारम भर्न सकिने व्यवस्था गर्ने आयोगले जनाएको छ । शिक्षकको विज्ञापन गतवर्ष जस्तै प्रदेशगत रूपमा माग गरेको छ ।
माध्यमिक शिक्षकमा दरखास्त दिन नेपाली, सामाजिक, अर्थशास्त्र र संस्कृत विषयमा आवदेन फारम भर्नेले सम्बन्धित विषयमा स्नातक उतीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिनाको तालिम लिएको हुनुपर्नेछ ।
तर अंग्रेजी, गणित, विज्ञान, कार्यालय सञ्चालन तथा लेखा र कम्प्युटर विज्ञानमा फारम भर्न चाहनेले भने शिक्षा विषयको तालिम नलिए पनि दरखास्त दिन सक्नेछन् ।
उक्त विज्ञापनमा माघ ८ गतेसम्म नियमित दस्तुर तिरेर फारम भर्न सकिने र त्यसपछि माघ १५ गतेसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने आयोगले जनाएको छ ।
शिक्षक सेवा आयोगले गत वर्ष ७१८ माध्यमिक शिक्षक माग गरेको थियो । विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइटबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ।
