ललितपुरको लगनखेल, सातदोवाटो चापागाउँ हुँदै २५ किलामिटरमा पुगिने कोन्ज्योसोमले वर्षौ ‘राजधानीको कर्णाली’ नामको पीडा खेप्यो । तर, यतिखेर कन्ज्योसोम ‘राजधानीको कर्णाली’ हैन घुमघाम गर्ने नजिकको रमाइलो गन्तव्यको रूपमा स्थापित हुन पाएको छ । तामाङ समुदायको स्वागत र सत्कारले कोन्ज्योसोममा आउने पर्यटकलाई मोहित बनाउँछ । करुवाको पानी मयूरको प्वाँखले छम्किएपछि मात्रै खानेकुरा खानुपर्ने संस्कार छ । यो आफैमा अनौठो चलन हो । यसरी यहाँ मानवजीवनका लागि अत्यावश्यक खाना र भगवानप्रतिको उच्च सम्मान देखिन्छ । मनमोहक डाँडाकाँडामा बसेका तामाङ बस्तीले यहाँ आउने पाहुनालाई मनग्यै सत्कार र परिकार पस्कन्छन् । कोन्ज्योसोम प्रतिमा र तामाङ सङ्ग्रहालय पर्यटकका मुख्य आकर्षण छ । करिव १० हजार जनसंख्या रहेको कोन्ज्योसोम पाँचवटा वडामा प्रशासनिक रूपले विभाजित छ ।

अनौठो कोन्ज्योसोमः
धेरैलाई ‘कोन्ज्योसोम’ नाम उच्चारण गर्न नै निकै कठीन लाग्न सक्छ । ललितपुर जिल्लाका ६ स्थानीय तह एक महानगरपालिका (ललितपुर), दुई नगरपालिका (महालक्ष्मी र गोदावरी), तीन गाउँपालिका (महांकाल, बाग्मती र कोन्ज्योसोम) मध्येको कोन्ज्योसोम एउटा महत्वपूर्ण गाउँपालिका हो । कुनै बेला ‘राजधानीको कर्णाली’ नामले चिनिने यो गाउँपालिकाले आफ्नै ऐतिहासिक तथा सांस्कृतिक पहिचान प्राप्त गरेको छ । साविक नल्लु, भारदेउ, चौघरे, शङ्खु र दलचौकी गाविस मिलाएर बनेको कोन्ज्योसोम गाउँपालिका हो । यस गाउँपालिकामा बसोबास गर्ने मानिसहरूको मुख्य पेसा कृषि हो । यो ठाउँमा हरियाली अग्ला पहाडहरूले घेरिएकोले प्राकृतिक हिसाबमा सुन्दर र मनोरम दृश्यहरूको मज्जा लिन सकिन्छ ।
कोन्ज्योसोमको पहिचानः
भोट बर्मेली भाषा परिवारसँग सम्बन्धित तामाङ भाषा अन्तर्गत बौद्ध सभ्यताको पहिचान कोन्ज्योसोमले अन्तरङ्ग चिनारी हो । बौद्ध दर्शनमा बुद्ध रत्न, धर्म रत्न र संघ रत्नलाई तीन रत्न वा मार्ग भनिन्छ । बौद्ध सभ्यतामा संघको स्थान अत्यन्तै महत्वपूर्ण हुन्छ । बुद्धत्व प्राप्तिको लागि धर्म रत्नको अनुशरण र अभ्यास गर्ने अनुयायीहरूको समूहलाई बौद्ध संघ भनिन्छ । सामान्यतया यी तीन रत्नलाई शरण स्थानको केन्द्र विन्दुमा स्वीकार गरि शरणगमन शिल तथा पञ्चशील पालना गर्ने व्यक्तिहरूको समूहमात्र बौद्ध संघमा समाहित हुन्छन् । बौद्ध सभ्यताको यसै नामबाट गाउँपालिकाले पहिचान पाएको छ । तामाङ भाषामा कोन्ज्यो भनेको रत्न र सोम भनेको तीन हो । कोन्ज्योसोमलाई त्रिरत्न पनि भन्न सकिन्छ । ७५.७८ प्रतिशत तामाङ समुदायको बसोबास रहेको कोन्ज्योसोममा संविधानको मर्मअनुसार पहिचानको नाम राखिएको छ ।
कृषि परियोजनाः
संविधानले स्थानीय तहको अधिकारको अनुसूची – ८ को बुँदा १५ मा कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन र बुँदा १८ मा कृषि प्रसारको व्यवस्थापन र नियन्त्रणको अधिकार दिएको छ । तर कतिपय पालिका यी अधिकारसँग बेखबर जस्तै छन । तर कोन्ज्योसोमले यी अधिकारको प्रयोग गर्न खोजेको छ ।
कृषिको एउटा विधामा मात्र बहस केन्द्रित गर्ने हो भने मात्र पनि कोन्ज्योसोमले प्रगति पथतर्फ लम्किने लक्ष केन्द्रित गरेको छ । यतिखेर राजधानीमा करिव १८ हजार लिटर दुध आपूर्ति गर्न कोन्ज्योसोम सक्षम भैसकेको छ । भैसी पालन परियोजना सम्पन्न भैसकेपछि यसको परिणाम एउटा सार्थक प्रयास अन्तर्गत हुने नै छ । भैंसी परियोजनालाई स्थायित्व दिनलाई पालिकाले अगाडि सारेको बीमा अनुदान एउटा नमूना हो । पालिकामा भैंसीको मूल्य डेढ लाख निश्चित गरिएको छ । मूल्य निश्चित गरिएकोले यसमा आउने विमामा खेलेर कमाउ धन्दालाई निषेध भएको छ । नेपाल सकारबाट प्राप्त हुने अनुदानबाट ८० प्रतिशत, पालिकाबाट १० प्रतिशत र किसानले १० प्रतिशत प्रिमियम तिर्नु पर्छ ।
गाउँपालिकाभित्र रहेको अधिकांश पशुमा गरिएका पशु विमाको कारण १४ करोड बराबरको पशुपूँजी सुरक्षित भएको, उन्नत जातका गाई, भेसी, बाख्रा, बोका पालनमा दिएको अनुदान, भकारो सुधारमा दिएको अनुदान सहयोगका कारण दुग्ध उत्पादनमा उल्लेख्य वृद्धि हुनुका साथै खसी, बोका उत्पादनमा वृद्धि भई कृषकहरूको आर्थिक जीवनस्तरमा रूपान्तरण भई गरिवी निवारणमा भरथेग गरेको छ ।
चौघरे, शंखु र दलचौकी पशुपालनको लागि पकेट क्षेत्र निर्धारण गरिएको छ । यसरी कृषि विधाको एउटा क्षेत्र मात्र हैन कृषि पकेट कार्यक्रम अन्तर्गत मकै, फलफुल, चिया, किवी आदिको छुट्टै पकेटको सफलतासँगै यहाँको जनजिविकामा एउटा परिणाम ल्याउने कुरामा विश्वास लिन सकिन्छ ।

एक स्कूल : एक नर्स
संविधानले व्यवस्था गरे अनुसार आधारभूत माध्यमिक शिक्षा (संविधानमा भएको स्थानीय तहको अधिकारको सूची नं. ८ को बन्दोबस्त गर्ने अधिकार स्थानीय तहको हो । तर, धेरै स्थानीय सरकार यो विषयमा उदासिन छन् । तर, कोन्ज्योसोमले यो अधिकारलाई भरपुर उपयोग गर्न खोजेको छ । विगतमा १७ वटा सामुदायिक विद्यालय लथालिंगे परिपाटीलाई अन्त्य गर्दै पालिकाले शिक्षाको क्षेत्रमा लगेको कार्यक्रम पनि उल्लेखयोग्य छ । यसमध्ये ६ वटा माध्यमिक विद्यालयलाई एकीकरण र भौतिक सुधार गर्दै तीनवटा दस जोड दुई स्कूल र प्राविधिक शिक्षालयतर्फ जोड दुईसम्मको कृषि तरकारी बाली विषय पठनपाठनको व्यवस्था छ । तर राज्यले स्थानीय तहलाई आधारभूत शिक्षा सञ्चालन गर्ने पूर्ण स्वायत्तता अझै दिएको छैन । सबैभन्दा सम्बेदनशिल कुरा त प्रत्येक स्कूलमा एकजना नर्सको व्यवस्थापन गरेर विद्यार्थीको दैनिक स्वास्थ्यलाई हेरविचार गरेको छ । शिक्षाको क्षेत्रमा कोन्ज्योसोमको यो कार्यक्रम बाँकी पालिकाले अनुशरण गर्नु पनि त्यत्तिकै लाभदायक हुनेछ । २०७८ सालको शैक्षिक सत्रदेखि स्थानीय तामाङ भाषामा पठन पाठन शुरु गरी हाल कक्षा तीनसम्म सबै विद्यालयमा पढाउँदै आइरहेको छ । पालिकाले शिक्षाको वृहत विकासको लागि २०७९ माघमा कोन्ज्योसोम गाउँपालिकाको गाउँपालिका शिक्षा ऐन, स्थानीय राजपत्रमा प्रकाशितसमेत गरेको छ ।
जनस्वास्थ्यमा अब्बलः
संविधान अनुसार स्थानीय तह अधिकारको सूची (बुँदा–९)अन्तर्गत आधारभूत स्वास्थ्य र सरसफाइ स्थानीय तहको अधिकार क्षेत्र भित्र पर्छ । यो अधिकारलाई उपयोग गर्दा नै जनस्वास्थ्यको व्यवस्था हुने हो । यसक्रममा कोन्ज्योसोम पालिकाले पाँचै वडामा हेल्थ पोष्ट र केन्द्र सरकारले निःशुल्क उपलब्ध गराएका ९८ प्रकारका औषधीमा थप १७ प्रकारका औषधि थपेर निःशुल्क वितरण गर्ने गरेको विषय अध्यक्ष कृष्णमान लामाले सगौरव बताए । पालिकाकै अध्यक्ष लामाका अनुसार नेपाल सरकारको सहयोगमा शंखुमा १० बेड क्षमताको अस्पताल निर्माणाधिन छ । स्वास्थ्य सरसफाइको क्षेत्रमा पालिकाका महिलाहरूको लागि निःशुल्क सेनेटरी प्याड वितरण गर्ने गरेको छ ।
धार्मिक पहिचान:
कोन्ज्योसोम–५ भारदेउको गुप्तेश्वरी सामुदायिक वनस्थित फूलबारी डाडाँमा कोन्ज्योसोम प्रतिमा छ । यो मन्दिर मात्र होइन, राजधानी नजिक रहेकोे गाउँपालिकालाई प्रकृतिले अनुपम उपहार दिएको छ । हराभरा जङ्गल, थरीथरीका वनस्पति, जीवजन्तु, जडीबुटी अनि सांस्कृतिक र धार्मिक पहिचानले भरिपूर्ण छ ।

गाउँपालिकाका निवर्तमान अध्यक्ष गोपिलाल सिंतानद्वारा कोन्ज्योसोम प्रतिमा स्थापना गरेको स्थानीयहरू बताउँछन् । कोन्ज्योसोम प्रतिमाको निर्माणको अवधारणा सिंतान आफैले लिएका हुन् । कोन्ज्योसोम गाउँपालिका ललितपुरको अग्लो स्थानमा छ । ‘स्वयम्भुमा रहेको बुद्धको मूर्ति ४६ फिटको छ भने कोन्ज्योसोममा रहेको तीन बुद्धको मूर्तिमध्ये बीचको मूर्ति ५६ फिटको छ । यसैगरी दायाँबायाँ ५२ फिटको बुद्धको मूर्तिको निर्माण गरिएको छ,’ सिंतानले भने ।
यो गाउँपालिकामा रहेको नल्लु भन्ज्याङबाट उपत्यकाको दृश्य एकटकले अवलोकन गर्न सकिन्छ ।

ताप्लेजुङबाट प्रतिमा ल्याएर स्थापना गरिएको पाथीभरा मन्दिर यही भन्ज्याङमा छ । हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र रहेको यो मन्दिर दर्शन गर्नेको उत्तिकै भिड हुन्छ ।

काठमाडौं उपत्यकाका अग्ला स्थान फूलचोकी, दलचोकी हुन् । नयाँ वर्षको दिन, शनिबार र अन्य विशेष तिथिहरूमा यहाँ पर्यटकहरूको बाक्लो नै उपस्थिति हुन्छन् । नयाँ वर्षमा पाथीभरा मन्दिर र मनकामना मन्दिरमा विशेष मेला लाग्छ । कोन्ज्योसोम विभिन्न धार्मिक स्थलहरू कोन्ज्योसोम प्रतिमा र प्राचीन कालको गुप्तेश्वर मन्दिर, पाथीभरा मन्दिर, मनकामना मन्दिर, भ्युटावर, सङ्खु कृष्ण प्रणामी मन्दिर, चौघरे गुम्बा र भारदेउको भालेश्वर मन्दिर हुन ।

कोन्ज्योसोम प्रतिमा निर्माणस्थलदेखि दलचोकी भ्यू टावर हुँदै तीनपाने भञ्ज्याङसम्म साइकल लेन निर्माण गरी एकीकृत पर्यटकीय गन्तव्य बनाउन पर्यटन गुरुयोजना बनाई आवश्यक होटल, रेष्टुराँ, विश्रामस्थल, शान्तिपार्क र मनोरञ्जन पार्क निर्माण कार्य अघि बढेको छ ।

निस्कर्ष:
उपत्यकाभित्रकै जिल्ला भएर पनि ललितपुरमा प्रशस्त ग्रामीण बस्ती छ । ललितपुर जिल्लाको दक्षिणी भेग प्रकृतिको अनुपम सौन्दर्यले भरिपूर्ण छ । फूलचोकी नजिकै रहेको फुलबारी डाँडासम्मको पद यात्रा नै रमणीय हुने नै छ । यो डाँडामा वर्षेनी भारी हिमपात हुने गर्छ । सुन्दर दृश्य त छँदै छ । धुलो, धुवाँ, निस्सासिँदो काठमाडौं उपत्यकाबाट गाउँतिर लाग्दा मनै फुरुङ अवश्य हुन्छ । हरियो डाँडाकाँडा, पाखापर्वत, भ्यू टावर, नयाँ संरचनाले मन लोभ्याउँदछ । गाउँपालिकाको मुख्य उद्देश्य नै कोन्ज्योसोमलाई पर्यटकीय केन्द्र बनाउने हो । यहाँ रहेको धार्मिक पर्यटन, कृर्षि पर्यटनसँगै प्राकृतिक पर्यटनलगायत गाईभैसीको दुध, अर्गानिक तरकारी, फलफुल आन्तरिक पर्यटनलाई लोभ्याउने साधन बनेका छन् ।

हरेक शुक्रबार, शनिबार, सार्वजनिक विदाका दिन अनि विशेष तिथिहरूमा आन्तरिक र बाह्य पर्यटकहरूले दल्चोकीका होमस्टे भरिभराउ हुन्छन् । यहाँ आउने पर्यटकलाई दुध, कुराउनी, खुवाजस्ता परिकारले स्वागत गर्छ । गाउँले रहनसहन अर्काे थप आकर्षण हो । पर्यटकले कुनै वडामा पनि घरबास र होटल नभएकै कारण बास बस्ने सविधाबाट बन्चित हुनु पर्दैन ।
जनताको आधारभूत आवश्यकता, जनजिविकालाई प्राथमिकतामा राखेको गाउँपालिकाले गरेको सबै फेहरिस्त यहाँ दिन कठिन हुन्छ । तर, मोटोरूपमा राख्दामात्र पनि पालिकाको तस्वीर आउँछ । कृषि, स्वास्थ्य र शिक्षामा गाउँपालिकाले खेलेको भूमिकाले कोन्ज्योसोमलाई अगाडि ल्याउने हर प्रयत्न गरेको छ । गाउँपालिकामा खेती गर्ने जमिन सीमित छ । अधिकांस भिरालो भू–भागमा खेतीपाती हुँदैन । तर मोटर बाटो पुगेकाले यो क्षेत्रका डाँडाकाँडाहरूलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिन्छ ।


यो पनि पढ्नुहोस