Logo

आइतवार, श्रावण २४ गते २०८३

images

लिम्बू, किरात र लिम्बुवान

लिम्बू, किरात र लिम्बुवान

भवानी बराल

७, फाल्गुण २०८०
लिम्बू, किरात र लिम्बुवान
images

किरात र लिम्बूको सम्बन्ध के हो भन्ने प्रसङ्गमा केही लेखकहरूले लिम्बूहरू किरात नै होइनन् भन्ने तर्क सारेपछि अन्योल सिर्जना हुँदै आएको छ । लिम्बूहरू वास्तवमा नामको पछि जात वा थर नलेख्ने वा नझुण्ड्याउने समूहमा पर्दछन् । उनीहरूले लिम्बू लेख्न अगावै ६ पुस्तासम्म राय लेखेको पाइएको छ । यसैताका कतिपय लिम्बूहरूले सेन लेखेको पनि पाइन्छ । यो भन्दा अगाडि केही पुस्तासम्म नामको पछि हाङसमेत जोडेको पाइएको छ । हाङ शब्दको प्रयोग गर्नु भन्दा पहिले नाम मात्र उल्लेख गरिन्थ्यो । जस्तैः यलम्बर, गस्ती, स्थुङ्को आदिलाई उदाहरणको रूपमा लिन सकिन्छ । तत्कालीन समयमा जात वा थर लेख्ने वा भन्ने प्रचलन थिएन । राय थरसमेत उपाधिको रूपमा प्रयोग गरिएको थियोे । यसको अर्थ राजा भन्ने हुन्थ्यो । राय पदवी धारण गर्ने पहिलो व्यक्ति विजयपुर (हालको धरान)का राजा पुङलाइङ हुन् । यिनी कोचवंशी थिए भन्ने विद्वान्हरूको भनाइ छ । इतिहासकार इमानसिं चेम्जोङले भने साक्वादेन थरका लिम्बू भनी लेखेका छन् । उनी आजको तुम्बाहाम्फे, निङ्लेकु, पङ्यागु, सिंगकलगायतका लिम्बूहरूको पुर्खा हुन् । दोस्रो राय पदवी धारण गर्ने व्यक्ति मुरेहाङ हुन् । उनी खेवाहाङहरूको पुर्खा मानिन्छन् । खेवाहाङहरूले पनि ६ पुस्तासम्म राय लेखेपछि लिम्बू लेख्न थालेको पाइन्छ ।

पश्चिम नेपालमा राय पद धारण गर्ने जुम्लाका राजा पुष्प मल्ल हुन् । उनले सन् १३३७ मा राय पदवी धारणा गरेका थिए । विजयपुर राज्यमा सेनहरूको राज्य भएताका अरुणपूर्वका सबै किरातहरूले राय लेख्ने प्रचलन थियो । यो राय उपाधि किरातहरूलाई दिइएको थियो । यो उपाधि किरात लिम्बूहरूले ६ पुस्तासम्म लगातार प्रयोग गरे । काठमाडौं उपत्यकामा ३३ पुस्तासम्म शासन सञ्चालन गर्दा होस् वा काँगडा सतलज उपत्यकादेखि पाटक पताञ्जली एवम् गन्धवी राज्यमा राज्य चलाउँदा होस् उनीहरूले कहिल्यै नामको पछि जात वा थर लेखेनन् । किरातहरू जातिवादी थिएनन् । उनीहरूमा जातीय अहंकार पनि थिएन । हिन्दू अतिवादी राजा पृथ्वीनारयण शाहको हमलाबाट वल्लो तथा माझ किरात हडपेपछि पल्लो किरातमा आँखा लगाए । पल्लो किरात लिम्बूवानसँग कयौंपटक युद्धमा नराम्ररी हार खान पुगेपछि गोर्खा राज्य विस्तारको क्रममा राजा पृथ्वीनारायण शाहले सम्झौता गरे । त्यसपछि पृथ्वीनारायण शाहका अमाल प्रशासकहरूले जात वा थरको खोजी गर्न थाले । यसबाट राई–लिम्बूहरूमा पहिचानको खोजी भयो । यही क्रममा केहीले आफू ‘राय’ लिम्बू भएको बताए । त्यही राय शब्द विशेष गरेर रणबहादुर शाहदेखि यता जारी भएका लालमोहरहरूमा ‘राई’ भनी प्रयोग गरिएको छ । कतिपयले अघि आफ्ना पूर्वजको सम्झना गर्दै याक्थुङहाङ लिलिमहाङको सन्तान भएको बताए । कतिले खाम्सोसोहाङ खम्बुकहाङको सन्तान भएको बताए । यहीँबाट खस पर्वतेहरूले उनीहरूलाई लिम्बू र खम्बू भन्न थाले । यही भनाइलाई हड्सन पाण्डुलिपिमा लिम्बूहरू आपूmलाई याक्थुङवा भन्न रुचाउँछन् तर खस पर्वतेहरूले उनीहरूलाई लिम्बू भन्न थाले भनी लेखेका छन् । त्यसैगरी जे. आर. सुब्बालगायत धेरै इतिहासकारहरूले लिम्बू शब्द सन् १७७४ पछिको गोरखाली भनाइ हो भनी आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । त्यसरी नै काजिमान कन्दङ्वाले सन् १९९० मा सेनहरूको राज्यकालभरि किरातहरूलाई राय भनियो र पछि गोरखालीसँग सम्झौता भएपछि लिम्बू भन्न थालियो भनेका छन् ।

नेपाल खाल्डोबाट किरातहरू विस्थापित भइ याक्थुङहाङ लिलिमहाङ र खाम्सोसोहाङ अलग भएपछि यिनैका सन्तान आजका लिम्बू र राई भएका हुन् । यिनीहरू वास्तवमा एकै सन्तान थिए । राजधानी सार्ने कुरामा मत विभाजन भइ दुई जातिमा विभक्त भएका हुन् । तात्कालीन समयमा राई र लिम्बू नभनिए तापनि कालान्तरमा आएर तिनै समूह राई र लिम्बू जातिको रूपमा चिनिए । दूधकोसीको सिमाना पृथ्वीनारायण शाहले अरुण पश्चिमका सबै भूभाग जिती अरुणपूर्व छिर्न नसकेपछि अरुण सिमानाको रूपमा विकास भएको हो किनकि अरुण पारिका धेरै ठाउँहरूमा लिम्बू सेनाहरूले लडेको प्रमाणहरू फेला परेका छन् । लिम्बूवानको गठन हुँदा ६ थरबाट दूधकोसीसम्म खेवाहाङहरूले शासन गरेको कुरा डा.हर्क गुरुङले ‘मैले देखेको नेपाल’ नामक यात्रा संस्मरणमा उल्लेख गरेका छन् । खेवाहाङहरूले खोटाङमा चाम्लिङचिम्लिङ गढ निर्माण गरेको कुरा इमानसिं चेम्जोङले आफ्नो पुस्तकमा पनि लेखेका छन् ।

लिम्बू जातीय समुदायमा तीन समुदायको सम्मिश्रण छ । ती ३ समूहमा तिब्बती, चिनीया र किरात पर्दछन् । ती ३ समुदाय राई, लिम्बू, गुरुङ, मगर, तामाङ प्रायः सबै जातिमा सम्मिश्रित रूपमा पाइन्छ । अझ नेवार समुदायमा ब्राह्मण क्षेत्रीहरूको समेत मिश्रण छ । जस्तै– उदाहरणको लागि आचार्यले बौद्ध मत ग्रहण गरेपछि बज्राचार्य नामक छुट्टै थरको विकास भएको पाइन्छ । यता तात्कालीन समयमा बस्ती पातलो हुँदा भैयाद (भाइसरह) बनाएर भए पनि राख्ने चलन चलाएका थिए । यसर्थ कुनै पनि जाति शुद्ध रहेको छैन । त्यसरी नै राई जातिमा पनि किरातहरू मात्र रहेका छैनन् । राई जातिमा चीनको खाम प्रान्तबाट आएका समुदाय अरुणको गडतिर हुँदै खम्बुवानमा बसोबास गर्न आइपुगेको पाइएको छ । खाम्सोसोहाङका सन्तान भने बनेपाबाट पूर्व प्रस्थान गरेको पाइएको छ । राई जातिमा तिब्बती र चिनियाहरूको पनि सम्मिश्रण रहेको पाइन्छ । यता याक्थुङहाङ लिलिमहाङ शब्दबाटै पूर्वमा ‘याक्थुङ लाजे’ र पछि राज्यको पुनर्संरचना गर्दा ‘लिम्बुवान’ राज्यको नामाकरण गरिएको हो । त्यसैले लिलिमहाङका सन्तान नै आजका लिम्बू जाति हुन् । याक्थुङहाङ लिलिमहाङ उपत्यकाका अन्तिम किरात राजा योक्नेहाङका छोरा भएको र योक्नेहाङ उपत्यकाका अन्तिम किरात राजा भएकाले पनि किरात र लिम्बूबीच वंशानुगत सम्बन्ध रहेको पाइन्छ । लिम्बू जाति किरात होइन भन्ने भनाइ सत्य छैन । ८ किरात र लिम्बू विद्रोहपछि लिम्बूवान भएको तथ्यले लिम्बू जाति किरात होइनन् भन्नेहरूलाई दिगभ्रमित तुल्याएको हुनसक्छ तर बिर्सनै नहुने कुरा ८ किरात–चिनीया सरदारका सन्तानबीचको विद्रोहपछिका ८ किरातहरू पनि केही लिम्बू भएका छन् । अर्को लिम्बू र लिम्बूवान शब्द किरात राजा याक्थुङहाङ लिलिमहाङ कै नामसँग सम्बन्धित छ । लिम्बू र लिम्बूवान शब्द अरुबाट आयतित होइन ।

करिब दुईसय वर्ष अगाडि इतिहासकार कर्नेल कर्क पेट्रीकले ‘द अकाउण्ट अफ द किङ्डम अफ नेपाल’ नामको आफनो पुस्तकमा नेपालको पूर्वी भागमा लिम्बू जनजातिको बसोबास भएको उल्लेख गरेका छन् । नेपाली शब्दकोशले लिम्बू जातिलाई लिम्बुवानमा बस्ने एक किरात जाति र ‘लिम्बुवान’ दीर्घकालदेखि लिम्बू जातिको स्थायी बसोबास भएको कोसी, मेची अञ्चलको पहाडी क्षेत्र । यस्तो परिभाषा गरेको छ ।

तर अर्का इतिहासकार एच. हड्सनले सन् १८७४ मै आफ्नो पाण्डुलिपि पुस्तकमा लिम्बू र लिम्बुवान शब्दको प्रयोग गरेका थिए । त्यो पुस्तकमा लिम्बूहरूले आफूहरूलाई ‘याक्थुङबा’ भन्ने तर खस पर्वतेहरूले ‘लिम्बू’ भन्ने गरेको उल्लेख गरेका छन् । केही इतिहासकारले लिम्बू जातिलाई धनुर्धारी भन्ने गरेका छन् । ई.पु. ६०० तिर आसामतिरबाट आएका सानमकवानवंशी तीन पुरोहित सहित सात धनुर्धारीहरू प्रवेश गरेर आठ सामन्त किरात हाङ राजाको राज्य (खम्बुवान ?) फेदाप कब्जामा लिइ लिम्बुवान राज्य स्थापना गरेको दावी गरेका छन् । चिनिया भाषासँग सम्बन्धित लिम्बू शब्दको अर्थ धनुर्धारी हुन्छ । धनुकाँडको मद्धतले फेदाप राज्यमा विद्रोह गरी राज्य स्थापना गरेकाले राज्यको नाम लिम्बुवान र लिम्बू जातिको जन्म हुनगयो ।

अर्काथरी इतिहासकारका अनुसार ई.सं ४ मा योक्नेहाङ नामका किरात राजाले नेपाल खाल्डोमा शासन गरिरहेको बेला लिच्छवि वंशका भूमि वर्माले आक्रमण गरी उनलाई पराजित गरे । उनै योक्नेहाङले साँगापूर्व बनेपामा राजधानी सारे । योक्नेहाङपछि लिलिमहाङले राज्यसत्ता सम्हाले । लिच्छवीको बारम्बारको आक्रमणपछि सहोदर भाइ खाम्सोसोहाङलाई राजधानी सार्ने प्रस्ताव राख्दा उनले प्रस्ताव अस्वीकार गरे । त्यसपछि दाजु लिलिमहाङले खाम्सोसोहाङलाई त्यही छोडी कूल ५२ हजार कविलाइ सेना लिइ सुनकोसीको तिरैतिर अरुणपूर्व हाङसेम्मालुङ्, हाङसामोरोङ, झलारा, बेलहारा हुँदै तावालुङ, सुसुवादेन ताक्लृुङमा पुगे । यो स्थान सामरिक महत्वको भएकोले यहीँ राजधानी बनाए । लिम्बुवानको पहिलो ऐतहासिक राजधानी यही थियो । लिलिमहाङ्ले स्थापना गरेको यही राज्य लिम्बुवान भयो र उनका अनुयायीहरू लिम्बू हुन पुगे । स्व. इमानसिं चेम्जोङले पनि आठ किरात राजा र १० चिनिया सरदारको विद्रोह मार्फत् लिम्बू जातिको उदय र लिम्बुवान राज्यको गठन भएको उल्लेख गरेका छन् ।

सातौं शताब्दीमा राजा मावोरोङले दूधकोसी र मेचीबीचको भू–भागमा लिम्बुवान राज्य स्थापना गरे । सन् १३७४ मा राजा साइलाइङको समयमा लिम्बुवान राज्यको सिमाना उत्तर तिब्बत, दक्षिण भारतको जलालगढ (जसको अवशेष अझै छ) १८ औं शताब्दीमा लिम्बुवान पूर्वमा टिष्टा (पश्चिम सिक्किम) उत्तर तिब्बत, दक्षिण भारतको बिहार र पश्चिम अरुण नदीसम्म फैलिएको थियो ।

सन् १७७४ सम्म लिम्बुवान स्वतन्त्र राष्ट्र थियो । गोरखाका राजा पृथ्वीनारायण शाहले पटक–पटक हमला गर्दा पनि नजितेपछि उनले लिम्बुवानका केही थुमे राजालाई षडयन्त्रमूलक ढङ्गले आफ्नो पक्षमा पारे । पृथ्वीनारायण शाहको षडयन्त्र विरुद्ध विजयपुरका राजा बुद्धिकर्ण रायले भने विद्रोह गरे । त्यसको केही समयपछि उनको षडयन्त्रमूलक ढङ्गले गोरखाली सेनाले हत्या ग¥यो । राजा पृथ्वीनारायण शाहले वि.सं १८३१ साउन २२ गते एकतर्फी इस्तिहार लालमोहर जारी गरी लिम्बुवान नेपालमा विलय भएको घोषणा गरे । यो घोषणा पछि ३२ हजार लिम्बूहरू लिम्बुवानको स्थापनाको लागि विदेसिएको कथन छ । इ.सं. १८१६ को सुगौली सन्धिपछि लिम्बुवानको पूर्वी सीमाना टिष्टा (पश्चिम सिक्किम) र दक्षिणको अधिकांश भूभाग गुम्यो । लिम्बुवान तीन फ्याक भइ नेपाल, सिक्किम र दार्जिलिङ (भारत) मा विभाजन भयो ।

 

images
प्रकाशित मिति :फाल्गुण ७, २०८० सोमवार - ०७:१७:२२ बजे

 

भवानी बराल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology