Logo

आइतवार, श्रावण २४ गते २०८३

images

अबको पत्रकारिता

अबको पत्रकारिता

भवानी बराल

९, फाल्गुण २०८०
अबको पत्रकारिता
images

‘अबको पत्रकारिता कस्तो हुनुपर्छ ?’ यो विषय शीर्षकको हल खोज्नु चानचुने कुरा होइन । एउटा बसाइ र एउटा लेखोटले -याङकाठ्याङ यस्तो हुनुपर्छ भन्ने विषय नै होइन । यद्धपि तत्व बोधका लागि एकाध जिज्ञासा उठाउने प्रयत्नसम्म गरिएको छ । 

सूचना प्रविधिको अभूतपूर्व विकासले अबको पत्रकारिताको रूपरेखा नै परिवर्तनको किनारामा पु-याइ दिएको छ । परम्परागत ढङ्गले अबको पत्रकारिताले लक्ष भेदन गर्न सक्तैन । सूचना प्रविधि र पत्रकारिताको गहन सम्बद्धता नै अबको पत्रकारिता हुनेछ । सूचना प्रविधिको विकासले पत्रकारिताको तकनिकी विकासमा महत्वपूर्ण भूमिका खेलेको छ नै । यसका अतिरिक्त सूचना सञ्चार, विषयवस्तुको सञ्चार व्यवस्थापनमा पनि व्यापक फेबदल ल्याउनेछ, ल्याउन थालेको छ । यो तकनिकी विकाससँगै पत्रकारिताको अवधारणा यस्तै हुनुपर्छ भन्ने कुनै ढङ्गको रूपरेखा आउन सकेको छैन । यसैले अबको पत्रकारिताले वैश्विक विमर्स र बहसको माग गर्दछ ।

प्रविधि युगीन पत्रकारिताः

उच्च प्रविधिको युगमा पत्रकारिता कसरी जोगाउने, कसरी विकसित तुल्याउने या अबको पत्रकारिता कस्तो हुनुपर्छ भन्ने विषय विमर्सको निश्कर्ष अहिलेसम्म  आएको छैन । 

टुङ्गोमा पुग्न यस्तो पत्रकारिताको व्यापक चिन्तन, बहस केन्द्रित गर्न सक्नु पर्छ । तबमात्र ‘वादे वादे जायते तत्व वोधः’ हुनेछ । यतिखेर त आउने पत्रकारिताको प्रारम्भिक विषय नै केन्द्रित छ । अभ्यासको हैसियतमा पुगे कै छैन । तरैपनि पत्रकारिताका अध्येयताहरूले विभिन्न फोरममा यो विषयको चर्चा प्रारम्भ गर्दै आएका छन । 

गत वर्ष (सन् २०२३) हिमाल मिडिया मेलामा डिजिटल युगमा पत्रकारिता कसरी जोगाउने विषयमा गम्भीर विमर्स भएको थियो । यहि विषयमा ‘प्लाइस मिडिया, सिङ्गापुर’का सह–संस्थापक रिसद पटेलले विषयमाथी गम्भीरतापूर्वक विचार प्रवाह गरेका थिए । पटेलका अनुसार ‘डिजिटल युगमा पत्रकारिताको शक्ति जोगाउन मिडिया सञ्चालनको रणनीति फेर्नु पर्ने’ धारणा थियो । उनले भनेका थिए, ‘मानिसहरूसंग कुरा गर्नु, उनीहरूको समस्या सुन्नु र समाधान गर्ने सामाग्री पस्कनुले पत्रकारितालाई व्यवसायिक रूपमा जोगाउन सक्छ ।’

नेपाली पत्रकारिताका अध्येताहरूले पनि प्रविधि युगीन पत्रकारिता कसरी गर्ने विषयको बहस प्रारम्भ गर्न सुरु गरेका छन् । पत्रकारिताका अध्येता श्रीराम पौडेलले ‘सुविधाजनक र आरामदायी पत्रकारिता’ (गोरखापत्र, २४ वैशाख २०७९) शीर्षकमा लामै बहस छेडेका छन् । प्रविधिको विकाससँगै पत्रकारिता गर्न सुविधाजनक र आरामदायक भएकोले पाठकले नयाँ सूरुचिपूर्ण खुराक नपाएकोले पाठक, स्रोताको आकर्षण घटेको उनले जिकिर गरेका छन् । 

विषयवस्तु पठनीय र गम्भीर नभएकोले आजको पत्रकारितामा पाठक, स्रोता कमै विचरण गर्न पुगेका छन् ।

प्रविधिको घेराबन्दीमा पत्रकारिताः

संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले सन् २०२३ मे ३ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा ‘प्रविधिको घेराबन्दीमा पत्रकारिता’ (जर्नालिजम अण्डर डिजिटल सिज) ‘थिम’ (नारा) प्रकाशित गरेको थियो । 

विश्व भरीको पत्रकारिता प्रविधिको घेराबन्दीमा परिसकेको यो थिमको अन्तर्य हो । यो थिममा गम्भीर बहस आजपर्यन्त हुन सकेको छैन । 

अबको पत्रकारिताको मार्गचित्र पत्रकारितालाई प्रविधिको घेराबन्दीबाट उम्काउने, बचाउने हुनुपर्छ । प्रविधि साधन हो, साध्य होइन भन्ने मान्यतालाई आत्मसाथ गराउन पर्छ । यसका लागि गम्भीर, पठनीय र संग्रहणीय सामाग्री उत्पादन, प्रकाशन–प्रशारणले मात्र अबको पत्रकारिताको विश्वसनीयतालाई पुनःस्थापित गर्न सक्छ  । 

सिर्जना शक्तिको व्यापक उपयोग गरेर पत्रकारितामा विषयवस्तु प्रस्तुत गर्न सक्नु पर्छ । अन्यथा प्रविधिको घेराबन्दीमा पत्रकारिता पुगिसकेको छ, विष्फोटनको स्थितिमा पुग्यो भने पत्रकारिताको हालत के होला ?   

पत्रकारितामा सिटिजन र सिभिकः

पत्रकारिता शिक्षामा ‘सिटिजन’ (नागरिक) पत्रकारिता र ‘सिभिक’ (नागरिक) पत्रकारिता शब्दावली प्रयोग हुँदै आएको छ । नेपाली भर्नाकुलर भाषामा दुबै पत्रकारिता शब्द अर्थमा एकै लाग्न सक्छ । तर यी दुई शब्दावलीको व्यापक र भिन्न अर्थ हुन्छ । नागरिकले आफुलाई लागेको सूचना, सन्देश, अभिव्यक्ति आफैले प्रकाशन–प्रशारण गर्नुलाइ सिटिजन (नागरिक) पत्रकारिता भनिन्छ । सामाजिक सञ्जाल सिटिजन (नागरिक) पत्रकारिताका साधन हुन । ट्विटर, फेसबुक, टिकटक, युट्युव, वाट्सएप लगायतका सामाजिक सञ्जाल उदाहरण हुन । 

पत्रकारिताको दक्ष जनशक्तिले गर्ने पत्रकारिता सिभिक (नागरिक) पत्रकारिता हो । आम सञ्चारका माध्यम अखबार, रेडियो, टेलिभिजन, अनलाइन पोर्टल यसका माध्यम वा साधन हुन । 

पहिलो सिटिजन पत्रकारिता स्वेच्छिक र व्यक्तिगत हुन्छ । दोस्रो सिभिक पत्रकारिता स्वेच्छिक र ऐच्छिक हुन सक्तैन । दुवै पत्रकारिता नागरिकसंग सम्बन्धित नै हुन्छ । तर पछिल्लो सिभिक पत्रकारिताले सर्वजन हिताय सोच्दछ । 

यसर्थ सिभिक पत्रकारिताले अबको पत्रकारिताको प्रस्थान बिन्दू पहिल्याउन सक्नु पर्छ । तर यतिखेर नागरिक पत्रकारिताको माध्यम सामाजिक सञ्जाल पुरै पत्रकारितामा हावी भएको छ । 

प्रविधिको घेराबन्दीमा पत्रकारिता परेको भनेको यहि हो । यो चुनौतीलाई पार लगाउनु पर्छ । सूचना प्रविधिको तकनिकी उपयोग पत्रकारिता जोगाउन र फस्टाउन गर्नुपर्छ ।

रहलपहलः

सूचना प्रविधिको द्रुत विकासलाई चौथो औधोगिक क्रान्तिको रूपमा पनि लिइन्छ । यो क्रान्ति पछि ब्रम्हाण्डका हरेक क्षेत्र र विधामा प्याराडाइम सिफ्ट (प्रतिमान परिवर्तन) भएको छ । 

दर्शन, राजनीति, सिद्धान्त, वैचारिक सवालहरू परिमार्जन, परिष्किृत गर्ने बेला भएको छ । राजनीतिक क्षेत्रका वैचारिकीमा आएको संकटका कारण यतिखेर ‘डेमागग’ (लोक रिझ्याँइ) प्रवृत्तिको आयतन बढ्दै गएको छ । 

हाम्रै देशको राष्ट्रिय राजनीतिमा पनि यस्ता डेमागगहरूको उपस्थिति भैसकेको छ । यसले गम्भीर राजनैतिक वैचारिकीलाई काकतालीमा पारेर परास्त गर्न सक्छ । यसकारण गम्भीर जनमत निर्माण गर्ने हेतु अबको पत्रकारितामा हुनुपर्छ ।

यसर्थ अबको पत्रकारिता कस्तो हुनुपर्छ भन्ने विषय गम्भीर र विहंगम एवम् विराट छ । कृत्रिम बौद्धिकता (आर्टिफिसियल इण्टलीजेन्स, एआइ) का कारण पनि पत्रकारिताको अबको यात्रा नयाँ तर चुनौतिपूर्ण यात्रा हो । पत्रकारिताको रणनीति, कार्यनीति निर्माण आजको अत्यावश्यक विमर्स हो । 

अबको पत्रकारिता गम्भीर, पठनीय, सूरुचीपूर्ण र संग्रहणीय सामग्री उत्पादन गर्ने हदको हुनुपर्छ । जनरुची, सार्वजनिक सरोकार, विश्वासयोग्य विषय, दिशा निर्देश र तदनुकुल जनमत निर्माण गर्न सक्षम हुनुपर्छ । 

पत्रकारिताको कार्यसूची, मार्गचित्र के हुने खुट्याउन सक्नु पर्छ । लक्षित समूह, पाठक, स्रोता, दर्शकको विचारको बाहक हुनु पर्छ । 

लेकतन्त्रको रक्षा अर्ध–मुर्छित पत्रकारिताले गर्न सक्तैन । अहिले यस्तै भैरहेको छ । डेमागग प्रवृत्तिले लोकतन्त्रको उछित्तो काड्न सफल हुँदै गएको यसै कारणले हो । 

विचार अभिव्यक्तिको स्वतन्त्रता, लोकतन्त्रको पहरेदार पत्रकारिताको मार्ग चित्र कोर्न सक्नु नै अबको पत्रकारिताको मूल बाटो हो ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०८० बुधवार - ०७:००:४० बजे

 

भवानी बराल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology