ललितपुरको लगनखेल बसपार्कबाट आठ किलोमिटर दूरीमा गोदावरी–११ चापागाउँमा बज्रवाराही मन्दिर छ । यही मन्दिर रहेको क्षेत्र चापागाउँ लिच्छविकालीन बस्ती मानिन्छ । ‘चम्पापुर’ नामबाट पनि प्रसिद्ध यो वस्ती अझै अस्तित्वमा रहेको यहाँका मठ–मन्दिरबाटै प्रस्ट हुन्छ । ऐतिहासिक महत्व बोकेका यी सम्पदासँग स्थानीय रहनसहन, कला, संस्कृति र परम्पराको प्रत्यक्ष सम्बन्ध छ ।
उपत्यकामा चारवटा वाराही मन्दिरहरू छन् । उत्तरमा स्वेतवाराही, पूर्वमा नीलवाराही, पश्चिममा धूमवाराही, दक्षिणमा बज्रवाराही । चार वाराहीमध्ये बज्रबराही सबैभन्दा प्रख्यात वाराही मन्दिर हो । यो मन्दिरको पूर्वमा झरुवारासी, बडिखेल पश्चिममा छम्पी, उत्तरमा धापाखेल र दक्षिणमा लेले छ । बज्रवाराही चैं एक हजार पाँचसय मिटर उचाइमा छ । करिब २० हेक्टरमा फैलिएको यो मन्दिर जङ्गल भित्र छ ।
बज्रवाराहीको सम्बन्धमा वाराही शब्द ‘बराहको स्त्री लिङ्गी रूप हो । यहाँ पूजा गर्नाले जीवनमा आइपर्ने बिघ्न, बाधा, भय हट्ने र सिद्धि प्राप्त हुने विश्वास गरिन्छ । बज्रवाराहीको मन्दिर पनि शक्तिपीठकै रूपमा प्रख्यात छ । तान्त्रिक विधिबाट गुभाजुहरूबाट नित्य पूजा गरिने यस मन्दिरमा अष्टमातृकासहित बज्रवाराहीको शिलाको मूर्ति छ ।
यसरी बन्यो बज्रबाराही
यो मन्दिरको स्थापना पाटनका राजा श्रीनिवास मल्लले ने.सं.७८६ साल चैत्र शुक्ल ८ सोमबारको दिन गरे । श्रीमाई बज्रबाराहीदेवीको पगोडा शैलीको मन्दिर निर्माण गर्न लगाएको इतिहासमा पाइन्छ । ने.सं. ८५२ मा विष्णु मल्लबाट उक्त मन्दिरको मर्मत गराइएको थियो । यिनै राजाले शिलाको महिष मूर्ति बनाई मन्दिरको ठिक अगाडि पारी ने.सं.८३२ मा स्थापना गरेको कुरा शिलालेखमा उल्लेख गरिएको छ । पाटनका योग नरेन्द्र मल्ल बज्रबाराहीको भक्त भएकोले यिनले त्यहाँ विभिन्न देव–देवीका मूर्ति प्रतिस्थापन गर्न लगाएका थिए । बज्रबाराही मन्दिर वरिपरिको संरचनाको मर्मत सुधार तत्कालीन राजा महेन्द्रले वि.सं. २०१५ फागुनमा इतिहासमा पढ्न पाइन्छ ।
बन्न सक्छ पर्यटकीय हव
आन्तरिक तथा बाह्य पर्यटनको लागि आकर्षणको बिन्दु रहेको यो ठाउँ उपत्यकामा एक पटक पुग्नै पर्ने ठाउँमध्येको एक हो । सार्वजनिक विदाको दिन रमाइलोसँग बित्ने यो मन्दिर छेउछाउ खानपानको राम्रो सुविधा भएका खाजाघरहरू पनि छन् । ललितपुर नेवारी खाजाका लागि प्रख्यात छ । यो ठाउँ पुगेपछि पारम्परिक नेवारी स्वादमा रमाउन सकिन्छ । यहाँ सुविधा सम्पन्न आकर्षक वनभोजस्थल पनि छ ।

प्राकृतिक सौन्दर्यले भरिएको यो ठाउँको ऐतिहासिक महत्व पनि त्यत्तिकै छ । प्राकृतिक, धार्मिक तथा ऐतिहासिक खोज गर्ने पर्यटकहरू पुग्नै पर्ने यो ठाउँमा विभिन्न ४८ किसिमका चराचुरुङ्गी र करिब १६६ किसिमका वनस्पति पाइन्छन् । बज्रबाराही जङ्गलमा विभिन्न जडिबुटी तथा वनस्पतिसमेत पाइन्छन् । यहाँ नेपालमै मात्र पाइने विश्वमै दुर्लभ मानिएको काँडेभ्याकुर चरा पनि पाइन्छ ।
रोचक र अनौठो किंवदन्ती
भक्तपुरका राजा नरेन्द्रदेव युद्धको समापन पछि चापागाउँ हुँदै घर फर्कंदा निकै रात परेछ । उनले बाटोमा पर्ने देवीको घरमा बास माग्न सिपाहीलाई पठाए छन् । तर, सिपाही डराएर राजा भएका ठाउँमा फर्किंदै ‘शिरदेखि पाउसम्म सेतो कपडाले छोपिएको डरलाग्दो आकृतिमा सुतिरहेको छ, सरकार’ भनी सिपाहीले राजालाई सुनाएपछि राजा आफैं हेर्न भनी गएछन् ।
राजाले पनि पूरै शरीर सेतो कपडाले छोपेर सुतिरहेको देखेपछि उघारेर हेर्दा बज्रबाराही माताको प्रत्यक्ष दर्शन पाएछन् । देवीले दर्शन दिएपछि ‘मेरो यस्तै मूर्ति बनाएर चैत्र पूर्णिमाको दिन जात्रा चलाउनू’ भनी अलप भएपछि त्यसै अनुसार मूर्ति र खट बनाएर जात्रा चलाइँदै आएको किंवदन्ती पाइन्छ ।
जङ्गल बीचमा रहेको मन्दिरमा गजुर छैन । मन्दिर एकै रातमा बनाइएको हुनाले गजुर नराखिएको बताइन्छ । दुई तल्ले प्यागोडा शैलीमा निर्मित छ । किवदन्ती अनुसार बज्रबाराही भएको ठाउँमा पहिला आहाल थियो । एक दिन एउटा राँगो अकस्मात आएर आहालमा बस्यो । त्यही राँगोले देवीको रूप लिए पछि आहाल पुरेर मन्दिर बनाइको जनविश्वास छ । मन्दिर बनाउँदा–बनाउँदै बिहान भएर भाले बासेपछि गजुर हाल्न नभ्याइको भन्ने कथन छ । अर्को कथन अनुसार मन्दिर निर्माणको शुरुआत चापागाउँबाट काठ लगी भोलिपल्ट टँुडाल र झ्याल बनाई गरिएको हो । मन्दिर निर्माण पूर्ण भएपछि पाटनमा बनाएको गजुर स्थापना गर्ने क्रममा त्यहाँ कार्यरत एक कर्माचार्यलाई राति सपना भएछ । ‘गजुर राख्ने साइतमा चापागाउँको बुलुगाउँमा मरेको मानिस मन्दिर अगाडिको चितामा जलाउन ल्याएको बेला पारेर मात्र मन्दिरमा गजुर राख्नु अन्यथा जबर्जस्ती कसैले गजुर राखेमा राख्ने मानिसको टाउको फुटी मर्नेछ ।’ यस्तो सपना भएपछि सोही कुरा गाउँका बुद्धिजीवीलाई कर्माचार्यले जानकारी गराएछन् । तत्पश्चात् बनाई ल्याएको गजुर कसैले पनि राख्ने हिम्मत नगरी फर्काइ लगेको बूढापाकाहरूको भनाइ छ । बज्रबाराही देवीको शक्तिका कारण दिनभर मन्दिर परिसरबाट बाहिर उडेर गएका पात साँझ परेपछि मन्दिरतर्फ हावाले उडाएर ल्याउने र मन्दिरको काठदाउरा काटेर घरायसी प्रयोजनमा प्रयोग गर्न नहुने स्थानीय बताउँछन् ।
यस्तो छ मन्दिरको किंवदन्ती र धार्मिक मान्यता
बज्रबाराहीका जानकार डा. माधब अधिकारीका अनुसार काठमाडौं उपत्यकामा बाराही देवीस्थलहरू चारवटा छन् । उत्तरमा श्वेत–बाराही, पूर्वमा नीलबाराही, पश्चिममा धूमबाराही र दक्षिणमा बज्रबाराही । यस लेखमा बज्रबाराहीको संक्षेपमा चर्चा गर्ने प्रयास गरिन्छ । बज्रबाराहीलाई बज्रयानी देवता हेरुकचक्रसंवरकी स्त्री शक्ति मानिन्छ । बज्रबाराही देवीको पवित्र थलो नेपाली ललितकलाले धपक्क सिँगारीएको ललितपुर जिल्लाअन्तर्गत चापागाउँ वा वा–देः भनिँदै आएको पूर्वलिच्छवीकालीन प्राचीन बस्ती चम्पापुरको पूर्व किनारस्थित उपवनभित्र अवस्थित छ । यो थलो देवस्थल हुनाको साथै धेरै कारणले पनि आकर्षण र लोकप्रिय छ । ‘सुन्दर निकुञ्ज, शीतल छहारी, जैविक विविधताले भरिपूर्ण, सुमधुर चराको स्वर, मनोरम हराभरा दृश्यवली, स्वस्थ पर्यावरण, शान्त वातावरण, विचित्र प्राकृतिक छटा आदिले यस थलोलाई उपत्यकाभरि भनेजसो बेजोड, विशिष्ट र विलक्षण बनाएको छ,’ उहाँ भन्नुहुन्छ, ‘सुन्दर उपवनभित्र अवस्थित मन्दिर, मूर्ति, चित्र आदिले झकमक्क भएको यो देवस्थल अनुपम प्राकृतिक सम्पदा र उच्च मानवकृतिको संगतिपूर्ण संयोग पनि हो । त्यसैले देवीको पूजा गर्न आउने श्रद्धालु भक्तजन, पिकनिक मनाउन आउने युवायुवती, के संयोगवस आइपुग्ने बटुवा सबैलाई यो थलामा पाइला हाल्ने बित्तिकै यसको मनमोहताले प्रकृतिसँग आत्मसात् भएको भावनाले केही घण्टाको लागि भए पनि मन्त्रमुग्ध बनाउँछ ।’
उहाँको भनाईमा श्रद्धा र भक्तिको स्रोत देवदेवीहरूको सान्निध्य मन्दिरको कलात्मक भव्यता, जरुवा पानीको पर्याप्तता, आकस्मिक आवश्यकताको परिपूर्ति गर्न सक्षम बस्तीको सामिप्य आदिको कारणले यो ठाउँ धार्मिक पर्यटनमा अग्र स्थलमा पर्दछ । बज्रबाराही देवीको पूजा गर्नाले जीवनमा आइपर्ने विघ्नबाधा आदि हट्छ र विधिवत् साधना गर्नसके सिद्धि प्राप्त हुने किंवदन्ती छ । बज्रबाराही देवीको मन्दिरमा प्रायः सबै दिन दर्शनको लागि भिडभाड हुने गर्दछ । विशेषगरी यहाँ दुईवटा जात्रा हुन्छ ः कार्तिकमा हुने जात्रा र चैतमा हुने जात्रा । यस देवीका कयौँ विशेषताहरू छन् । सोमध्ये केही उल्लेख गरिन्छ । यो जङगलमा अर्काे विशेषता दिउँसो जङ्गलका रुख बिरुवाहरूको पात पतिङ्गर बाहिर उडाएर लगे पनि साँझ परेपछि ती सम्पूर्ण पात पतिङ्गर जङ्गलभित्रै आउँछन् भन्ने कुराले प्रसिद्धि पाएको छ । विश्वकै दुर्लभ चरा काँढे भ्याकुर, दुर्लभ खालको नाग जातिजस्ता जीवको बासस्थानले प्रसिद्धि कमाएको छ ।
मन्दिरबाट केके भइरहेको छ फाइदा ?
मन्दिरका मुल पुजारी बासुदेव कर्माचार्यका अनुसार बज्रवाराही मन्दिरको संरक्षण चम्पापुर सम्पदा संरक्षण समितिले गर्दै आइरहेको छ । शुरुमा यहाँ पोखरी थियो भन्ने गरिन्छ । बज्रवाराहीको मन्दिर पनि शक्तिपीठकै रूपमा प्रख्यात छ । ‘तान्त्रिक विधिबाट गुभाजुहरूबाट नित्य पूजा गर्ने गर्छौं । विहान पूजा र साँझ आरती गर्छौं,’उहाँले भन्नुभयो, ‘नित्य पूजा तथा आरती गर्ने पूजारीलाई मासिक रूपमा २० हजार दिने गरेका छौं, ‘हामीले नित्य कर्म गर्न गाह्रो भएर श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ लगाएर पैसा जम्मा ग¥यौं ।’ उहाँका अनुसार त्यसबाट ८ लाख ८० हजार बचत भयो । हामीले भक्तजानबाट १ हजार १५० रुपैयाँ लिएर नित्य कर्म गरिदिने चलन छ । बज्रवाराहीको पूजा कर्माचार्यहरूले गर्ने चलन छ । बज्रवाराही देवीको मन्दिर लगभग २० हेक्टर जमिनको बीचमा छ ।
अर्काे विशेषता स्थानीय जनाताका घरपालुवा पन्छी र जन्तुहरू यस वनमा चर्न गए पनि जङ्गलभित्रका हिंस्रक जनावरहरूबाट मार्ने र खाने गरेको पाइँदैन भन्ने किंवदन्ती छ ।
नगरपालिकाको प्राथमिकतामा
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन मन्दिरको सुधारको लागि यो वर्ष १६ लाख रुपैयाँको अक्षय कोषको स्थापना गर्ने बताउनुहुन्छ । त्यसको लागि नगरपालिकाले बजेट विनियोजन गरिसकेको उहाँको भनाई छ । ‘सो अक्षय कोषबाट नियमति नित्य पूजा गर्न प्रयोग गरिनेछ । मन्दिरको भौतिक पूर्वाधार विकासको लागि यो वर्ष २० लाख बजेट विनियोजन गरिएको छ । यसभन्दा अगाडि डेढ करोड रकम विनियोजन गरेर कम्पाउड वाल लगाइएको छ,’ उहाँले भन्नुभयो, ‘गोदावरी नगरपालिकाको मात्र नभएर चापागाउँबासीको लागि बज्रबाराही मन्दिर आस्थाको केन्द्र हो ।’
बज्रबाराहीलाई पयर्टकीय आकर्षणको केन्द्र बनाउँछौं
गजेन्द्र महर्जन, प्रमुख, गोदावरी नगरपालिका

मन्दिरको सुधारको लागि यो वर्ष १६ लाख रुपैयाँको अक्षय कोषको स्थापना गर्दछौं, जसको लागि नगरपालिकाले बजेट विनियोजन गरिसकेको छ । सो अक्षय कोषबाट नियमति नित्य पूजा गर्न प्रयोग गरिनेछ । मन्दिरको भौतिक पूर्वाधार विकासको लागि यस वर्ष २० लाख बजेट विनियोजन गरिएको छ । योभन्दा अगाडि डेढ करोड रकम विनियोजन गरेर कम्पाउण्ड वाल लगाइएको छ । गोदावरी नगरपालिकाको मात्र नभएर चापागाउँबासीको लागि बज्रबाराही मन्दिर आस्थाको केन्द्र हो । मन्दिर भित्र दुर्लभ मानिएको काँडे भ्याकुर पनि पाइन्छ । यो मन्दिर भगवानको दर्शन गर्ने ठाउँ मात्र नभएर पिकनिक स्पट पनि हो । बज्रबाराही मन्दिरको भौतिक विकासको लागि आगामी वर्षमा पनि नगरपालिकाले बजेट विनियोजन गर्नेछ । यो एउटा पर्यटकीय आकषर्णको केन्द्र बन्न सक्छ यसलाई त्यही अनुसार विकास गर्ने हाम्रो योजना छ ।
बज्रबाराही मन्दिर शक्तिपीठको रूपमा प्रख्यात छ
बासुदेव कर्मचार्य, मूल पुजारी

बज्रवाराही मन्दिरको संरक्षण चम्पापुर सम्पदा संरक्षण समितिले गर्दै आइरहेको छ । शुरुमा यहाँ पोखरी थियो भन्ने गरिन्छ । बज्रवाराहीको मन्दिर पनि शक्तिपीठकै रूपमा प्रख्यात छ । तान्त्रिक विधिबाट गुभाजुहरूबाट नित्य पूजा गर्ने गर्छौं । विहान पूजा र साँझ आरती गर्छौं । नित्य पूजा तथा आरती गर्ने पूजारीलाई मासिक रूपमा २० हजार दिने गरेका छौं । हामीले नित्य कर्म गर्न गाह्रो भएर श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ लगाएर पैसा जम्मा ग¥यौं । त्यसबाट ८ लाख ८० हजार बचत भयो । हामीले भक्तजानबाट १ हजार १५० रुपैयाँ लिएर नित्य कर्म गरिदिन्छौ । भक्तजनको जन्मोत्सव वा अन्य कुनै भाकल गर्नु भएको रहेछ भने सोही अनुसार नित्य कर्म गरिदिन्छौं । यहाँ पूजा गर्नाले जीवनमा आइपर्ने बिघ्न, बाधा, भय हट्ने र सिद्धि प्राप्त हुने विश्वास रहि आएको छ । यो वर्ष हामीले ८ जनाको नित्य कर्म गरिदिऔं । यहाँ चैत महिनाको पूर्णिमामा ३ दिन मरासी जात्रा लाग्छ । त्यस्तै कार्तिकको अष्टमी, नवमी र दशमीमा पनि ३ दिन जात्रा लाग्दछ । केही मानिसले यहाँ लाग्ने जात्रालाई रोक्ने प्रयास गरिरहेका छन् । परापूर्वकालदेखि चलीआएको जात्रा निरन्तर रूपमा हुनु पर्दछ । कतैबाट सहयोग नआएपनि नित्य कर्म जारी राख्छौं । बज्रवाराहीको पूजा कर्माचार्यहरूले गर्ने गरिन्छ । बज्रवाराही देवीको मन्दिर लगभग २० हेक्टर जमिनको बीचमा छ ।