Logo

आइतवार, श्रावण २४ गते २०८३

images

डाक्टर जगदीशलाई पढ्दा

डाक्टर जगदीशलाई पढ्दा

भवानी बराल

१३, बैशाख २०८१
डाक्टर जगदीशलाई पढ्दा
images

कुनै नश्ल, बंश, वर्ग, लिङ्ग विशेष सामुदायिक जीवनको अध्ययन गर्न सहज हुन्छ । तर कुनै व्यक्ति विशेषको जीवन पढ्न थालिन्छ, त्यहाँ ठूलै सकस हुन्छ । पढिदै गरिएको मानिसंग आफुलाई तुलना गर्न थालिन्छ । उसको जीवन अनुकरण गर्ने, इष्र्या जाग्ने, प्रेरणा, प्रभाव पर्ने सबथोक हुन थाल्दछ । आफुभन्दा उ अब्बल कसरी भयो प्रश्न आउँछ । उ प्रति सकारात्मक/नकारात्मक भाव पैदा हुन्छ । यता अन्तरमनले ‘तारेमाम’ पनि गर्छ ।

सबैभन्दा कठीन काम आफुले आफैलाइ पढ्नु हो । जुन दिन आफुले आफैलाइ पढिन्छ जीवनको सार थाहा हुन्छ । जीवनलाइ फर्केर हेर्नु आफैलाइ पढ्नु हो । यस्तो काम कमैले गर्छन । गरिहाले पनि जीवनका नकारात्मक र असफलताको कैरन गर्दैनन । त्यस्तो आत्मवृत्तान्त वा जीवनी कुनै तिलस्मी, जासुसी उपन्यास वा दन्त्य कथा जस्तो लाग्छ । त्यस्तो आलेखले प्रभाव पार्ने मात्र हैन, कुनै शन्देस पनि दिदैन ।

तर म यहाँ अलग पात्रलाइ पढ्न खोज्दैछु । म नियमित पाठक वा समीक्षक होइन । नियमानुसार पढ्ने बानी पनि छै्रन । एक दिनको कुरा हो, पत्रकार भाई सूर्य सुवेदीसंग एकजना विरामीलाई भेट्न ‘विएण्डवी’ अस्पताल पुगेका थियांै । भाइले त्यहीँका एकजना कर्मचारीसंग चिनापर्ची गराए । सुवेदी भाई कै आग्रहमा ति कर्मचारीले ‘जगदीशका पाइलाहरू’ नामको मोटो पुस्तक मलाइ थमाए । यो डेढ दुइ साल अघिको कुरो हो । मैले पुस्तक लिएँ । तर पातो पल्टाएर दराजमा थन्क्याइ दिएँ । सुवेदी भाइले समिक्षा गरिदिन तारन्तार अनुरोध गरे । तर मैले टेरपुच्छर लगाइन । आजित भएर हुनसक्छ त्यसपछि उनको अनुरोध आउन छोडि सकेको थियो ।

यसैपनि पुस्तकको समीक्षा गर्नु झन्जटिलो काम हो । यसमाथि व्यक्तिको वृत्तान्त कहनु अरु दिक्दारिलो काम हो । एक दिनको कुरा हो दराजबाट नपढेको पुस्तक नियाल्दै थिएँ । अनायस यो पुस्तकमा आँखा गयो । र, मैले मनयोगका साथ यसका बाह्रखरीहरू पढेँ । सरसर्ती पढिसके पछि यसमाथि केही लेख्नै पर्छ भन्ने कर्तव्यबोध भयो । फलस्वरुप यी हरफहरू डा. जगदीशलाल वैद्यलाइ समर्पित गर्छु ।

लेखन धाराः
लेखनका दुई धारा हुन्छन् । एउटा अतित अर्थात भूत लेखन, अर्को सिर्जनात्मक लेखन । भूत लेखन सिर्जनात्मक हुन्न भन्ने चैं होइन । तर अक्सर भूत लेखन बढी काल्पनिक हुन्छ । कतिपय सन्दर्भमा असान्दर्भिक पनि भैसकेको हुन्छ । भएकै घटना लेखिएको भएपनि त्यसलाइ पत्याउने आधार खुम्चिसकेको हुन्छ । सिर्जनात्मक लेखन चैं वर्तमान अवस्थालाई भविष्य देखाउने मार्ग हो । यी दुवै लेखनको तारतुम्मे डा. वैद्यको पुस्तकमा समायोजन छ । यहि भएर पढ्ने र लेख्ने तारसुर जु¥यो ।

कालो रातदेखि कोभिडसम्मः
डा. वैद्यले ‘त्यो कालो रात’ शीर्षकको लेखोटदेखि ‘कोभिडसंग मेरो जम्काभेट’ सम्म ४० वटा शीर्षकमा लिखितम गरेर ३०२ पातो खर्चेका छन् । ‘सोचे झै जीन्दगी रैनछ’ गीतको मुखडाबाट सुरु गरिएको उनको लेखनीको यो शीर्षकले पुस्तकलाई बोकेको छ । सुरक्षित ठानिएको राजधानीमा लुटेराहरूले करोडौं मूल्य बराबरको धनमाल लुटेको घटना यसमा विस्तारपूर्वक वर्णन गरिएको छ । वैद्य पुत्रलाई अपहरण गरिएको घटना थियो । लेखक वैद्यलाई यो घटनाले ठूलो प्रभाव पारेको देखिन्छ । यसैले पुस्तकको कभरको बाहिरी भागमा पनि प्राथमिकताको साथ घटनाको सार छापिएको छ ।

त्यसैबखत डा. उपेन्द्र देवकोटा पुत्री पनि अपहरणमा परेकी थिइन । र, देवकोटाले एक करोड ३० लाख लुटेरलाई बुझाएर छोरी छुटाएका थिए । सामान्य, शान्त जीवनमा अभ्यासरत रहनु पर्ने चिकित्सकमाथि भएको यो घटना दुर्भाग्यपूर्ण थियो । यसैकारण वैद्यमा यो घटनाले नराम्रो प्रभाव छाडेको थियो ।

यता उनले सुरुवात लेखनको पेटबोलीमा राखेको गीतको मुखडा भने हल्काफुल्का लाग्यो । यसको विकल्पमा दिनेश अधिकारीले लेखेको ‘सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन...’ मुखडाबाट लेखन सुरुवात गरेको भए लेखको भार बहन र लेखन अझ गहन हुने थियो । आगामी संस्करणमा सुधार गरे बेश हुनेछ ।

सङ्घर्षपूर्ण जीवनः
डा. वैद्यले नदीपुर हाइस्कूल पोखराबाट माध्यमिक तहको प्रारम्भिक शिक्षा पुरा गरे । अहिलेको भाकामा त्यस्ता स्कूल, धुले, छाप्रे, सरकारी, सामुदायिक स्कूलको नामले चिनिन्छ । आजभोली यस्ता स्कूलबाट उत्पादित विद्यार्थी डाक्टर, इन्जिनियर, वैज्ञानिक बन्छन भन्ने कल्पनासम्म गर्न सकिन्न । यस्ता स्कूलहरू गरीब, निमुखा, नोकरचाकर, हली गोठालाका सन्तान पढ्ने संस्थाको रुपमा चिनिन्छ । वैद्यले यस्तै स्कूलबाट माध्यमिक शिक्षा पुरा गरेर त्रिवि अन्तरगतका कलेजहरूबाट विज्ञान विषय पढे । छात्रवृत्तिमा गभर्मेण्ट मेडिकल कलेज अमृत शहर पञ्जाबबाट चिकित्सा विज्ञानमा स्नातक तहको पढाइ पुरा गरे । र, बेलायतबाट चिकित्सा विज्ञानमै उच्च शिक्षा प्राप्त गरे । उनको शैक्षिक जीवनको संघर्ष भने उतारचढावले भरिएको चानचुने थिएन । अभावग्रस्त जीवनले उनलाइ संघर्षमा होम्यो, संघर्षमा खरो उत्रेकोले उनले सफलता प्राप्त गरे ।

यसपछि सुरु भयो उनको पेशागत जीवनचर्या । युनाइटेड मिसन टु नेपालले स्थापना गरेको शान्त भवन (अस्पताल), निजी क्लिनिक, पाटन अस्पताल, काठमाण्डु नर्सिङ होम हुँदै विएण्डवी अस्पतालको स्थापनासम्म आइपुग्दा चिकित्सा विज्ञानको क्षेत्रमा महत्वाकांक्षी सपना पुरा गरे । हुनतः भारतबाट स्नातक गरेपछि पनि उनले अस्पतालमा सेवा गरेकै थिए । तर, सन् १९८२ मा बेलायतबाट उच्च शिक्षा प्राप्त गरि आएपछि यो क्षेत्रमा नेतृत्व गर्न पुगेका हुन । यहाँसम्म आइपुग्दा वैद्यले भुक्तान गरेको जीवनको लामै फेहरिस्त हुन्छ ।

बाह्र सन्तानः दर्जनौ नातीनातिनाः
बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काँधै माथि भन्ने प्रचलित उखान हो । अविभावकले आफ्नो सन्तानको लालनपालन, शिक्षा दीक्षाको बन्दोबस्त बुढो शरीर घोटेर गर्नु पर्ने आम मान्यता छ । यस्तो हुँदै पनि आएको छ । तर, माणिकलाल वैद्य र सिन्धुकुमारी वैद्यका एक दर्जन सन्तानले बुढाबुढी दुवैको काँध फेरिदिए । वैद्य दम्पत्तिका सातभाई छोरा र पाँचबैनी छोरी आआफ्नो पेशा व्यवसायमा जमेको जिवित छँदै देख्न पाए । माइला छोरा डा. वैद्य सफलमात्र हैन सामाजिक प्रतिष्ठासहीत प्रशिद्ध भए ।

तातोपिरो माओवादीलाइ आठे जवाफः
डा. वैद्यको ‘जगदीशका पाइलाहरूमा’ घत लाग्ने कुरा पुस्तकको पातो ५८–५९ लेखिएको छ । भर्खरै शान्ति प्रक्रियामा आएका जनयुद्धको रापतापबाट सेलाइ नसकेका तातापीरा, रातापीरा माओवादी नेतालाई वैद्यले दिएको ओठे जवाफ गज्जब थियो । मेरो घैंटामा पनि घाम लगायो । माओवादी नेताहरू प्रचण्ड र डा. बाबुराम भट्टराईलाई वैद्यले दिएको जवाफ पुस्तकका मूल्यवान हरफ हुन । मैले दोहो¥याइ तेह¥याँइ पढेँ । जतिपटक पढेँ त्यतिनै पटक मजा लिएँ । ती हरफ पढेर पुलकित भएँ । यी हरफहरू वैद्यले कहँदा तिनका नाकमा त्यसबखत किन हरक चलेन ? त्यो चैं उदेकलाग्दो नै छ ।

हुनतः म आफै कम्युनिस्ट दर्शन, विचारबाट प्रभावित विद्यार्थी हुँ । मेरो जीवनका नौनी वर्षहरू यसै आन्दोलनमा बिते । माओवादी आन्दोलनमा कुनै न कुनै रुपमा जोडिएको थिएँ, अझै छु । आफुलाई रातो कम्युनिस्ट अर्थात अघोरी कम्युनिस्ट नै ठान्छु । यद्दपी तत्कालका राता कम्युनिस्टद्वयलाई वैद्यले दिएको जवाफ मनमा गड्यो । त्यो पातोमा लेखिएको छ, ‘म कहिल्यै कम्युनिस्ट थिइन र आजपनि होइन । अनि म भोली पनि कम्युनिस्ट हुन्न । म कुनै पार्टीमा लागेको मान्छे पनि होइन । तर मैले घाइते भएर आएका कैयौं माओवादीको औषधि उपचार गरेको छु । माओवादीसंग मेरो ३० लाख लिनै बाँकी छ । टाउकोमा रातो फित्ता बाँध्दैमा वा हँसिया–हथौडा अंकित झण्डा बोक्दैमा मान्छे माओवादी हुँदैन, सोसलिस्ट हुँदैन । सोसलिस्ट आफ्नो काम गराइबाट हुन्छ ।’

वैद्यका अनुसार भेटाघाटामा संगै गएका अन्य डाक्टरहरूले कुनै न कुनै रुप रंगको, पारिवारिक पृष्ठभूमा गर्भे कम्युनिस्ट रहेको चाप्लुसीयुक्त परिचय दिए । डा. वैद्यले हिम्मतसाथ अन्तरआत्माले बोले । उनले बोलेको कुरा समयक्रममा पुस्टी पनि हुँदै गएको छ ।

अन्तरवार्ताबाट चम्किएः
डा. वैद्यले आफ्नो पेशागत प्रचार सञ्चार माध्यमलाई अन्तरवार्ता दिएपछि चम्किएको बताएका छन् । तर, यति नै कुरामात्र काफी नहुन सक्छ । कुपण्डोलमा निजी क्लिनिक खोलेको पहिलो दिन रगत चुहाउँदै आएका पाइल्सका विरामीलाई निको पारेको घटनाले बढी प्रभाव पारेको हुनसक्छ । तीनै विरामीले विभिन्न स्थानका मानिसहरूलाई प्रचार गरेकोले सेवाग्राही बढेको उनैले स्विकार गरेका छन् । यद्दपी उनले प्रधान थरका राससका पत्रकारले अन्तरवार्ता गोरखापत्रमा प्रकाशित गरेपछि चर्चा चुलिएको दावी गरेका छन् । जेहोस कुपण्डोलमा खोलेको क्लिनिक नै उनको व्यवसायिक जीवनको माइलखुट्टी थियो । तर, डा वैद्यले अन्तरवार्ता गर्ने पत्रकारको नाम उल्लेख नगरेकोले यो पाठ पढ्दा पाठकलाइ अलिक अलिनो लागेको हुनुपर्छ ।

धनीको पैसाः गरीबलाइ उपचार
पत्रकारिताको सिद्धान्त आवाजविहीनहरूको आवाज हो । यस्तै हरेक पेशा, व्यवसायका आफ्ना सिद्धान्त, नैतिक मूल्य मान्यता र संहीता हुन्छ । चिकित्सकको सिद्धान्त नैतिक मूल्य मान्यता र संहीता विरामीको उपचार गर्नु हो । धनी, गरीब, बंश, लिङ्ग, शत्रु, मित्रुको उपचारमा कुनै भेदभाव नराख्नु चिकित्सकको धर्म हो । पत्रकार र चिकित्सकले पीडामा परेकाको उपचार गर्ने हो ।

यद्दपी चिकित्सकले गर्ने उपचारमा आर्थिक व्यवस्थापनको पक्ष जोडिएको हुन्छ । यस्तोमा डा. वैद्यको सिद्धान्त आकर्षित हुन्छ । उनले भनेकै छन्, ‘मैले धनीसंग पैसा लिएर गरीबको उपचारमा खर्च गरेको छु ।’ (पातो २८०) राज्यले पनि यहि सिद्धान्त अबलम्बन गरे स्वास्थ्य सेवा न्यायपूर्ण हुनेछ ।

उपचारका अनेक किस्सा :
डा. वैद्यले उपचार गर्दाका अनेकान किस्सा पनि लिखितम गरेका छन् । तर, सतर्कतापूर्ण गोपनियताको सम्मान पनि गरेका छन् । रोगीको सम्मान गर्दागर्दै केही दरबारियाको असाध्य गोप्य रोगको खुलासा गर्न खोजेका छन् । वैद्य लेख्छन, ‘हामीले तीनजना यस्ता मानिसको अप्रेशन ग¥यौं, जो दरबार निकट थिए । निकटतममात्र होइन, तिनलाई दरबारीया भन्दा हुन्छ– दरबारका नातागोता । तिनको नाम नलिउँ होला ठूलाबडालाई लोको रोगबारे पनि किन चर्चा गर्नु । ति विरामीलाई हेर्न तत्कालीन राजा रानी दुई तीन पटक आए ।’ (पातो २२०)

यसका अतिरिक्त पनि वैद्यको पुस्तकमा उपचारका थुप्रै कथानक पढ्न पाइन्छ । जसले नयाँ नौतुन चिकित्सकलाई शिक्षा, अनुभव, ज्ञान र उर्जा सबै प्राप्त हुन्छ ।

ब्रेन ड्रेन र बिहारीलालहरूः
डा. वैद्यले बेलायत पढ्न गएको बखत नेपालीमूलका चिकित्सकको प्रसङ्ग उधिनेका छन् । यसमध्ये डा. बिहारीलाल श्रेष्ठको खुब चर्चा गरेका छन् । बिहारीलालको सहयोगबाट नै अध्ययन पुरा गर्न हरतरहको सहयोग पाएको मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनको शैक्षिक यात्राको भरोसाका केन्द्र बिहारीलाल नै थिए । डा. विहारीसंगै डा. महोश खकुरेल, डा. विरेन्द्र अमात्य, डा. मणीकुमार शर्मा बेलायतमा चिकित्सा अध्ययन अनुसन्धान र पेशामा रहेको लेखेका छन् । आफ्नै बलबुतामा चिकित्सा क्षेत्रको अध्ययन अनुसन्धानमा गएका यी नेपाली नागरिकको बारेमा कुनै खुटखबर छैन । यहिँबाट बुझ्न सकिन्छ नेपाल देशको कुनै ‘माइबाप’ छैन । आफ्ना नागरिक काहाँ छन ? तिनको योग्यता, क्षमताको कदर गर्ने कुनै कार्यक्रमिक रुपरेखा छैन । प्रतेक दिन ‘ब्रेन ड्रेन’को मालीश्री धुन बजाउनेले माखो मारेको हैन । यो त प्रतिनिधि उदाहरण मात्र हो । विश्वमै छरिएका पौरखी नेपाली नागरिकहरू अरु कति छन कति ।

मेडिकल कलेजको भूतः
चिकित्सा क्षेत्रमा अब्बल डा. वैद्य र डा. अशोक बाँस्कोटाले आफ्नो उच्चतम लक्ष मेडिकल कलेज खोल्ने उपक्रममा धेरै हुरीहण्डर खाए । व्यापारिक व्यवसायिक नकाब लगाएका धुर्त ठगले तिनलाई फास्लाङ–फुस्लुङ पारेर फसाए, करोडौं चुना लगाए । बैंकसंग सेटिङ मिलाएर धुन्दुकारी निर्णय गराए । ति ठग फटाहाका बारेमा वैद्यले दुई वटा शीर्षकमा खेदेका छन् ।

90881ce9-8b0e-49a1-a598-e0dffb706e31.jpeg

यता चिकित्सा विज्ञानसंग कुनै साइनो नभएका माफियाहरूले गल्लीगल्लीमा मेडिकल कलेज खोलेर लखनौ लुट मच्चाएका छन् । तर, वैद्य र बास्कोटाको इमान्दार प्रयासमा राज्यले पानी खन्याइ दियो । नौ वटा उच्च शैक्षिक संस्था, ख्वपः अस्पताल, नर्सिङ, कानून, प्राविधिक कलेज व्यवस्थापनमा खरो उत्रिएको भक्तपुर नगरपालिकाको विश्व विद्यालय खोल्ने प्रस्तावलाई सरकारले अनुमति नदिएको समाचार पढ्दै आइएको व्यहोरा ताजै छ । त्यस्तै यी दुई चिकित्सकको सत्प्रयासलाई अनुवाद गर्न सरकार बाधक बनेको खुलेको छ । यो कथा मात्र होइन, देशघाति निर्णय पनि हो ।

प्रेम पुजारी वैद्यः
नेवारी समुदायमा उपत्यकाका रैथाने र उपत्यका बाहिरका नेवारमा एउटा विभाजित रेखा उसबेला थियो । तर, काठमाण्डौको रैथाने परिवारका चेलीलाई वैद्यले पीरतीको धुनमा एकीकरण गर्न सफल भए । वैद्यको जीवनमा चारचाँद लगाउने यो प्रेमिल घटना पनि हो । उनको प्रेमिका रेहना मास्केले वैवाहिक जीवनमा बाँधिन साथ दिएकोले नै यो जोडीको जीवन सार्थक भयो । यो जोडी आफुमात्र बनेनन् पुरै परिवारलाइ आधुनिक शिक्षाले लेस, योग्य र क्षमतावान बनाए । ‘वैद्यको घरमा गलगाँड’ भन्ने चल्तीको भाका छ । तर त्यस्तो कतै भएन । डा. वैद्यका बारेमा श्रीमती रेहना, छोराहरू डा निरज र सरोज बुहारीहरू डा. रीना र रेशाले मुक्तकण्ठले प्रशंसा गरेबाट उनको शालीनता र परिवार प्रतिको दायित्व पुरा गरेको लोभलाग्दो छायाँछवी देखिन्छ ।

उत्तम दोस्तीः
डा. वैद्य र डा. अशोक बाँस्कोटा मित्रताको मिसाल अद्वितीय छ । त्यही मित्रताले चिकित्सा विज्ञानमा ठूलै संस्था विएण्डवीको जन्म दियो। काठमाण्डु नर्सिङ होमदेखि विएण्डवीसम्म आइपुग्दा यिनको मैत्रीपूर्ण जोडी सबैको लागि प्रेरणादायी दिशानिर्देश हो । पुस्तकको अन्तिम पातोमा वैद्यसंग जोडिएको मित्रताको अनेक पहलु डा बाँस्कोटाले खुलाएकै छन् । काठमाण्डु विश्वविद्यालय मेडिकल कलेजका अधिकारीले दिएको फाजिल अपमानको पीडाबोध गरेका छन् । अस्पतालको अलग नाम राख्न खोज्दा सरकारी अधिकारीले भाँजो हालेकोले अन्ततः वैद्य र बाँस्कोटा (विएण्डवी) राख्नु परेको तितो पनि ओकलेका छन् । शारीरिक रुपले अक्षम वालवालिकाको लागि वाल अपाङ्ग वाल अस्पताल सञ्चालनको जानकारी गराएका छन् ।

यस्तो लाग्छ यि जोडिको मित्रता हाम्रो समाजको लागि अपवाद उदाहरण हो । बरिष्ठ हास्य कलाकार मदनकृष्ण र हरिवंश (मह) जोडी झैं । चिकित्सा क्षेत्रको यो जुम्ल्याहा जोडी हो । यिनको मित्रतामा धमिरा नलागेकोले समाज र देशलाई फाइदामन्द भएको हो ।

जीवनको उत्तरार्धः
पूर्वीय दर्शन अनुसार जीवन दर्शनका चार आयाम (आश्रम) छन् । यी चार आश्रम ब्रम्हचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास आश्रम हुन । अघिल्ला तीन जीवन दर्शन वैद्यले पुरा गरेका छन् । तर, अन्तिम गन्तव्य वा आश्रमको पनि वैद्यले ढोका खोलेका छन । धादिङको कुनै क्षेत्रमा ‘जे आर एग्रो फार्म’को नाममा कृषि कर्मको जग हालेका छन् । सम्भवतः सन्यास आश्रमको यो मेलो हुनसक्छ । यस्ता सुकर्मको विषयमा योजना र कार्यक्रमसहीत छुट्टै शीर्षमा लेख पस्केको भए झनै रोचक हुने थियो । निश्क्रिय जीवन त जीवन नै होइन । म आफै पनि जीवनको उत्तरार्धमा प्रकृतिसंग रमाउन उत्कट अभिलासा राख्छु । तर मेरो सामथ्र्य त्यस अनुकुल आजसम्म हुन सकेन । मन हुनेसंग धन छैन, धन हुनेसंग मन छैन भने जस्तो ।

रहलपहलः
भूगर्ववीद टोनी हेगन भेट्दा होस या बरिष्ठ चित्रकार लेनसिंह बाङ्देललाई भेट्दा होस वैद्यको अन्तस्करण छचल्किन्छ । उनले आफ्ना दौंतरीसंग मानवीय पहिचानको भूमिका निभाएकै छन् ।

पातो २८८ को अन्त्यमा पुस्तकबारे प्रश्न उठाएका छन्, ‘मेरो जीवनीको पुस्तक किनेर पढ्दा यसबाट पाठक वर्गलाई लाभ होला त ?’ यो प्रश्न गर्नुमा थोरै उनमा हिनताबोध भएको महशुस हुन्छ । विश्व ब्रम्हाण्डका हरेक कुराहरू पढ्दा लाभ नै हुन्छ । चराचर जगतका हरेक कुराहरू सकेसम्म पढ्नु, बुझ्नु आवश्यक छ । एउटा सचेत, योग्य र सफल हुनेको जीवन पढ्दा पाठकलाई घाटा भन्ने हुँदैन । पैसा हुनेले पुस्तक किनेर, नहुनेले पुस्तकालयमा गएर वा मागेर पढ्नु पर्छ । अध्ययन, अनुसन्धान र पठन संस्कृतिले मानव समाजलाइ विकसित तुल्याएको हो ।

जीवनी वा आत्मवृत्तान्त लेखन एउटा कठीन काम हो । त्यस्तै कठिनाइले होला डा. वैद्यले अधिकांस लेखमा तिथिमिति दिन सकेका छैनन । कतिपयको नाम पनि पुरा छैन । डा. थुलुङको बारम्बार प्रसंग केरकार गरेका छन । दूर्घटनामा मृत्यु भएको, झापा तिर बस्न थालेको सबै कुरा लेखे, तर विना पुरा नामको । मलाइ सम्झना भए अनुसार उनको पुरा नाम डा. शहदेव थुलुङ हुनुपर्छ ।

डा. वैद्यले बागलुङमा बस्दा खसी जत्रै कुखुरा देखेको कुरा पनि ल्याएका छन् । सम्भवतः पाठकले यी हरफ पढ्दा अचम्म मान्दै भृकुटी तन्काए होलान । खसी जत्रै देखिनै कुखुरा मासिए कि अझै छन ? खसी जत्रा कुखुराले कत्रो अण्डा पार्दा हुन ? आदि इत्यादि । वैद्यको जीवनी क्रमबद्ध भने विल्कुल छैन । सम्पादकको कमजोरी यहाँ देखिन्छ ।

घोष्ट राईटिङले माघ २०७७ मा प्रकाशनमा ल्याएको पुस्तक ४१६ पातोको छ । ‘साहस र धैर्यको कथा’ शीर्षकमा घोष्टका अध्यक्ष कमल ढकालले लेखेको भूमिकाले पाठकलाई आकर्षित गर्छ । पुस्तकको विक्रिबाट प्राप्त रकम बाल अपाङ्ग अस्पतालको सहयोगमा जाने कुरा यसै महत्वपूर्ण छ ।

images
प्रकाशित मिति :बैशाख १३, २०८१ बिहिवार - ०७:०९:४५ बजे

 

भवानी बराल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology