कुनै नश्ल, बंश, वर्ग, लिङ्ग विशेष सामुदायिक जीवनको अध्ययन गर्न सहज हुन्छ । तर कुनै व्यक्ति विशेषको जीवन पढ्न थालिन्छ, त्यहाँ ठूलै सकस हुन्छ । पढिदै गरिएको मानिसंग आफुलाई तुलना गर्न थालिन्छ । उसको जीवन अनुकरण गर्ने, इष्र्या जाग्ने, प्रेरणा, प्रभाव पर्ने सबथोक हुन थाल्दछ । आफुभन्दा उ अब्बल कसरी भयो प्रश्न आउँछ । उ प्रति सकारात्मक/नकारात्मक भाव पैदा हुन्छ । यता अन्तरमनले ‘तारेमाम’ पनि गर्छ ।
सबैभन्दा कठीन काम आफुले आफैलाइ पढ्नु हो । जुन दिन आफुले आफैलाइ पढिन्छ जीवनको सार थाहा हुन्छ । जीवनलाइ फर्केर हेर्नु आफैलाइ पढ्नु हो । यस्तो काम कमैले गर्छन । गरिहाले पनि जीवनका नकारात्मक र असफलताको कैरन गर्दैनन । त्यस्तो आत्मवृत्तान्त वा जीवनी कुनै तिलस्मी, जासुसी उपन्यास वा दन्त्य कथा जस्तो लाग्छ । त्यस्तो आलेखले प्रभाव पार्ने मात्र हैन, कुनै शन्देस पनि दिदैन ।
तर म यहाँ अलग पात्रलाइ पढ्न खोज्दैछु । म नियमित पाठक वा समीक्षक होइन । नियमानुसार पढ्ने बानी पनि छै्रन । एक दिनको कुरा हो, पत्रकार भाई सूर्य सुवेदीसंग एकजना विरामीलाई भेट्न ‘विएण्डवी’ अस्पताल पुगेका थियांै । भाइले त्यहीँका एकजना कर्मचारीसंग चिनापर्ची गराए । सुवेदी भाई कै आग्रहमा ति कर्मचारीले ‘जगदीशका पाइलाहरू’ नामको मोटो पुस्तक मलाइ थमाए । यो डेढ दुइ साल अघिको कुरो हो । मैले पुस्तक लिएँ । तर पातो पल्टाएर दराजमा थन्क्याइ दिएँ । सुवेदी भाइले समिक्षा गरिदिन तारन्तार अनुरोध गरे । तर मैले टेरपुच्छर लगाइन । आजित भएर हुनसक्छ त्यसपछि उनको अनुरोध आउन छोडि सकेको थियो ।
यसैपनि पुस्तकको समीक्षा गर्नु झन्जटिलो काम हो । यसमाथि व्यक्तिको वृत्तान्त कहनु अरु दिक्दारिलो काम हो । एक दिनको कुरा हो दराजबाट नपढेको पुस्तक नियाल्दै थिएँ । अनायस यो पुस्तकमा आँखा गयो । र, मैले मनयोगका साथ यसका बाह्रखरीहरू पढेँ । सरसर्ती पढिसके पछि यसमाथि केही लेख्नै पर्छ भन्ने कर्तव्यबोध भयो । फलस्वरुप यी हरफहरू डा. जगदीशलाल वैद्यलाइ समर्पित गर्छु ।
लेखन धाराः
लेखनका दुई धारा हुन्छन् । एउटा अतित अर्थात भूत लेखन, अर्को सिर्जनात्मक लेखन । भूत लेखन सिर्जनात्मक हुन्न भन्ने चैं होइन । तर अक्सर भूत लेखन बढी काल्पनिक हुन्छ । कतिपय सन्दर्भमा असान्दर्भिक पनि भैसकेको हुन्छ । भएकै घटना लेखिएको भएपनि त्यसलाइ पत्याउने आधार खुम्चिसकेको हुन्छ । सिर्जनात्मक लेखन चैं वर्तमान अवस्थालाई भविष्य देखाउने मार्ग हो । यी दुवै लेखनको तारतुम्मे डा. वैद्यको पुस्तकमा समायोजन छ । यहि भएर पढ्ने र लेख्ने तारसुर जु¥यो ।
कालो रातदेखि कोभिडसम्मः
डा. वैद्यले ‘त्यो कालो रात’ शीर्षकको लेखोटदेखि ‘कोभिडसंग मेरो जम्काभेट’ सम्म ४० वटा शीर्षकमा लिखितम गरेर ३०२ पातो खर्चेका छन् । ‘सोचे झै जीन्दगी रैनछ’ गीतको मुखडाबाट सुरु गरिएको उनको लेखनीको यो शीर्षकले पुस्तकलाई बोकेको छ । सुरक्षित ठानिएको राजधानीमा लुटेराहरूले करोडौं मूल्य बराबरको धनमाल लुटेको घटना यसमा विस्तारपूर्वक वर्णन गरिएको छ । वैद्य पुत्रलाई अपहरण गरिएको घटना थियो । लेखक वैद्यलाई यो घटनाले ठूलो प्रभाव पारेको देखिन्छ । यसैले पुस्तकको कभरको बाहिरी भागमा पनि प्राथमिकताको साथ घटनाको सार छापिएको छ ।
त्यसैबखत डा. उपेन्द्र देवकोटा पुत्री पनि अपहरणमा परेकी थिइन । र, देवकोटाले एक करोड ३० लाख लुटेरलाई बुझाएर छोरी छुटाएका थिए । सामान्य, शान्त जीवनमा अभ्यासरत रहनु पर्ने चिकित्सकमाथि भएको यो घटना दुर्भाग्यपूर्ण थियो । यसैकारण वैद्यमा यो घटनाले नराम्रो प्रभाव छाडेको थियो ।
यता उनले सुरुवात लेखनको पेटबोलीमा राखेको गीतको मुखडा भने हल्काफुल्का लाग्यो । यसको विकल्पमा दिनेश अधिकारीले लेखेको ‘सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन...’ मुखडाबाट लेखन सुरुवात गरेको भए लेखको भार बहन र लेखन अझ गहन हुने थियो । आगामी संस्करणमा सुधार गरे बेश हुनेछ ।
सङ्घर्षपूर्ण जीवनः
डा. वैद्यले नदीपुर हाइस्कूल पोखराबाट माध्यमिक तहको प्रारम्भिक शिक्षा पुरा गरे । अहिलेको भाकामा त्यस्ता स्कूल, धुले, छाप्रे, सरकारी, सामुदायिक स्कूलको नामले चिनिन्छ । आजभोली यस्ता स्कूलबाट उत्पादित विद्यार्थी डाक्टर, इन्जिनियर, वैज्ञानिक बन्छन भन्ने कल्पनासम्म गर्न सकिन्न । यस्ता स्कूलहरू गरीब, निमुखा, नोकरचाकर, हली गोठालाका सन्तान पढ्ने संस्थाको रुपमा चिनिन्छ । वैद्यले यस्तै स्कूलबाट माध्यमिक शिक्षा पुरा गरेर त्रिवि अन्तरगतका कलेजहरूबाट विज्ञान विषय पढे । छात्रवृत्तिमा गभर्मेण्ट मेडिकल कलेज अमृत शहर पञ्जाबबाट चिकित्सा विज्ञानमा स्नातक तहको पढाइ पुरा गरे । र, बेलायतबाट चिकित्सा विज्ञानमै उच्च शिक्षा प्राप्त गरे । उनको शैक्षिक जीवनको संघर्ष भने उतारचढावले भरिएको चानचुने थिएन । अभावग्रस्त जीवनले उनलाइ संघर्षमा होम्यो, संघर्षमा खरो उत्रेकोले उनले सफलता प्राप्त गरे ।
यसपछि सुरु भयो उनको पेशागत जीवनचर्या । युनाइटेड मिसन टु नेपालले स्थापना गरेको शान्त भवन (अस्पताल), निजी क्लिनिक, पाटन अस्पताल, काठमाण्डु नर्सिङ होम हुँदै विएण्डवी अस्पतालको स्थापनासम्म आइपुग्दा चिकित्सा विज्ञानको क्षेत्रमा महत्वाकांक्षी सपना पुरा गरे । हुनतः भारतबाट स्नातक गरेपछि पनि उनले अस्पतालमा सेवा गरेकै थिए । तर, सन् १९८२ मा बेलायतबाट उच्च शिक्षा प्राप्त गरि आएपछि यो क्षेत्रमा नेतृत्व गर्न पुगेका हुन । यहाँसम्म आइपुग्दा वैद्यले भुक्तान गरेको जीवनको लामै फेहरिस्त हुन्छ ।
बाह्र सन्तानः दर्जनौ नातीनातिनाः
बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काँधै माथि भन्ने प्रचलित उखान हो । अविभावकले आफ्नो सन्तानको लालनपालन, शिक्षा दीक्षाको बन्दोबस्त बुढो शरीर घोटेर गर्नु पर्ने आम मान्यता छ । यस्तो हुँदै पनि आएको छ । तर, माणिकलाल वैद्य र सिन्धुकुमारी वैद्यका एक दर्जन सन्तानले बुढाबुढी दुवैको काँध फेरिदिए । वैद्य दम्पत्तिका सातभाई छोरा र पाँचबैनी छोरी आआफ्नो पेशा व्यवसायमा जमेको जिवित छँदै देख्न पाए । माइला छोरा डा. वैद्य सफलमात्र हैन सामाजिक प्रतिष्ठासहीत प्रशिद्ध भए ।
तातोपिरो माओवादीलाइ आठे जवाफः
डा. वैद्यको ‘जगदीशका पाइलाहरूमा’ घत लाग्ने कुरा पुस्तकको पातो ५८–५९ लेखिएको छ । भर्खरै शान्ति प्रक्रियामा आएका जनयुद्धको रापतापबाट सेलाइ नसकेका तातापीरा, रातापीरा माओवादी नेतालाई वैद्यले दिएको ओठे जवाफ गज्जब थियो । मेरो घैंटामा पनि घाम लगायो । माओवादी नेताहरू प्रचण्ड र डा. बाबुराम भट्टराईलाई वैद्यले दिएको जवाफ पुस्तकका मूल्यवान हरफ हुन । मैले दोहो¥याइ तेह¥याँइ पढेँ । जतिपटक पढेँ त्यतिनै पटक मजा लिएँ । ती हरफ पढेर पुलकित भएँ । यी हरफहरू वैद्यले कहँदा तिनका नाकमा त्यसबखत किन हरक चलेन ? त्यो चैं उदेकलाग्दो नै छ ।
हुनतः म आफै कम्युनिस्ट दर्शन, विचारबाट प्रभावित विद्यार्थी हुँ । मेरो जीवनका नौनी वर्षहरू यसै आन्दोलनमा बिते । माओवादी आन्दोलनमा कुनै न कुनै रुपमा जोडिएको थिएँ, अझै छु । आफुलाई रातो कम्युनिस्ट अर्थात अघोरी कम्युनिस्ट नै ठान्छु । यद्दपी तत्कालका राता कम्युनिस्टद्वयलाई वैद्यले दिएको जवाफ मनमा गड्यो । त्यो पातोमा लेखिएको छ, ‘म कहिल्यै कम्युनिस्ट थिइन र आजपनि होइन । अनि म भोली पनि कम्युनिस्ट हुन्न । म कुनै पार्टीमा लागेको मान्छे पनि होइन । तर मैले घाइते भएर आएका कैयौं माओवादीको औषधि उपचार गरेको छु । माओवादीसंग मेरो ३० लाख लिनै बाँकी छ । टाउकोमा रातो फित्ता बाँध्दैमा वा हँसिया–हथौडा अंकित झण्डा बोक्दैमा मान्छे माओवादी हुँदैन, सोसलिस्ट हुँदैन । सोसलिस्ट आफ्नो काम गराइबाट हुन्छ ।’
वैद्यका अनुसार भेटाघाटामा संगै गएका अन्य डाक्टरहरूले कुनै न कुनै रुप रंगको, पारिवारिक पृष्ठभूमा गर्भे कम्युनिस्ट रहेको चाप्लुसीयुक्त परिचय दिए । डा. वैद्यले हिम्मतसाथ अन्तरआत्माले बोले । उनले बोलेको कुरा समयक्रममा पुस्टी पनि हुँदै गएको छ ।
अन्तरवार्ताबाट चम्किएः
डा. वैद्यले आफ्नो पेशागत प्रचार सञ्चार माध्यमलाई अन्तरवार्ता दिएपछि चम्किएको बताएका छन् । तर, यति नै कुरामात्र काफी नहुन सक्छ । कुपण्डोलमा निजी क्लिनिक खोलेको पहिलो दिन रगत चुहाउँदै आएका पाइल्सका विरामीलाई निको पारेको घटनाले बढी प्रभाव पारेको हुनसक्छ । तीनै विरामीले विभिन्न स्थानका मानिसहरूलाई प्रचार गरेकोले सेवाग्राही बढेको उनैले स्विकार गरेका छन् । यद्दपी उनले प्रधान थरका राससका पत्रकारले अन्तरवार्ता गोरखापत्रमा प्रकाशित गरेपछि चर्चा चुलिएको दावी गरेका छन् । जेहोस कुपण्डोलमा खोलेको क्लिनिक नै उनको व्यवसायिक जीवनको माइलखुट्टी थियो । तर, डा वैद्यले अन्तरवार्ता गर्ने पत्रकारको नाम उल्लेख नगरेकोले यो पाठ पढ्दा पाठकलाइ अलिक अलिनो लागेको हुनुपर्छ ।
धनीको पैसाः गरीबलाइ उपचार
पत्रकारिताको सिद्धान्त आवाजविहीनहरूको आवाज हो । यस्तै हरेक पेशा, व्यवसायका आफ्ना सिद्धान्त, नैतिक मूल्य मान्यता र संहीता हुन्छ । चिकित्सकको सिद्धान्त नैतिक मूल्य मान्यता र संहीता विरामीको उपचार गर्नु हो । धनी, गरीब, बंश, लिङ्ग, शत्रु, मित्रुको उपचारमा कुनै भेदभाव नराख्नु चिकित्सकको धर्म हो । पत्रकार र चिकित्सकले पीडामा परेकाको उपचार गर्ने हो ।
यद्दपी चिकित्सकले गर्ने उपचारमा आर्थिक व्यवस्थापनको पक्ष जोडिएको हुन्छ । यस्तोमा डा. वैद्यको सिद्धान्त आकर्षित हुन्छ । उनले भनेकै छन्, ‘मैले धनीसंग पैसा लिएर गरीबको उपचारमा खर्च गरेको छु ।’ (पातो २८०) राज्यले पनि यहि सिद्धान्त अबलम्बन गरे स्वास्थ्य सेवा न्यायपूर्ण हुनेछ ।
उपचारका अनेक किस्सा :
डा. वैद्यले उपचार गर्दाका अनेकान किस्सा पनि लिखितम गरेका छन् । तर, सतर्कतापूर्ण गोपनियताको सम्मान पनि गरेका छन् । रोगीको सम्मान गर्दागर्दै केही दरबारियाको असाध्य गोप्य रोगको खुलासा गर्न खोजेका छन् । वैद्य लेख्छन, ‘हामीले तीनजना यस्ता मानिसको अप्रेशन ग¥यौं, जो दरबार निकट थिए । निकटतममात्र होइन, तिनलाई दरबारीया भन्दा हुन्छ– दरबारका नातागोता । तिनको नाम नलिउँ होला ठूलाबडालाई लोको रोगबारे पनि किन चर्चा गर्नु । ति विरामीलाई हेर्न तत्कालीन राजा रानी दुई तीन पटक आए ।’ (पातो २२०)
यसका अतिरिक्त पनि वैद्यको पुस्तकमा उपचारका थुप्रै कथानक पढ्न पाइन्छ । जसले नयाँ नौतुन चिकित्सकलाई शिक्षा, अनुभव, ज्ञान र उर्जा सबै प्राप्त हुन्छ ।
ब्रेन ड्रेन र बिहारीलालहरूः
डा. वैद्यले बेलायत पढ्न गएको बखत नेपालीमूलका चिकित्सकको प्रसङ्ग उधिनेका छन् । यसमध्ये डा. बिहारीलाल श्रेष्ठको खुब चर्चा गरेका छन् । बिहारीलालको सहयोगबाट नै अध्ययन पुरा गर्न हरतरहको सहयोग पाएको मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनको शैक्षिक यात्राको भरोसाका केन्द्र बिहारीलाल नै थिए । डा. विहारीसंगै डा. महोश खकुरेल, डा. विरेन्द्र अमात्य, डा. मणीकुमार शर्मा बेलायतमा चिकित्सा अध्ययन अनुसन्धान र पेशामा रहेको लेखेका छन् । आफ्नै बलबुतामा चिकित्सा क्षेत्रको अध्ययन अनुसन्धानमा गएका यी नेपाली नागरिकको बारेमा कुनै खुटखबर छैन । यहिँबाट बुझ्न सकिन्छ नेपाल देशको कुनै ‘माइबाप’ छैन । आफ्ना नागरिक काहाँ छन ? तिनको योग्यता, क्षमताको कदर गर्ने कुनै कार्यक्रमिक रुपरेखा छैन । प्रतेक दिन ‘ब्रेन ड्रेन’को मालीश्री धुन बजाउनेले माखो मारेको हैन । यो त प्रतिनिधि उदाहरण मात्र हो । विश्वमै छरिएका पौरखी नेपाली नागरिकहरू अरु कति छन कति ।
मेडिकल कलेजको भूतः
चिकित्सा क्षेत्रमा अब्बल डा. वैद्य र डा. अशोक बाँस्कोटाले आफ्नो उच्चतम लक्ष मेडिकल कलेज खोल्ने उपक्रममा धेरै हुरीहण्डर खाए । व्यापारिक व्यवसायिक नकाब लगाएका धुर्त ठगले तिनलाई फास्लाङ–फुस्लुङ पारेर फसाए, करोडौं चुना लगाए । बैंकसंग सेटिङ मिलाएर धुन्दुकारी निर्णय गराए । ति ठग फटाहाका बारेमा वैद्यले दुई वटा शीर्षकमा खेदेका छन् ।

यता चिकित्सा विज्ञानसंग कुनै साइनो नभएका माफियाहरूले गल्लीगल्लीमा मेडिकल कलेज खोलेर लखनौ लुट मच्चाएका छन् । तर, वैद्य र बास्कोटाको इमान्दार प्रयासमा राज्यले पानी खन्याइ दियो । नौ वटा उच्च शैक्षिक संस्था, ख्वपः अस्पताल, नर्सिङ, कानून, प्राविधिक कलेज व्यवस्थापनमा खरो उत्रिएको भक्तपुर नगरपालिकाको विश्व विद्यालय खोल्ने प्रस्तावलाई सरकारले अनुमति नदिएको समाचार पढ्दै आइएको व्यहोरा ताजै छ । त्यस्तै यी दुई चिकित्सकको सत्प्रयासलाई अनुवाद गर्न सरकार बाधक बनेको खुलेको छ । यो कथा मात्र होइन, देशघाति निर्णय पनि हो ।
प्रेम पुजारी वैद्यः
नेवारी समुदायमा उपत्यकाका रैथाने र उपत्यका बाहिरका नेवारमा एउटा विभाजित रेखा उसबेला थियो । तर, काठमाण्डौको रैथाने परिवारका चेलीलाई वैद्यले पीरतीको धुनमा एकीकरण गर्न सफल भए । वैद्यको जीवनमा चारचाँद लगाउने यो प्रेमिल घटना पनि हो । उनको प्रेमिका रेहना मास्केले वैवाहिक जीवनमा बाँधिन साथ दिएकोले नै यो जोडीको जीवन सार्थक भयो । यो जोडी आफुमात्र बनेनन् पुरै परिवारलाइ आधुनिक शिक्षाले लेस, योग्य र क्षमतावान बनाए । ‘वैद्यको घरमा गलगाँड’ भन्ने चल्तीको भाका छ । तर त्यस्तो कतै भएन । डा. वैद्यका बारेमा श्रीमती रेहना, छोराहरू डा निरज र सरोज बुहारीहरू डा. रीना र रेशाले मुक्तकण्ठले प्रशंसा गरेबाट उनको शालीनता र परिवार प्रतिको दायित्व पुरा गरेको लोभलाग्दो छायाँछवी देखिन्छ ।
उत्तम दोस्तीः
डा. वैद्य र डा. अशोक बाँस्कोटा मित्रताको मिसाल अद्वितीय छ । त्यही मित्रताले चिकित्सा विज्ञानमा ठूलै संस्था विएण्डवीको जन्म दियो। काठमाण्डु नर्सिङ होमदेखि विएण्डवीसम्म आइपुग्दा यिनको मैत्रीपूर्ण जोडी सबैको लागि प्रेरणादायी दिशानिर्देश हो । पुस्तकको अन्तिम पातोमा वैद्यसंग जोडिएको मित्रताको अनेक पहलु डा बाँस्कोटाले खुलाएकै छन् । काठमाण्डु विश्वविद्यालय मेडिकल कलेजका अधिकारीले दिएको फाजिल अपमानको पीडाबोध गरेका छन् । अस्पतालको अलग नाम राख्न खोज्दा सरकारी अधिकारीले भाँजो हालेकोले अन्ततः वैद्य र बाँस्कोटा (विएण्डवी) राख्नु परेको तितो पनि ओकलेका छन् । शारीरिक रुपले अक्षम वालवालिकाको लागि वाल अपाङ्ग वाल अस्पताल सञ्चालनको जानकारी गराएका छन् ।
यस्तो लाग्छ यि जोडिको मित्रता हाम्रो समाजको लागि अपवाद उदाहरण हो । बरिष्ठ हास्य कलाकार मदनकृष्ण र हरिवंश (मह) जोडी झैं । चिकित्सा क्षेत्रको यो जुम्ल्याहा जोडी हो । यिनको मित्रतामा धमिरा नलागेकोले समाज र देशलाई फाइदामन्द भएको हो ।
जीवनको उत्तरार्धः
पूर्वीय दर्शन अनुसार जीवन दर्शनका चार आयाम (आश्रम) छन् । यी चार आश्रम ब्रम्हचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास आश्रम हुन । अघिल्ला तीन जीवन दर्शन वैद्यले पुरा गरेका छन् । तर, अन्तिम गन्तव्य वा आश्रमको पनि वैद्यले ढोका खोलेका छन । धादिङको कुनै क्षेत्रमा ‘जे आर एग्रो फार्म’को नाममा कृषि कर्मको जग हालेका छन् । सम्भवतः सन्यास आश्रमको यो मेलो हुनसक्छ । यस्ता सुकर्मको विषयमा योजना र कार्यक्रमसहीत छुट्टै शीर्षमा लेख पस्केको भए झनै रोचक हुने थियो । निश्क्रिय जीवन त जीवन नै होइन । म आफै पनि जीवनको उत्तरार्धमा प्रकृतिसंग रमाउन उत्कट अभिलासा राख्छु । तर मेरो सामथ्र्य त्यस अनुकुल आजसम्म हुन सकेन । मन हुनेसंग धन छैन, धन हुनेसंग मन छैन भने जस्तो ।
रहलपहलः
भूगर्ववीद टोनी हेगन भेट्दा होस या बरिष्ठ चित्रकार लेनसिंह बाङ्देललाई भेट्दा होस वैद्यको अन्तस्करण छचल्किन्छ । उनले आफ्ना दौंतरीसंग मानवीय पहिचानको भूमिका निभाएकै छन् ।
पातो २८८ को अन्त्यमा पुस्तकबारे प्रश्न उठाएका छन्, ‘मेरो जीवनीको पुस्तक किनेर पढ्दा यसबाट पाठक वर्गलाई लाभ होला त ?’ यो प्रश्न गर्नुमा थोरै उनमा हिनताबोध भएको महशुस हुन्छ । विश्व ब्रम्हाण्डका हरेक कुराहरू पढ्दा लाभ नै हुन्छ । चराचर जगतका हरेक कुराहरू सकेसम्म पढ्नु, बुझ्नु आवश्यक छ । एउटा सचेत, योग्य र सफल हुनेको जीवन पढ्दा पाठकलाई घाटा भन्ने हुँदैन । पैसा हुनेले पुस्तक किनेर, नहुनेले पुस्तकालयमा गएर वा मागेर पढ्नु पर्छ । अध्ययन, अनुसन्धान र पठन संस्कृतिले मानव समाजलाइ विकसित तुल्याएको हो ।
जीवनी वा आत्मवृत्तान्त लेखन एउटा कठीन काम हो । त्यस्तै कठिनाइले होला डा. वैद्यले अधिकांस लेखमा तिथिमिति दिन सकेका छैनन । कतिपयको नाम पनि पुरा छैन । डा. थुलुङको बारम्बार प्रसंग केरकार गरेका छन । दूर्घटनामा मृत्यु भएको, झापा तिर बस्न थालेको सबै कुरा लेखे, तर विना पुरा नामको । मलाइ सम्झना भए अनुसार उनको पुरा नाम डा. शहदेव थुलुङ हुनुपर्छ ।
डा. वैद्यले बागलुङमा बस्दा खसी जत्रै कुखुरा देखेको कुरा पनि ल्याएका छन् । सम्भवतः पाठकले यी हरफ पढ्दा अचम्म मान्दै भृकुटी तन्काए होलान । खसी जत्रै देखिनै कुखुरा मासिए कि अझै छन ? खसी जत्रा कुखुराले कत्रो अण्डा पार्दा हुन ? आदि इत्यादि । वैद्यको जीवनी क्रमबद्ध भने विल्कुल छैन । सम्पादकको कमजोरी यहाँ देखिन्छ ।
घोष्ट राईटिङले माघ २०७७ मा प्रकाशनमा ल्याएको पुस्तक ४१६ पातोको छ । ‘साहस र धैर्यको कथा’ शीर्षकमा घोष्टका अध्यक्ष कमल ढकालले लेखेको भूमिकाले पाठकलाई आकर्षित गर्छ । पुस्तकको विक्रिबाट प्राप्त रकम बाल अपाङ्ग अस्पतालको सहयोगमा जाने कुरा यसै महत्वपूर्ण छ ।